इलाम । इलामको सुन्तला बगान रोगको चपेटामा परेपछि किसान विकल्प खोज्न थालेका छन् । यस वर्षको सुन्तलामा रोग लागेका कारण उत्पादन खस्किएको छ । इलाम नगरपालिका आठ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेती गर्ने कि भन्ने सोचमा छन् । बर्खाको समयपछि सुन्तलामा क्रमिक रूपमा रोग देखापर्न थालेपछि उनी अर्को खेतीको विकल्पमा पुगेका हुन् । ६ सयभन्दा बढी सुन्तलाका बोट लगाएका महतको अहिले चार सय बोट सुन्तलाबाट मात्रै आम्दानी भइरहेको छ ।
माइजोगमाई गाउँपालिका नामसालिङका किसान एवं सुन्तला व्यवसायी पदम राई विगत १० वर्षदेखि सुन्तलामा रोग देखा परेपनि कुनै क्षेत्रबाट चासो नदिँदा सुन्तला सखाप हुँदै गएको बताउँछन् । ‘बर्सेनि रोगले सुन्तला उत्पादन २० प्रतिशतले घट्दै छ,’ राईले भने, ‘रोगबाट बचाउन घरायसी उपचार गर्दासमेत कम भएको छैन ।’‘जरा खनेर चुना लगाउने, विभिन्न कीरा मार्ने भिटामिन लगाउने गर्दा पनि रोग जाती हुँदैन ।’ गएको वर्ष राईले २२ देखि २५ लाख रुपैयाँको सुन्तला कारोबार गरेकामा यस वर्ष घटेर१० देखि १२ लाखको हाराहारीमा मात्र रहेको छ ।’
सुन्तलाखेतीको पकेट क्षेत्र जिल्लाको रोङ गाउँपालिकाको सलकपुर र जिर्मलेका २ सय बढी सुन्तलाका बगान रोगका कारण सखाप भएका हुन् । यस गाउँमा सुन्तलाका २ सय ५० बढी बगान भएपनि अहिले २० को हाराहारीमा मात्र बगान रहेका छन् । २ सय ३० बगान भने रोगका कारण सबै सखाप भएको किसानको भनाइ छ ।
कृषि ज्ञान केन्द्रले भने जिल्लाको सबै क्षेत्रमा पात पहेंलिने रोग भने देखापरेको बताएको छ । सुरुवाती वर्षमा जिल्लाको नामसालिङ, सलकपुर र महभीर क्षेत्रमा बढी देखिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यी रोगको उपचार पद्धति हालसम्म कसैलाई पनि थाहा छैन । रोगको नामकरणसमेत नभएकाले केन्द्र नै अनभिज्ञ रहेको छ । तर, पुरानो सुन्तलाको बोट हटाएर नयाँ बोट लाउन सके रोग कम हुन सक्ने अनुमान केन्द्रको छ । सम्बन्धित क्षेत्रको माटो परीक्षण गरेर सुन्तलाका लागि आवश्यक भिटामिनयुक्त क्षेत्रमा खेती गर्न किसानलाई आह्वान गरेको कृषि ज्ञान केन्द्रका अधिकृत रुजन खड्काले बताए ।
सुन्तलामा विभिन्न भाइरसको आक्रमणले रोग देखापर्ने भएकाले हाँगा, जरामा राम्ररी गोडमेल गर्नुपर्ने,माटोका अम्लीयपना जाँच गर्नुपर्ने खड्काको भनाइ छ । कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बोट बुढो हुँदै जाँदा जरा कमजोर हुँदै जान्छ त्यसैले नयाँ नयाँ बिरुवा लगाउँदै जानुपर्ने बताए । उनका अनुसार ‘मलखाद प्रविधिमा पनि विशेष ध्यान जानुपर्छ यस्ता प्रावधान पु¥याउन सकेमा रोग केही कम हुन सक्छ ।’
जिल्लाका अधिकांश सुन्तला किसानको बगानमा रोगका कारण बगाननै सखाप बन्दै छ । सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । विगतका वर्षदेखि नै रोगले आक्रमण गरेपनि यस वर्ष भने रोगले उत्पादन आधा घटाएको छ । फल लाग्ने बेलामारूख नै पहेलो हुने, फल पाक्ने समय नभई पहेंलो हुने समस्याले सुन्तला बढी ग्रस्त भएको छ ।