वन्यजन्तुको आक्रमण र नयाँ पुस्ता अन्यत्रै लागेपछि ताप्लेजुङमा चौंरी गोठ संकटमा - Pahilo Online

वन्यजन्तुको आक्रमण र नयाँ पुस्ता अन्यत्रै लागेपछि ताप्लेजुङमा चौंरी गोठ संकटमा

writer

ताप्लेजुङ । चौंरीपालन व्यवसायलाई हिमाली क्षेत्रको पहिचानको रुपमा समेत लिने गरिएको छ। पर्यटनको समेत आधार मानिए पनि व्यवसायिक सुरक्षा प्रत्याभूति नहुँदा ताप्लेजुङका चौंरीपालक किसान पलायन हुँदैछन् भने पशुपालन व्यवसाय पनि संकटमा परेको छ।

वन्यजन्तुको आक्रमण र नयाँ पुस्ता अन्यत्रै लागेपछि ताप्लेजुङमा पुस्तौंदेखि चल्दै आएको चौरी पालनको पेशा लोप हुने अवस्थामा पुगेको छ। पहिले–पहिले कञ्चनजंघा पदमार्गको फलेदेखि आधार शिविरसम्मै चौरीका गोठ हुन्थे। अहिले गोठ भत्किएका छन् भने घुन्सामा होटल र घर बन्ने क्रम बढेको छ। पहिले जताततै देखिने चौंरी अहिले देख्न मुस्किल पर्छ। ‘पहिले पहिले हाम्रोतिर प्रत्येक घरमा गोठ पाल्ने चलन थियो ’ स्थानीय गोठपालक तेञ्जिङ शेर्पाले भने, ‘अहिले सवैले गोठ मासेर सदरमुकामतिर लागे।’ एक हप्ताभित्रमा ७ वटा याक ब्वाँसोले खाइ दिएपछि आजित बनेका घुन्सा ताप्लेजुङका चुङ्दाक शेर्पाले गत वर्ष १९ वटा याकसहितको गोठ बेचिसकेका छन्।

जंगली जनावरले दुख दिएपछि उनी पु्र्ख्यौली पेसा छोड्न बाध्य बनेका हुन्। तिब्बतियन ब्वाँसोले गोठ र चरनमा पुगेर चौरी खाइदिने किसानको गुनासो छ। ‘सवैभन्दा धेरै त जंगली जनावरले दुःख दिन्छ। कंञ्चनजंघा संरक्षण क्षेत्रबाट जनावर आउँछन् क्षतिपूर्तिको व्यवस्था पनि छैन’ चौँरीपालक किसान पेम्बा शेर्पाले भने। कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने यहाँ हिउँ चितुवाले पनि त्यत्तिकै दुःख दिने गरेको छ। संरक्षण क्षेत्रले हिउँ चितुवाले क्षति गरेमा बिमाबापत ८ हजार रुपैयाँ दिन्छ। तर, ब्वाँसोले र्पुयाएको क्षतिमा बीमाको सुविधा छैन। पशु बिरामी भए आफैंले झारफुक र जानेको जडीबुटीको प्रयोग गर्छन्। सरकारले दिने अनुदान र औषधि कस्तो हुन्छ, यहाँका किसानलाई अहिलेसम्म थाहा छैन। तिब्बतमा अहिले नेपाली पशु आयातमा रोक लगाइएको छ। खुलेपछि बिक्री गर्ने आशामा रहेका घुन्साका तेञ्जिङ शेर्पा पशुपालन पेशा जोगाउन सरकारले केही गर्नै पर्ने बताउँछन्। गाउँपालिकाले भने आवश्यक सहयोग गरिरहेको दावी गरेको छ। मंसिरदेखि फागुनसम्मको जाडोमा चौंरी बेंसीमा झारिन्छ। पदमार्गमै गोठ भएकाले पर्यटक पनि चौंरीसँग रमाएका देखिन्छन्। चौंरीपालनमा खासै चासो नराखे पनि उनीहरू फोटो खिच्नैकै लागि पनि दुहुन रहर गर्छन्। यहाँको पर्यटन प्रवर्द्धन गर्नका लागि पनि चौंरीपालन लगायतको पशुपालन व्यवसायलाई जोगाउन आवश्यक रहेको पर्यटन व्यवसायी बताउँछन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes