घिनाघाट–विराटचोक चार लेन सडक तीव्र गतिमा निर्माण - Pahilo Online

घिनाघाट–विराटचोक चार लेन सडक तीव्र गतिमा निर्माण

तीन महिनामा २० प्रतिशत काम

writer

सुरेश कार्की

मोरङ । प्रदेश १ सरकारले नमुना आयोजनाको रूपमा लिएको घिनाघाट विराटचोक चार लेनको सडक भदौको अन्तिम साता शिलान्याश भएपछि सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ। उक्त सडक निर्माणको काम हालसम्ममा २० प्रतिशत सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ। विराटनगर भित्रिने तथा बाहिरिने वैकल्पिक सडकको रूपमा रहेको विराटचोक–घिनाघाट सडक ४ लेन बनाउने काम सुरु भएको हो।

२२.५ किलोमिटर लम्बाइ रहेको यो सडक विराटनगर प्रवेश गर्ने कोसी राजमार्गको विकल्पको रूपमा हेरिएको छ। कोसी राजमार्ग पनि ६ लेनको बनाउने काम जारी छ। प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी रहेको विराटचोक(घिनाघाट चार लेन बनाउने सडक बहुवर्षे आयोजनाअन्तर्गत राखिएको छ। पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठका अनुसार असोज १ गतेदेखि तीब्र गतिका साथ काम सुरु भएको हो। हालसम्ममा १५ देखि २० प्रतिशत काम सम्पन्न भइसकेको छ भने भुक्तानी पनि २० प्रतिशत भइसकेको छ। विगतमा जस्तो बजेट निकासा समयमै नहुने समस्या अहिले देखिएको छैन। यसअघि बजेट लगेर काम नगर्ने निर्माण कम्पनीको व्यवहार यो सडकमा नदेखिएको र इमादारिताका साथ काम भइरहेको आफूहरूले पाएको श्रेष्ठको भनाइ छ।

‘कार्यालयबाट उक्त सडकका लागि २० प्रतिशत रकम निकासा भएको छ, पहिला जस्तो पैसा लगेर अन्य ठाउँमा लगानी गर्ने परिपाटी त्यहाँ देखिएको छैन,’ श्रेष्ठले भने, ‘सम्झौताबमोजिम उनीहरूले निर्माण कार्यक्रमा तीब्रता देखिएकोे छ। ड्रेन निर्माण र साइडमा माटो पुर्ने काम धमाधम भइरहेको छ। साइडको प्रगति हेर्दा हालसम्म २० प्रतिशतसम्म देखिन्छ।’ श्रेष्ठ रमण एपेक्स कम्पनीले निर्माण गरिरहेको सडकमा खानेपानीको पाइप र विद्युत् पोल समयमै नसर्ने हो कि भन्ने चिन्ता रहेको जनाएको छ।

निर्माण कम्पनीका मेनेजर भरत कार्कीले बिद्युत्का पोल र पाइप समयमै सरे काममा सहज हुने बताए। निर्माण कम्पनीले भने खानेपानीको पाइप र बिजुलीको पोलले कामको गतिमा अवरोध गर्न खोजेको इन्जिनियर अभि पोखरेलले बताए। ‘कुनै पनि स्थानीय तहबाट बाधा आएर भने तोकिएको समयमा काम सकेर जिम्मा लगाउँछौँ,’ निर्माण कम्पनीका इन्जिनियर अभि पोखरेलले भने, ‘बिजुलीको पोल र खानेपानी पाइपको कारण चाहेअनुसारको स्पिड दिन सकेका छैनौँ। त्यसले सिंगो रोडलाई समस्या भएको छ।’ विराटनगरमा दोस्रो मूल ढोकाको रूपमा यो सडक निर्माण कार्य गरेर प्रदेशको समृद्धिको ढोका खोल्न आफूहरूले प्राथमिकतामा राखेको प्रदेश सरकारको भनाइ छ। सडक निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको अनुगमन र मूल्यांकन तथा निगरानीमा आफूले गरिरहेको बताउँदै प्रदेश सांसद विजय विश्वास थारूले पनि कामको गति तीब्र रहेको बताए।

‘प्रदेश सरकारकै गौरवको योजनामा यो सडक पर्दछ। प्रदेश सरकारले अर्बौं बजेट विनियोजन गरेको बाटो निर्माणको गति तीब्र छ,’ सांसद विश्वासले भने, ‘हाम्रो अनुगमन पनि कुनै खालको गुणस्तरहीन नहोस् भन्नेमा केन्द्रित छौँ। काम हेर्दा समयमै सम्पन्न हुने देखिन्छ।’ सम्झौताअनुसार आगामी २०७८ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ। वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ। सेन्टर पोइन्टबाट ३५र३५ फिट कालोपत्रे हुने र दुवै छेउमा १०र१० फिट टाढा छोडेर मात्रै निजी घर निर्माण गर्न पूर्वाधार विकास कार्यालयले यसअघि नै सर्वसाधरणलाई आव्हान गरेको छ। पूर्वमेचीका सर्वसाधरणलाई प्रदेशको राजधानी विराटनगर प्रवेशका लागि सहज होस् भन्ने उद्देश्यले यो सडकको चौडाई बढाइएको हो। यसलाई समयमै सम्पन्न गरेर प्रदेश सरकारले आफ्नो महत्व जनतासामू लाने प्रयास गरिरहेको छ।

पहिलो चरणमा ड्रेनको काम भइरहेको छ। सोलिङ डेढ किलोमिटर फाइनल भएको छ भने आरसीसीको काम, ड्रेन निर्माण र साइडवाल निर्माणको काम तत्कालै सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ। हाल १ सय ६ जना मजदुर, ३५ जना निर्माण कम्पनीका स्टाफ, ११ वटा माटो बोक्ने टिफर, २ वटा एक्साभेटर, १ वटा जेसिबीले लगातार काम गरिरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes