‘आधा घण्टा प्राणायम तथा आधा घण्टा ध्यान गर्छु’ दीपकराज गिरी - Pahilo Online

‘आधा घण्टा प्राणायम तथा आधा घण्टा ध्यान गर्छु’ दीपकराज गिरी

writer

निर्देशक तथा कलाकार दीपकराज गिरी

आश्विन १९, २०७६

निर्देशक तथा सञ्चारकर्मीका रूपमा सक्रिय व्यक्ति हुन्— दीपकराज गिरी । रेडियो कान्तिपुरमा लामो समयदेखि रेडियो जक्कीका रूपमा सुनिँदै आएका गिरी सफल नेपाली फिल्ममेकरका रूपमा सुपरिचित छन् । दसैंलगत्तै प्रदर्शनमा आउने आफ्नो नयाँ चलचित्र ‘छ माया छपक्कै’ को प्रचार–प्रसारको चटारोबीच गत सोमबार दीपकले झन्डै एक घण्टा समय दिए । कुराकानीका क्रममा ४५ कटेका दीपक २०–२२ वर्षे ठिटोझैं देखिएका थिए । रातो टिसर्टमा नीलो ब्लेजर लगाएका दीपक साँच्चिकै हिरो देखिन्थे । त्यसैले दसैं विशेष कुराकानीको थालनी उनको छरितो ज्यानको रहस्यबाटै प्रारम्भ भयो ।

निकै स्लिम हुनु भएछ, कसरी ?

अहिले मदिरा बन्द छ । माछा–मासु खाँदै खान्नँ । खानामा भात अत्यन्त कम खान थालेको छु । समग्रमा खानपिनमै बढी ध्यान दिइरहेको छु ।

खानपिनको शैली कस्तो छ ?

बिहान उठेर ओखर र बदाम खान्छु । त्यसपछि एक घण्टा क्विक वाक गर्छु । घर आउँदा पसिना–पसिना भएको हुन्छु । घर आएर आधा घण्टा प्राणायम तथा आधा घण्टा ध्यान गर्छु अनि पूजापाठ गर्छु । त्यसपछि श्रीमतीले कचौरामा खाना पस्कन्छिन्, त्यही खान्छु अनि घरबाट निस्कन्छु । पहिले थालमा भात खान्थें, अहिले कचौरामा खान थालेको छु । दाल र तरकारीचाहिं टन्नै खान्छु । दिउँसो खाजामा चना हालेको चाउचाउ खान्छु । राति रोटी–तरकारीले काम चलाउँछु । पार्टीहरूमा पनि पानी मात्र पिएर फर्कन्छु । करिब एक वर्षदेखिको यो सेड्युलबाट मैले झन्डै १० किलो तौल घटाएको छु ।

स्मिल बन्ने योजना कसरी बन्यो ?

चलचित्र छ माया छपक्कैमा कमरेड–प्रेमीको भूमिका निर्वाह गर्नुपर्ने भएपछि स्लिम हुनुपर्ने बाध्यता आइलाग्यो । पहिले ८१ केजी थिएँ, अहिले ७३ केजी छु । दसैं लगत्तै ७० केजीमा झर्दैछु ।

कसरी ?

घटस्थापनाको दिनदेखि नै दुर्गा माताको नौ दिने व्रत प्रारम्भ गरेको छु । नौ दिनसम्म फलफूल र दूधमात्र खाएपछि थप ३ केजी कसो नघटिएला ?

दुर्गा माताको व्रत बस्ने प्रेरणा कसरी मिल्यो ?

पहिलेदेखिकै योजना थियो, तर यो वर्षको दसैंमा मात्र सम्भव भयो । अर्को कुरा अब मलाई हरेक कुरामा शक्तिको आवश्यकता पर्न थालेको छ । त्यसैले म दुर्गा माताबाट शक्ति चाहन्छु । मलाई लेखनमा शक्ति बढाउनु छ । अभिनयमा शक्ति बढाउनु छ । चलचित्र क्षेत्रमा हुने विकृति, विसंगति एवं राजनीतिविरुद्ध लड्ने शक्तिको अवाश्यकता छ ।

पूजा कुन विधिअनुसार गर्नुहुन्छ ?

दुर्गा पूजाको औपचारिक विधि मलाई थाहा छैन । नौ रथाभरि बिहान दुर्गा माताको स्तुति गर्छु । भगवती स्तोत्र नियमित पाठ गरिरहेको छु । महाअष्टमी र महानवमीको दिन दुर्गा सप्तशती पाठ गरी सक्ने योजना बनाएको छु । म पहिलेदेखि नै धार्मिक स्वभावकको भएकाले यो नौ दिनको व्रत पूरा गर्न सक्ने कुरामा विश्वस्त छु । म सानैदेखि महादेवको भक्त हुँ ।

यसपटकको दसैंको योजनाचाहिँ के–कस्ता छन् ?

खानपिनका दृष्टिकोणले मेरा लागि के दसैं ? भेजिटेरियनहरूलाई दसैंमा निकै गाह्रो छ । अर्को कुरा यो नौ दिनको व्रतले खानपिनको कुरा त सकिइहाल्यो । टीकाको दिनदेखिचाहिं मलाई वास्तविक दसैं लाग्छ । टीका र त्यसको भोलिपल्ट टीकाटालोमै व्यस्त भइन्छ । त्यसको दुई दिनपछि ‘छ माया छपक्कै’ को प्रदर्शन मिति भएकाले बल्ल हाम्रो दसैं प्रारम्भ हुन्छ । हामीले त नारा नै दिएका छौं— हाम्रो दसैं असोज २४ गते ।

विगत र वर्तमानको दसैंबीच कसरी तुलना गर्नुहुन्छ ?

यस पटक मलाई मात्र होइन, धेरै जनालाई आज (नौरथाको दोस्रो दिन) सम्म दसैं आएको छ जस्तो लागेको छैन । वास्तवमा अहिले दसैंको रमाइलो ह्रासोन्मुख छ । यो स्वाभाविक पनि हो । अर्थशास्त्रको भाषामा भन्ने हो भने दसैंलाई ह्रासको नियम लागेको हो । यसो हुनुका दुई–तीनवटा कारण छन् । हामीले बाल्यकालमा मनाएका जुन दसैं हुन्थे, त्यो दसैं अब अहिले सम्झनालायक मीठो स्मृतिमात्र भएका छन् । धानका बालाहरू खेतमा झुलेका, चंगा चेट गर्न खेतै–खेत दौडिएको, लंगुर बुर्जा खेलेको, दसैं कहिले आउँछ भनेर औंला भाँचेर बसेको, रोटेपिङ खेल्नलाई तँछाड–मछाड गरेको, टीका लगाउँदा आँखाचाहिँ दक्षिणा अर्थात् नयाँ नोटमा मात्र केन्द्रित भएको, हातमा आएको पाँच रुपैयाँ पनि ५ करोडभन्दा मूल्यवान् लागेको जस्ता प्रसंगहरू अब एकादेशको कथाजस्ता भए । त्यो दसैंसँग तुलना गर्दा अहिलेको दसैं त के दसैं ?

अहिलेको दसैंचाहिं कस्तो भयो ?

अहिले सम्पन्नताले थप खुसी ल्याउनुपर्ने झन् तनाव ल्याएको छ, पैसा कमायो अझ धेरै कमाउन मन लाग्छ । दसैं पनि चाँडै सकिएर फेरि कहिलेदेखि काम गर्न थालौं जस्तो हुन थालेको छ । जबकि दसैं भनेको त सबै काम बिर्स, जिन्दगी केही पनि छैन, खुलेर मनाऊ भन्ने हुनुपर्ने हो, त्यो छैन । अहिले सम्पूर्ण जिम्मेवारी तपाईंको काँधमा आयो । पहिले पो नाना चाहियो भने बुबा–आमाले व्यवस्था गरिदिनुहुन्थ्यो, हजुरबुबा–बुबाले दसैंमा किनिदिएको एउटा सर्टको भ्यालु कति हुन्थ्यो ? त्यसकारणले गर्दा अहिले हरेक वर्ष जिम्मेवारी थपिन थाल्यो । अनि यी सांस्कृतिक चाडपर्वहरू मदिराको बोतलमा बन्द हुन थाले । रक्सी खाएर घरमा लड्ने, मासु चपाउने, भोलिपल्टदेखि पेट गडबड भएर औषधी खाएर सुत्ने । हाम्रो अहिलेको दसैं यस्तै भएको छ । यसपटक पानी परेर पनि दसैं नआएको जस्तो लागेको हुनसक्छ । अर्को कुरा, अहिले मानिस पैसामुखी हुँदै गएको छ, काममुखी हुँदै गएको छ । अहिले कसैले खुलेर रमाइलो गरेको कहीँ देख्नुहुन्छ ? रमाइलो भनेकै कति पैसा खर्च गर्ने भन्ने भएको छ ।

यी सबैका बीच केही सकारात्मक पक्ष पनि त होलान् नि ?

अवश्य छन् । पछिल्ला केही वर्षदेखिको दसैंमा एउटा कुराचाहिँ सुधारिएको छ, त्यो हो— आन्तरिक पर्यटन । नेपालीहरू अहिले दसैंका अवसरमा घुमफिरमा निस्कन थालेका छन्, घरबाट बाहिर जान थालेका छन् ।

अत्यन्त रमाइलो गरी मनाएको दसैं ?

म काठमाडौं जिल्लाको दहचोकमा हुर्किएको मान्छे । हाम्रो गाउँमा झण्डै ८–९ वर्ष अघिसम्म हरेक दसैं अत्यन्तै रमाइलो गरि बित्थ्यो । दसैं आएपछि दिनभरी साथीभाइसंग रमाइलो गरिन्थ्यो । घरमा खसी काटिन्थ्यो (त्यतिबेला म मांसाहारी थिएँ), त्यसले घरै रमाइलो हुने भैगयो । साँझ परेपछि गाउँमा शहर तथा विदेशबाट को–को आएका छन्, सबै एउटा चिया पसलमा भेला भइन्थ्यो । झन्डै ५०–६० जना भेला भएपछि त्यही पसलबाट जे–जे किनेर खाए पनि भयो । सबैसँग पैसा हुन्थ्यो, अझ विदेशबाट आएका साथीहरूले त खुलेरै खर्च गर्थे । त्यसपछि मध्यराततिर मादल लिएर बसिन्थ्यो । बिहान ४–५ बजेसम्म नन–स्टप गीत गाउने, नाचगान गर्ने क्रम जारी रहन्थ्यो ।

माछा–मासु खान छाडेको कति भयो ?

सात वर्षजति भयो चटक्कै छाडेको । अघिल्लो वर्षसम्म अन्डाचाहिँ खान्थें, अहिले त त्यो पनि बन्द छ ।

अचानक मासु छाड्ने निर्णय गर्नुभयो ?

मनैले खान मानेन । मासु खान छाड्नुअघि मलाई के लाग्यो भने जिन्दगीमा धेरै पाप गरियो । म आध्यात्मिक मान्छे । मन न हो, यसलाई वशमा राख्न सकिंदैन । कतिपय कुरा मन नलाग्दा–नलाग्दै पनि गरियो होला । व्यक्तिले चाहेर पनि सबै इन्द्रियलाई नियन्त्रणमा राख्न सक्दैन । इन्द्रियहरूलाई छाडा छोडेपछि त्यसले एउटा न एउटा गल्ती गरिहाल्छ । त्यसको पश्चाताप हुने भनेको मनलाई नै हो, आफैंलाई नै हो । त्यस्ता घटनाहरू धेरै आए । धर्मले के गर्छ भन्दा इन्द्रियहरूले गरेका गल्तीहरूप्रति पश्चाताप गर्ने मौका प्रदान गर्छ । मैले यस्तै–यस्तै सोचें । अब अलि बढी धार्मिक हुनुपर्छ, माछा–मासु खान छाड्नुपर्छ भन्ने लाग्यो । त्यसैले चटक्कै छाडिदिएँ ।

मासुबिनाको दसैं अलि खल्लो–खल्लो भएन ?

पहिलो वर्ष त निकै खल्लो भयो । त्यसपछि बानी पर्दै गयो । अहिले मेरो जिब्रोले मासुको स्वाद बिर्सिसकेको छ । अहिले मलाई मासु नै गन्हाउँछ ।

तपाईं एकताका तास पनि भयंकरै खेल्नुहुन्थ्यो, अहिले कस्तो छ अवस्था ?

अहिले छैन, खै के भो, के भो ? अहिले त म बिग्रिएँ । कुनै बेला म तीन दिनसम्म लगातार, घरै नगै तास खेल्ने मान्छे हुँ । सुरु–सुरुमा गाउँका साथीहरूसँग खेलियो, पछि कलाकार साथीहरूसँग खेल्न थालियो । पछि–पछि त म क्यासिनो पनि जान थालेको थिएँ । प्रहरीले कडाइ गर्न थालेपछि मात्र क्यासिनो जान छाडेको थिएँ । क्यासिनोमै सुतिदिने अवस्थासम्म थियो । म त्यो लेभलको जुवाडे थिएँ । अहिले पत्याउनुहुन्न होला, म्यारिज खेल्न तास समाउनेबित्तिकै मलाई निद्रा लाग्छ । करिब सात वर्षदेखि मैले तास खेलेको छैन, मनै लाग्दैन । म आफ्नै जात (जोगी) मा आउँला जस्तो भैसकेको छ । मलाई लाग्छ, अहिले मसँग मेरा पूर्वजहरू पनि खुसी होलान् ।

सबै कुरा त्याग्दै जानुभएको छ, तपाईं रमाइलोचाहिं कसरी गर्नुहुन्छ ?

म अहिले एकदमै व्यवसायिक (प्रोफेसनल) भएको छु । कामप्रतिको पागलपन बढेको छ । बिहान उठेदेखि राति नसुञ्जेलसम्म मेरो सम्पूर्ण ध्यान काममै मात्र हुन्छ । हरेक क्षण राम्रो भन्दा राम्रो काम कसरी गर्न सकिन्छ भन्ने कुरामै मेरो ध्यान केन्द्रित भएको छ । बीचमा चाडपर्वका बेला अनि तनाव बढेका बेला एक–दुई स्टिक गाँजा खान थालेको थिएँ, अहिले त्यो पनि बन्द गरें । पहिले–पहिले राम्रै मदिरापान गर्थें, ज्यान मोटाउन नरोकिएपछि त्यो पनि छाडिदिएँ । अहिले आएर मैले के बुझें भने रमाइलो भन्ने कुरा मनमा हुँदो रहेछ । रमाइलो पनि उमेरअनुसार फरक हुने रहेछ । बाल्यकालमा तपाईंलाई लंगुर बुर्जाले रमाइलो गराउँथ्यो, अहिले गराउँदैन । मलाई कुनै बेला तासले रमाइलो गराउँथ्यो, अहिले गराउँदैन । म कुुनै बेला एक फुल रक्सी खाएर लड्ने मान्छे, आज मलाई एक फुल रक्सी खाने मानिसलाई गालामा थप्पड हान्न मन लाग्छ । आज मलाई मन्दिरमा रमाइलो लाग्न सक्छ । बिहान मर्निङ वाक गर्दा रमाइलो लाग्छ । ब्याक टु ब्याक राम्रो काम गर्न पाउँदा रमाइलो लाग्न थालेको छ । अहिले मैले जति धेरै राम्रा कृति तयार पार्न सकें, ती सबै मसँगै जाँदैनन्, यहीं छाडेर जाने हो भन्ने कुरा सोचेर अझ राम्रो काम गर्न मन लाग्छ, जसले मलाई रमाइलो दिन्छ । त्यसबाहेक मलाई सिनेमा हलमा गएर चलचित्र हेर्न पाउँदा रमाइलो लाग्छ । म हरेक साता प्रदर्शन हुने हिन्दी चलचित्र नछुटाइ हेर्छु भने राम्रा ब्यानरका नेपाली चलचित्र पनि हेरिरहेको हुन्छु ।

सबै नेपाली चलचित्रचाहिं किन हेर्नुहुन्न ?

ढाँट्नु हुँदैन, ८० प्रतिशत नेपाली चलचित्र हेर्दा सियोले घोपेको जस्तो पीडा हुन्छ । अर्थात् अहिले प्रदर्शन भैरहेका नेपाली चलचित्रमध्ये ८० प्रतिशत चलचित्र हेर्नु भनेको पीडा निम्त्याउनु मात्र हो ।

अहिले तपाईंलाई नेपाली चलचित्रको ब्रान्ड मान्न थालिएको छ नि ?

सकारात्मक सोच भएकाहरूले मान्नुभएको छ, नकारात्मक सोच भएकाहरूले यसलाई अर्को एंगलबाट हेर्छन् । वास्तवमा म आफैं लर्निङ फेजमा छु अर्थात् सिकिरहेको छु । विदेशमा चलचित्र निर्माताहरूको चलचित्र निर्माणप्रति जुन पागलपन छ, त्यो पागलपनको सिको गरिरहेको छु । त्यो सिको गर्दा मलाई यो उपाधि मिल्यो, जसमा म सन्तुष्ट छु । सिको गर्दा त यत्तिको सफलता मिल्यो भने मैले पुरै सिकें भने कस्तो होला भन्ने सोच्न थालेको छु । मेरो आलोचना गर्नेहरू चाहिं के भन्छन् भने यसले सिनेमामा कमेडी ट्ेरन्ड ल्याइदियो, मानौं कमेडी ट्ेरन्ड ल्याउनु अपराध नै हो । उनीहरूको भनाइमा हामीले निर्माण गर्ने चलचित्रमा कलात्मकताको अभाव छ । मलाई मेरा बारेमा सकारात्मक र नकारात्मक टिप्पणी गर्नेहरू बराबर छन् जस्तो लाग्छ । म दुवैका कुरा सुन्छु । यद्यपि म के भन्छु भने अहिले नेपालमा सबैभन्दा चलेको नेपाली चलचित्र कुन हो ? भनेर सोध्यो भने त्यसको जवाफमा बलिउडको ‘बाहुवली’ भन्नु पर्दैन । हाम्रै नेपाली चलचित्रको नाम लिन सकिने अवस्था आएको छ ।

त्यसो भए यतिबेला नेपाली चलचित्र उद्योग कहाँ छ ?

कमजोर अवस्थामा छ । चारदेखि पाँच जनाभन्दा बढी निर्मातामाथि विश्वास नै गर्न सकिंदैन । ती चार–पाँच जनाबाहेक अन्य निर्माताले बनाएका चलचित्र हेर्नुर्पयो भने टर्चर नै महसुस गर्नुपर्ने अवस्था छ । हामीसँग अहिले पनि व्यवसायिकताको अभाव भएका व्यक्तिहरूले चलचित्र बनाउने क्रम जारी छ । चलचित्र बनाउने मान्छे चलचित्र निर्माणमा पागल हुनुपर्छ । बिहानदेखि बेलुकासम्म चलचित्र राम्रो बनाउने विषयमा चिन्तन गर्ने व्यक्तिको अभाव छ । यहाँ त तीनवटा फाइट, दुईवटा गीत, तीनवटा कमेडी दृश्य राखेर कसरी फर्मूलामा आधारित चलचित्र चल्छ, त्यतामात्र ध्यान दिने निर्माताहरूको संख्या बढी छ । पहिलो कुरा त कन्टेन्टमै मेहनत छैन, त्यसैले म हाम्रो क्षेत्र नै कमजोर छ भन्ने निष्कर्षमा पुगेको हुँ । यही अवस्था जारी रह्यो भने दुई–तीन जना निर्माताले मात्र नेपाली चलचित्र उद्योगलाई धान्न सक्दैनन् । अनि एक दिन नेपाली चलचित्र पनि निर्माण हुन्थे भनेर कुरा गर्ने दिन आउँछ । यद्यपि, ती चार–पाँच जना निर्माताले नेपाली चलचित्र उद्योगलाई मर्न दिएका छैनन् । एकताका राजेश हमालले नेपाली चलचित्रलाई गति दिनुभएको थियो, दयाराम दाहाल, शिव रेग्मीहरूले यसलाई एक दशकसम्म डोर्होयाइदिनुभयो । त्यसपछि चलचित्र क्षेत्र करिब–करिब मृत प्रायस् थियो । निश्चल बस्नेतले यसलाई पुनस् ब्यूँत्याए । निश्चलको ट्ेरन्ड पनि कमजोर भैसकेको थियो, तर पछिल्लो ६–७ वर्षदेखि हामीले छक्का पञ्जाको ट्ेरन्ड भित्र्यायौं, जसले नेपाली चलचित्रको व्यवसायिक धारलाई उचाइ प्रदान गर्न सफलता पाएको छ अर्थात् हामी अहिले टिक्ने काम मात्र गरिरहेका छौं । नेपाली चलचित्र पनि गज्जबका हुन्छन् भनेर हाम्रो स्क्रिप्ट विदेशी चलचित्र निर्माताले खरिद गर्ने दिन कहिले आउला ? हाम्रा चलचित्रलाई विदेशी भाषामा रिमेक गर्ने ट्रेन्ड कहिले सुरु होला ? अब हामीले यो लाइनमा सोच्ने बेला आएको छ ।

तपाईंहरूले ल्याएको कमेडी ट्ेरन्डको अरूले पनि नक्कल गर्न थाले नि ?

अहिले बनिरहेका अधिकांश चलचित्र छक्कापञ्जाजस्तै छन् । त्यसले चलचित्र क्षेत्रलाई विध्वंसतर्फ लान्छ । पहिले पनि हामीले टेलिभिजनमा तीतो सत्य र्गयौं, सबै सिरियल तीतो सत्यजस्तै बनें । त्यसपछि हास्यश्रृंखलाको क्रेज नै घट्यो । म के भन्छु भने तपाईं दीपकराज गिरीजस्तै बन्न चाहनुहुन्छ भने दीपकराजभन्दा माथि बढ्नै सक्नुहुन्न । कान्तिपुरको नक्कल गरेर कोही पनि कान्तिपुर बन्न सक्दैनन्, कान्तिपुरले एक वर्ष झुर म्याटर दिए पनि कान्तिपुर कान्तिपुर नै रहन्छ । त्यो भनेको ब्रान्ड हो । सिर्जनाशीलताको अभावमा यो सब भैरहेको छ । अरू विधामा हात हाल्यो भने चल्दैन भन्ने सोचको उपज हो । मैले अहिले आफैंले प्रयोग गरेको छु, चलचित्र ‘छ माया छपक्कै’ मार्फत । चलचित्रको ट्ेरलरमा मैले कहिं कतै हँसाएको छैन, न त म आफैं हाँसेको छु । म पूरै गम्भीर छु । यसपटक मैले चलचित्रमा हँसाएको छैन, मेरा वरिपरिका कलाकारले हँसाएका छन् । मैले अहिले आएर पनि रिक्स लिन सकिन भने कहिले लिने ?

अन्त्यमा, चलचित्र ‘छ माया छपक्कै’ कस्तो बनेको छ त ?

यदि तपाईं छक्का पञ्जाको फ्लेवर खोज्दै ‘छ माया छपक्कै’ हेर्न आउनुहुन्छ भने दुस्खी भएर फर्कनु हुनेछ, किनभने यो कमेडी चलचित्र होइन । यद्यपि, यसले चलचित्रका रूपमा हँसाउछ पनि, रुवाउँछ पनि, घरी–घरी सोच्न पनि बाध्य बनाउँछ । यो चलचित्रमा हामीले एक प्रकारको रिस्क मोलेका छौं । यसपटक हामीले चलचित्रमा नाच्ने गाउने गीत राखेको छैनांैं । आलोचकहरूले हाम्रो चलचित्रमा जुन कलात्मकताको अभावको कुरा उठाएका थिए, तुलनात्मक रूपमा त्यो कलात्मकता छ माया छपक्कैमा बढी पाउनेछन् । यसमा लयात्मक कमेडीको प्रयोग कम छ । चलचित्रमा दर्शकलाई हँसाउन सिन क्रिएट गरिएको छैन, सिन आफैंले दर्शकलाई हँसाउँछ । सिचुएसनल कमेडी भए पनि यो विशुद्ध कमेडी चलचित्र होइन । चलचित्रमा हामीले गाउँमा घटिरहने सत्य घटना पनि समेटेका छौं, राजनीतिक पृष्ठभूमिलाई समावेश गरेका छौं । समग्रमा हामीले एउटा मौलिक चलचित्र निर्माण गर्ने प्रयास गरेका छौं ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles