‘हामी नरहे पनि वन रहन्छ तर वन नरहदा हामी पनि पक्कै रहदैनौ’ मेनुका राई सचिव - Pahilo Online

‘हामी नरहे पनि वन रहन्छ तर वन नरहदा हामी पनि पक्कै रहदैनौ’ मेनुका राई सचिव

writer

पहिलो अनलाइन

मेनुका राई (सचिव) शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरीशनिश्चरे–१ मोरङ

 

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
मेरो आफ्नो व्यक्तिगत पेशामा आबद्ध छु । त्यस पछि सामुदायिक वनका गतिविधिहरुमा सक्रिय रुपमा लाग्ने गरेको छु । यो भनेको समाज सेवा र यो संस्थागत सेवा हो । लगानी भनेको धेरै आफ्नै पेशामा छ, थोरै यो सामाजिक पेशामा छ ।

शान्ति सामुदायिक वन उपभोक्ता समूहले के कस्ता कार्यहरु गरिरहेको छ ?
वन ऐन नीति नियम अनुसार वन विकास, सामाजिक विकास र गरिबि न्युनिकरणका कामहरु नीतिगत रुपमा धेरै थोरै गरिरहेको छ । पछिल्लो समय दिर्घकालिन रुपमा गरिबी न्युनिकरणलाई उन्मुलन गर्दै लाने भनेर वन विकास र सामाजिक विकासमा जोड दिइरहेका छौं । हाम्रो कार्यक्रम सफल भयो भने उपभोक्ता क्षेत्र भित्रको तीस देखि चालिस जना उपभोक्ताहरुलाई रोजगार दिन सक्ने उद्योग सञ्चालन हुनेछ । यसैगरी, हामी गरिबी न्युनिकरण हटाउँदै जाने छौं ।

वन विकास, सामाजिक विकास र गरिबी न्युनिकरणको लागि के–के गर्नुभएको छ ?
वन विकासको पाटोमा वैज्ञानिक वन व्यवस्थापन गरी वन पथ निर्माण गरेका छौं । अग्नि नियन्त्रण पथ निर्माण गरेका छौं । चोरीनिकासी बन्द गरेका छौं । चरिचरनलाई पनि बन्द गर्दै लगेका छौं । जैविक विविधता कायम राख्न र यहाँको वातावरण सन्तुलित राख्न सिमसारको विकास गरेका छौं । सामाजिक पाटोमा सिमासारलाई सिङ्गो समाजकै विकास भनेर सिमसार संरक्षण र सामाजिक विकासमा जोडेका छौं । यस सिमसारले गर्दा लोप हुनलागेका पशुपन्छी संरक्षण हुनुका साथै पानीको मुहान नसुक्ने, वातावरण सफा हुने र समाजको पनि विकास हुनेछ । यस सिमसारलाई अर्गानिक हस्पिटलको रुपमा यहाँ मान्छे आएर रिफ्रेस भएर जान्छन् । विधानमा पनि सामाजिक विकास भनेको उपभोक्ता क्षेत्र भित्र बाटो ग्राभेल, कल्र्भट, सामान्य पुल निर्माण, कुलो निर्माण गर्नुपर्छ भनिएको छ । तर हाम्रो उपभोक्ता क्षेत्र भनेको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ को आधा मात्र पर्छ र सबै बाटो पिच भएको छ र पैनी बनाउन पर्दैन हाम्रो क्षेत्रमा, किनकी खेती गर्न योग्य जमिन छैन । त्यो भएर नीतिमा जे लेखे पनि सामाजिक विकासमा लगानी गर्ने रकम सिमसार क्षेत्रमा उपयोग गरेका छौ ।

पर्यटकलाई आकर्षीत गर्न के–के निर्माण गर्नुभएको छ ?
हामी सबैले देख्ने भनेको एउटा पोखरी हो अनि एउटा सानो गार्डेन छ । एकदुई वटा पिक्निक स्पट छन् । दुई वटा बोट पनि छन् । तुरुन्तै बन्ने भनेको बाल उद्यान लगभग एक करोडको हाराहारीमा इस्टिमेट गरेर सुरु हुँदैछ । त्यसपछि हाम्रो योजनामा रहेको ट्रि हाउस बनाउँछौ । रक गार्डेन, बोटानिकल पार्क सिमसार क्षेत्र भित्र रहेको कुलोलाई छेकेर त्यहा हामी मेसिनबाट चल्ने जेट बोट लगभग एक किमी लम्बाइ रहेको खाडी निर्माण गर्ने छौ । सिमसार एरिया भित्र अर्को सानो खाडी छ । त्यो चाहीं विज्ञान विषय पढ्ने विद्यार्थीहरुका लागि मात्र जमाएर राख्ने छौ । सानो क्षेत्र भएकाले हाम्रो १० वर्षे योजना यही रहेको छ ।

 

मेनुका राई (सचिव) शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरीशनिश्चरे–१ मोरङ

वन संरक्षणमा चुनौतीहरु के के हुदो रहेछ ?
वन संरक्षणमा चुनौतीहरु धेरै छन् । वनको ऐन नीति नियमअनुसार नै हामी जानुपर्छ । पछिल्लो चोटी आएको चुनौती भनेको वैज्ञानिक वन व्यवस्थापनमा पनि एकचोटी चुनौती आयो । राज्यबाट पनि वैज्ञानिक वन भनेको राम्रो होइन, यसलाई रोक्नुपर्छ भन्ने कुराहरु पनि आएको थियो । वन संरक्षणमा चोरी निकासी, चरी चरन, आगलागिको समस्या पनि आउँछ । हाम्रो उपभोक्ताहरु घाँस काट्न जाँदा दुर्लभ बोटबिरुवाहरु नचिनेर काटिदिने गर्दछन्, हाम्रो वनमा मात्र होला यो समस्या । पथरी नगर भरिको फोहोरको डम्पिङ हाम्रो वनमा निर्माण गरिहेको छ । त्यो डम्पिङले हाम्रो वनको १ हेक्टर जमिन दुर्गन्धित बनाएको छ । यस डम्पिङ रहेको ठाउमा पथरी खोलाको शिर भएकोले पथरी खोलालाई पनि दुर्गन्धित बनाएको छ । नगरबाट लगिएको सम्पूर्ण फोहोरलाई त्यहाँ लगेर फालिन्छ । हामीले त्यसको बारेमा पटक पटक नगरमा गएर भन्दा नगर प्रमुखले २०७५ साल भरीमा समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ । अर्को समस्या ढल निकास नभएकाले पथरी शनिश्चरे भित्रको ढलहरु यही वनमा ल्याएर फालिन्छ । पथरी शनिश्चरेको खोलाहरुको मुहान यही वनमा भएको कारण पथरी शनिश्चरेबासी सम्पूर्णलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर परिरहेको छ । वातावरणीय हिसाबले हेर्ने हो भने सबैलाई नभएको भए असर गथ्र्यो यस्तै चुनौतीहरु रहेको छ ।

यस वनको आगामी योजनाहरु के के रहेका छन् ?
२०४९ को नीति र २०५१ ऐन अनुसार हामी चलेका छौ । अहिले वन पनि संघियतामा गएको छ । नीतिगत रुपमा गएर हेर्दा संक्रमण ढाँचा मै छ किनभने संघियताको ढाँचामा वन गएको छ । हामीसँग तीन वटा सरकार छ । वनको नीति त्यही ०४९÷०५१ को नियम कायम हुने होकि नयाँ नीति बन्ने हो । नीतिगत कुरा नआइ यो वन संरक्षणको कुरालाई नीतिगत रुपमा संक्रमणकाल नै जस्तो लाग्छ । पहिला कै नीतिगत पाटोले हेर्ने हो भने वन क्षेत्र भित्र जङ्गली जनावर संरक्षण गर्ने पाटो छ । चोरी निकासी, चरी चरन बन्द गर्ने कार्यहरु हामीले गरिरहेका छौ । पछिल्लो नीतिमा आएको वैज्ञानिक वन व्यवस्थापन पनि लागु गरिरहेका छौ । अब आउने नीति कस्तो हुन्छ त्यही नीतिअनुसार अघि बढ्ने छौ ।

अन्त्यमा केही भन्नु छ की ?
भर्खरै भएको हाम्रो कार्य समितिको बैठक गरेर हाम्रो वनको सिमसार हेर्ने उपसमितिको संयोजक पनि भएकाले हाम्रो उपभोक्तालाई मात्र उपभोक्ता ल्याउने उपभोक्तालाई प्रवेश रकममा छुट दिएका छौ । ज्येष्ठ नागरिकलाई छुट दिएका छौ । राज्यले सम्मान गरेको व्यक्तिहरु जोजो हुनुहुन्छ , उहाहरुले आफ्नो परिचय कार्ड लिएर आउँदा यहाँ सिमसार भित्र निःशुल्क प्रवेश गर्ने नीति बनाएका छौ । हाम्रो उपभोक्ता सबैले माया गरौं भनेर हामीले उपभोक्ता छुट कार्यक्रम गरेका हौ । र अन्त्यमा मानव सभ्यता भन्दा अघि वन थियो भन्ने कुरा त मानव इतिहास हेर्दा नै थाहा हुन्छ । त्यो भएकोले सबै हामीले समितिमा रहे पनि नरहे पनि वनलाई माया गर्नुपर्छ । हामी नरहे पनि वन रहन्छ तर वन नरहदा हामी पनि पक्कै रहदैनौ । त्यही भएर हामी सबैले वनको संरक्षण गर्नुपर्छ । समितिले वा समूहले मात्र संरक्षण गर्नुपर्छ भन्ने हुन्न सबैले संरक्षण गर्नुपर्छ । नेपालको कुल भूमिको ४४ प्रतिशत वन रहेको छ र ४४ प्रतिशत वन संरक्षण गर्न हामी सबैले आआफ्नो ठाउबाट लागि पर्नुपर्छ । वनलाई संरक्षण गर्नु अति नै जरुरी छ । यति कुरा भन्ने मौका दिनुभएकोमा कुरकुरे डटकम साप्ताहिक सपरिवारलाई धन्यवाद दिन चाहन्छु ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes