विराटनगर । टाटीले बेरेको सानो छाप्रो । छानोको पराल आधाभन्दा धेरै खसिसकेको । घाम लाग्दा छानोबाट पूरै उज्यालो भित्रै पस्छ । बर्खाको पानी मुश्किलले एक तिहाइ मात्र बलेसीमा झर्छ । बाँकीले कोठाचोटा आहाल बनाउन धेरै बेर नै लाग्दैन् । टाटीको भाग सारीको सप्कोले बेरिएको हुन्छ । हावा चले त्यो सप्कोले के थेग्न सक्थ्यो र ? केही समय अघिसम्म यस्तै अवस्थामा थियो सुन्दरीमाया श्रेष्ठको घर ।
श्रीमानलाई पहिलोपट्टीकी श्रीमतीको छोरोले लगेपछि उनी एक्लै परिन् । अनि जीवन जिउन झन् कठिन भयो । शरीर गल्दै गएकोले मागी खानु सिवाय अरु सीप थिएन् । श्रेष्ठले भनिन्,‘गाउँलेले दिएको अन्नपात र सहयोगले श्वास अडिएको छ ।’ दिनभर मागेर साँझमा घर नै फर्कने उनको घर भने घरजस्तो थिएन ।
मोरङको ग्रामथान गाउँपालिकाको केन्द्र तेतरियास्थित लडैयाँडाँगीमा रहेको श्रेष्ठको घर पहिलो पटक देख्दा विमला पोखरेलको मन्न खिन्न भयो । उनी जीवन विकास समाजको लघुवित्त बैंकिङ कार्यक्रमकी कर्मचारी हुन । उनी त्यो घर नजिकै पुगिन् । घरमा कोही थिएन् । सोधीखोजी गरिन् । पत्ता लाग्यो टाउको समेत ओत लाउन नमिल्ने र ‘घरजस्तै नलाग्ने त्यो घर’ सुन्दरीमायाको हो । यी कर्मचारीले फोटो खिचिन् । अनि कार्यालय प्रमुखलाई देखाइन् । दृश्य देखेर समाजको तेतरिया शाखाका सबै कर्मचारी निकै भावव्हिल बने । त्यसपछि योजना बन्यो श्रेष्ठलाई घर उपहार दिने । पोखरेलले भनिन्,‘हामी कर्मचारी र लघुवित्तमा आवद्ध समूहका महिला सदस्य मिलेर घर निर्माण गरिदिने निर्णय ग¥यौं ।’
ट्रिटमेन्ट गरेको बाँसको पिलर हालियो । तीनवटा झ्याल जडान भए । वरिपरि ठोकुवा टाटी राखियो । परालको साटो टिन जडान भयो । ग्रामथान ५ लडैयाँडाँगीमा समाजका स्वयम्सेवक, कर्मचारी र समूहका सदस्यले एकै दिनमा घर तयार गरिदिए अनि उपहार स्वरुप श्रेष्ठलाई हस्तान्तरण गरिदिए । श्रेष्ठ भन्छिन्,‘मागेर मेरै बलबुतामा त कसरी घर ठड्याउन सक्थे र ? संस्थाले सहयोग गरेपछि मेरो पनि घर बन्यो ।’