कटान रोक्ने नर्सरी सर्पट कटान - Pahilo Online

कटान रोक्ने नर्सरी सर्पट कटान

उर्लाबारी नगरपालिकाले मिक्लाजुङमा पर्ने जमिनको रुख काटेको आरोप

writer

पहिलो अनलाइन

उर्लाबारी । उर्लाबारी नगरपालिकाको निर्णयमा छिमेकी गाउँपालिकाको भू–भागमा रहेको सयौं रुखहरु ‘सर्पट’ कटान गरिएको छ ।

मिक्लाजुङ गाउँपालिका–९ मा अवस्थित नर्सरीका सयौं रुख र बाँसहरु रातारात काटिँदा नियमक निकाय वन कार्यालय मुकदर्शक बनेका छन् ।

मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधिहरु उर्लाबारी नगरपालिकाको ‘हेपाहा प्रवृति’प्रति आक्रोशित बनेका छन् । राज्य पुर्नसंरचना आयोगले स्थानीय तहको क्षेत्र निर्धारण गर्दा साविक मधुमल्ला गाविसको ७, ८ र ९ नम्बर वडालाई उर्लाबारीमा गाँभेको भएपनि उर्लाबारी नगरपालिकाले भने साविक मधुमल्ला–६ को केही भू–भागलाई आफ्नो दाबी गर्दै आएको छ ।

स्थानीय तहको चुनाव लगत्तै गत बर्ष मिक्लाजुङ गाउँपालिकाको सीमाभन्दा ५ सय मिटर उत्तर उर्लाबारी नगरपालिकाले सीमाको साईन बोर्ड राखेको थियो । यसपछि सुरु भएको सीमा विवाद रुख कटानी भएपछि सतहमा आएको हो । रुख कटानको अनुगमनमा भेटिएकी गाउँपालिकाकी उपाध्यक्ष सरला राईले सिमाना मिचेर त्यो पनि सरकारी जग्गाको रुख कटान गर्नु आपत्तीजनक रहेको बताउनुभयो ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र वडा नं. १ का वडाध्यक्ष मचिन्द्र कार्कीको ‘मिलेमतो’मा खेलमैदान बनाउने भन्दै मिक्लाजुङ गाउँपालिकाको भू–भागका रुखहरु कटान भएको हो । कटान गरिएका सिसौ, खयरलगायतका रुखका गोलिया रातारात उर्लाबारी–६ स्थित एक स–मिललाई बिक्री गरेको पाइएको छ । सो रुख कसले बिक्री गरेको हो भन्ने खुल्न सकेको छैन ।

ब्याक लोडर (जेसीबी) प्रयोग गरी रुखका जराहरु उखेलिएका छन् भने रुख कटान भएको स्थानमा हाँगा, पोथ्रा र बाँसहरु असरल्ल छन् । ३ लाख रुपैयाँ बजेट विनियोजन गरी खेलमैदानका लागि रुख कटान गरेको वडाध्यक्ष कार्कीले स्वीकार गर्नुभयो । रुख कटान गर्दा वनको स्वीकृति लिएकोबारे भने उहाँले केही बताउनुभएन ।

इलाका वन कार्यालय मधुमल्लाका प्रमुख जगदिश्वर देवले भने नर्सरी फडानी भएको सम्बन्धमा अनभिज्ञता जाहेर गर्नुभएको छ । आफू विराटनगरमा रहेको भन्दै उहाँले मातहतका कर्मचारीलाई नर्सरीका रुख कटानका बिषयमा बुझ्न निर्देशन दिएको बताउनुभयो ।

तत्कालिन मधुमल्ला गाविसका अध्यक्ष काशीनाथ पौडेलको अग्रसरतामा मावा खोलाको जोखिमबाट बस्ती जोगाउन सो नर्सरी लगाइएको थियो । वायोइन्जिनियरिङ पद्दतिद्वारा खोला किनारामा लगाइएको नर्सरीका कारण कालान्तरमा स्थानीयले राहत महशुस गर्दै आएका थिए । नर्सरीकै कारण उर्लाबारी–मधुमल्ला सडक खण्ड पनि जोखिमरहित बनेको स्थानीयको भनाइ छ ।

नर्सरी कटान हुन थालेपछि स्थानीयमा चिन्ता थपिएको छ । मिक्लाजुङ ९ का वडाध्यक्ष सोमनाथ अधिकारीले साविक मधुमल्लाले बर्सेनी बाढीको बबण्डर खेप्नु परेकोमा तटबन्धको काम गरिरहेको नर्सरी सखाप पार्ने कार्य आपत्तीजनक रहेको बताउनुभयो । मिक्लाजुङ र उर्लाबारी सीमावर्तीको नर्सरीका रुख कटान हुँदा सबैभन्दा क्षति उर्लाबारीले नै ब्यहोर्नु पर्ने उहाँको भनाइ छ ।

यसैबीच रुख कटान स्थलगत अनुगमन गरी गाउँपालिकाकी उपाध्यक्ष सरला राई नेतृत्व टोलीले सोमबार नै सम्बन्धित निकायहरुलाई घटनाबारेमा जाहेर गरेको छ । टोलीमा वडाध्यक्ष सोमनाथ अधिकारी, वडा नं. ६ , ७ र ८ का वडाध्यक्ष क्रमशः बृद्धिलाल निरौला, सुशीलराज चौहान र नविन कार्की सम्मिलत थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes