‘पेन किलर खाएर काम गर्छौं’ - Pahilo Online

‘पेन किलर खाएर काम गर्छौं’

निजी विद्यालयका शिक्षकको पीडा

writer

विराटनगर । ‘बिरामी हुँदा पेन किलर खाएर काममा आउ भन्छन्, नियुक्ति पत्र पनि दिंदैनन्, बिहानदेखि बेलुकासम्म काम गर्नुपर्छ, पारिश्रमीक लिएर घर जाँदा झगडा मात्रै हुन्छ,’ सोमबार पत्रकार सम्मेलनमा निजी विद्यालयमा कार्यरत शिक्षकले सुनाएको पीडा हो यो ।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर छैन, तर ती विद्यालयका शिक्षकको तलब सुविधा निक्कै माथि छ । तर, तिनै शैक्षिक गुणस्तर कायम गर्न बिहानदेखि बेलुका सम्म खटिने निजी विद्यालयका शिक्षकको न त पारिश्रमीक आकर्षक छ, न त श्रमको सम्मान नै छ ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै निजी विद्यालयका शिक्षकहरुले आफूहरुलाई नियुक्ति पत्र नदिने गरेको र जुनसुकै बेला पेशाबाट हात धुनुपर्ने अवस्था रहेको भन्दै सरकारले आफूहरुको गुनासो नसुनेको बताए । ‘मोरङका ९९ प्रतिशत विद्यालयले नियुक्ति पत्र बिना काम गर्नुपरेको अवस्था छ,’ निजी विद्यालयका शिक्षक विक्रम देवले भने, ‘२० वर्षदेखि निजी विद्यालयमा पढायो, अन्तिममा निस्कदा रित्तो हात फर्किनुपर्ने अवस्था छ ।’

टाइ सुटमा ठाँटिएर हिंडेको देख्दा धेरै कमाएको ठान्नेहरु भए पनि आफूहरुको समस्या अर्कै रहेको शिक्षक तथा भ्रष्टाचार विरुद्धको अभियानका शिक्षा संयोजक चिराग सरलले बताउनु भयो । ‘निजी विद्यालयका शिक्षकहरु देख्दा टाइ सुटमा ठाँटिएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘तर, हाम्रो पेट भोको हुन्छ, हाम्रो परिवारमा बेमेल र झैझगडा हुन्छ, हामीले छिमेकीको विवाह कार्जेदेखि मरिमराउमा पनि जान पाएका हुँदैनौं ।’

पत्रकार सम्मेलनमा आफ्नो दुःख पोख्दै निजी विद्यालयमा २० वर्ष सेवा गरिसकेको बताउने शिक्षक नेत्र प्रसाद चौंलागाईंको समस्या पनि उस्तै छ । ‘काम गर्ने क्रममा वर्षमा कति विदा भन्ने केही उल्लेख छैन, कति पारिश्रमीक भन्ने कुनै आधार दिएको हुँदैन, बिरामी भएर हस्पिटलमा भएको बेला पनि काम गर्न आउनु भन्ने दबाब आउँछ,’ चौंलागाईंले भन्नुभयो, ‘हस्पिटलमा स्लाइन पानी लगाइरहेका शिक्षकलाई विद्यालयमा लगेर देखाउनु परेको उदाहरण पनि छन् ।’

निजी विद्यालयमा पठाउने शिक्षकको पहिचान नभएको र सामाजिक मर्यादा पनि खस्केको उनीहरुको गुनासो छ । ‘बैंकमा लोन लिन गयो काहाँ काम गर्छौ भनेर सोध्दा निजी विद्यालयमा भन्यो भने ऋण पनि पाइँदैन,’ शिक्षक प्रेम तामाङले भने, ‘अत्यन्तै कमजोर अवस्था भयो, सरकारले न्यूनतम पारिश्रमीक लागू गर्ने वातावरण बनाइदिए हुन्थ्यो ।’

नीतिगत तहमा आफूहरुको समस्या लिएर जाँदा घुमाइदिने गरेको अर्का शिक्षक विक्रम देवले बताउनु भयो । ‘श्रम कार्यालयमा जाँदा, शिक्षा कार्यालय पठाइदिने, शिक्षा कार्यालयले प्याब्सन एन प्याब्सनलाई पठाइदिने गरेको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेशको सामाजिक विकास मन्त्रालयमा जाँदा पनि ठोस जवाफ आएको छैन, अब कसरी हामी काम गर्ने ? ।’ आफूहरुको समस्या कुन ठाउँ जाँदा हल हुनेहो भन्ने विषयमा आफैं अनविज्ञ रहेको पनि उहाँले बताउनु भयो । ‘यताबाट उता, उताबाट यता गर्ने चलन हटाएर समस्या समाधानका लागि काहाँ जानुपर्ने हो हामीलाई भनियोस्,’ देवले भन्नुभयो ।

नीजि विद्यालयका शिक्षकहरुले सरकारी सुविधा अनुसारको सेवा सुविधा पाउनुपर्ने, सञ्चयकोषको व्यवस्था हुनुपर्ने, निजी विद्यालयको एउटै शैक्षिक क्यालेण्डर हुनुपर्ने, ग्रेड वृद्धि हुनुपर्ने, उपदान र महंगी भत्ता, पोशाक भत्ता पाउनुपर्ने, आन्तरिक बढुवा हुनुपर्ने लगायतका माग राखेका छन् । आफूहरुको मागको सुनुवाई नभए सामूहिक अनसनमा बस्ने शिक्षक नेत्र चौंलागाईले बताउनु भयो । मोरङका ३ सय बढी निजी विद्यालयमा ५ हजार भन्दा बढी शिक्षक रहेको उनीहरुको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes