
विराटनगर । कानुनले निर्धारण गरेको मापदण्ड उल्लंघन गरेर संचालन भइरहेका क्रसर उद्योगहरुले विहिवारदेखि मध्य रातमा खोला उत्खनन् गरी चोरी गर्न थालेका छन् । क्रसर उद्योगहरुले जथाभावी उत्खनन् गरेको भन्दै व्यापक अलोचना र जनस्तरबाट विरोध हुन थालेपछि दिउँसो बिक्री बन्द गरेर मध्यराती नदिजन्य पदार्थ निकाल्न थालेका हुन् ।
विहिवार मध्यराती मोरङको केरावारी स्थित खदम खोलाबाट एक सय भन्दा बढी ट्रिपरमा ग्राभेल निकालेको स्थानीयले जानकारी दिएका छन् । ट्रिपर बाहेक दर्जनौं ट्रयाक्टरहरु रातभर खोलामा चलेका थिए । खदम खोलाबाट स्वीकृत परिमाण भन्दा तीन गुणा बढी नदिजन्य पदार्थ छ महिना अघि नै उत्खनन् भइसकेको थियो । त्यस पछि पनि त्यहाँबाट उत्खनन गर्ने र बिक्री गर्ने क्रम निरन्तर चलिरहेको छ ।
कोरावारी गाउँ पालिकाका अध्यक्ष रोहित कार्कीलाई अनियन्त्रित तवरले स्रोत उत्खनन् नगर्न आग्ह गरेको भएकोभएपनि कुनै सुनुवाई हुन नसकेको उपाध्यक्ष शान्तिकुमारी भुजेल लगायतका जनप्रतिनिधिहरुले बताएका छन् । प्राकृतिक स्रोतको उत्खनन्, व्यवस्थापन र संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहकै जिम्मामा भएपनि आम जनताको जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने गरि भइरहेको उत्खनन् र रातारात हुने चोरीमा अध्यक्ष कै संलग्नता रहनु गम्भिर विषय भएर आएको छ ।
जनस्तरबाट व्यापक विरोध भएपछि क्रसर व्यवसायि र खोला ठेकेदारहरुको योजनामा स्थानीय प्रसासनसमेतको मिलेमतोमा खोलाबाट व्यापक ढुंगागिटि उत्खनन् भएको हो । दिउँसो ग्राभेल बिक्री गर्दा चौतर्फी आलोचना बढेपछि उनीहरुले रातारात सामान निकाल्ने योजना बनाएका हुन् ।
यसैगरी लेटाङको चिसाङ खोलाबाट पनि मध्यराती ठूलो परिमाणमा ग्राभेल उत्खनन् भएको छ । ट्रिपर व्यवसायिहरुलाई मध्यराती मात्र खोलामा आउन उनीहरुले खवर गरेका छन् । विहिवार मध्यराती २ सय भन्दा बढी ट्रिपर चिसाङ खोलामा लोड भएर निस्किएको थियो । चिसाङ खोलामा सबैभन्दा ठूलो क्रसर उद्योग संचालक भीम पौडेलको कम्पनीका करिव २ सय ट्रिपरहरु अहिले सामान स्ट्रक गर्न यसरी रातारात परिचालन गरिएका छन् ।
रातारात खोलाबाट नदिजन्य स्रोत उत्खनन् र निकासी भएको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले ठेक्का लागेको खोलाबाट जुनसुकै समयमा पनि निकाल्न सक्ने तर आइइई नगरको ठाउँबाट उत्खनन् भने गर्न नपाइने बताउनुभयो । उहाँले अनुमति भएको ठाउँबाट दिउसै काम गर्न अवरोध नभएको अवस्थामा रातारात किन काम भयो त्यस विषयमा आफुले बुझ्ने बताउनुभएको छ । उहाँले हिजो गठन भएको छानविन समितिले प्रारम्भिक अनुगमन गर्दा अनियमितता प्रमाणित हुने संकेत फेला परेको सूचना पाएको जानकारी पनि दिनुभएको छ ।
प्राकृतिक श्रोतको चरम दोहनको बिषयमा अनुसंद्दान गर्न जिल्ला प्रशासन कार्यालय मोरङ्गले विहिवार दिउँसो नै छानबिन समिति गठन गरेको छ । तर अनियमितता गरिरहने छुट दिएर गरिने अनुसंद्दानप्रति विश्वास भने नरहेको स्थानीय सरोकारवालाहरुले बताएका छन् । उनीहरुले सात दिनभित्र गरिसक्नु पर्ने अनुसंद्दान एक महिना लामो अवधि राख्नु प्रजिअको कमजोरी मात्रै हुन नसक्ने आशंका गरेका छन् ।
यस बिषयमा इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरिक्षक दिपक यादवलाई किन प्रहरीले नरोकेको भन्ने प्रश्न गर्दा उहाँले गाउँपालिकाबाट बिकास निर्माणका लागि गिट्टी बालुवा निकाल्ने अनुमती दिईएको भनेर बिभिन्न ट्रिपर र स्काभेटरको नम्बर उपलब्ध गराएकोले सोही बमोजिम गरेको जानकारी दिनुभयो । यद्यपी निकालेको सामान क्रसर र क्रसर साहुहरुले विभिन्न ठाउँमा गरेको स्टक क्षेत्रमा निकासा भइरहेको छ ।