एमाले–माओवादी एकता : भ्यागुताको धार्नी - Pahilo Online

एमाले–माओवादी एकता : भ्यागुताको धार्नी

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन वैशाख ९ गते पार्टी एकताको घोषणा गर्ने तयारी गरेका दुई पार्टीले अब वैशाख २२ गते गर्ने बताएका छन्

writer

पहिलो अनलाइन

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया भ्यागुताको धार्नी जस्तै भएको छ । के विषयमा र के कारणले एकता रोकिएको भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन ।

यसअघि माओवादी र एमालेका नेताहरुले पार्टी एकताको घोषणा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन अर्थात वैशाख ९ गते गर्ने बताउँदै आएका थिए । तर, वैशाख ९ गते (आइतबार)का दिन पार्टी एकता नभएर पुनः एकताको अर्को कुनै विशेष दिन तोक्न नेताहरु तम्सिएका छन् । तर त्यो पनि ठोस सहमति हुन अझै सकेको छैन ।

शनिबार दिउँसो एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच लामो समयसम्म ‘वान टु वान’ वार्ता चलेको भएपनि ठोस सहमति हुन नसकेको बताइएको छ ।

दुवै पार्टीका अध्यक्षहरू दैनिकजसो एकताको गाँठो फुकाउन गोप्य वार्तामा बसिरहेका छन्। तर, एमाले र माओवादीका आ–आफ्नै ढिपीले गर्दा एकताको गाँठो फुक्न सकेको छैन।

नेताहरुले विश्व मजदुर दिवसको अवसर पारेर वैशाख २२ अर्थात मे ५ मा एकता घोषणा गर्न उपयुक्त हुने बताएका छन् । तर, ओली र प्रचण्डबीच सहमति नभएसम्म एकता कहिले गर्ने भन्न सकिने अवस्था छैन ।

शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् ।

माओवादीले समान हैसियतमा मात्र एकता हुन सक्ने बताएको छ भने एमालेले ५०/५० असम्भव बताएको छ । पछिल्लो समय प्रचण्डले एकतापछिको पहिलो महाधिवेशनबारे पनि प्रष्ट हुन चाहेका छन् । उनले एमाले अध्यक्ष ओलीसँग बैचारिक राजनीतिक विषयमा कसरी निर्णय गर्ने ? नेतृत्व चयनको मोडालिटी लगायतका विषयमा छलफल गरेका छन् ।

तर, एमाले नेताहरुले भने महाधिवेशनबाट नेतृत्व दिने लिखित सहमति गर्न नसकिने बताउन थालेका छन् । यसले प्रचण्डले यही अडान राखेको बुझिन्छ । यद्यपि माओवादी नेताहरु नेतृत्व दाबीबारे अहिले यसबारे खुलेर कुरा गर्न तयार छैनन् ।

बाहिर एउटा भित्र अर्कै कुरा

बाहिर तिर एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताइए पनि माथापच्चिको अन्तर्य अर्कै रहेको नेताहरू बताउँछन्। एकताका लागि दुवै दलका नेताहरू तयार छन् तर, एकतापछिको ‘पावर सेयरिङ’को विषय गोप्य वार्ताहरूमा पनि टुंगिन सकेको छैन। माओवादीले एकतापछिको संगठनमा बराबरी हैसियत हुनुपर्ने माग राख्दै महाधिवेशन पछिको अध्यक्ष पदका लागि बार्गेनिङ गरिहेको छ।

धेरै–थोरैको हैसियतमा पनि एकतामा जान तयार भएको माओवादीले महाधिवेशन पछिको पार्टी अध्यक्ष आफ्नो भागमा पर्नुपर्ने रटान माओवादीले लगाइरहेको छ। यसको सोझो अर्थ हो– माओवादी अध्यक्ष प्रचण्ड महाधिवेशनपछि एकीकृत पार्टीको अध्यक्ष बनेर संगठनमा आफ्नो प्रभुत्व जमाउन चाहान्छन्। प्रचण्डको योजनाका विषयमा एमाले नेताहरू पनि राम्रैसँग जानकार भएको बुझिन्छ। एमाले नेताहरूले अहिले नै माओवादीलाई लिखित रूपमा महाधिवेशन पछिको अध्यक्ष दिन नसकिने बताउँछन्।

‘प्रचण्डले एकतापछि आफ्नो सुरक्षा खोज्नु भएको हो, जुन गलत कुरा होइन,’ माओवादी नेता देवेन्द्र पौडेल भन्छन्,‘ओलीजीले पनि आफ्नो सुरक्षा खोज्नुभएकै छ।’ पौडेले पार्टी एकताको गाँठो एकता पछिको सांगठनिक अवस्था र महाधिवेशन पछिको अध्यक्षको विषयमा पुगेर अड्किएको बताउनु भयो।

एमाले नेताहरूले पनि माओवादीले महाधिवेशन पछिको अध्यक्ष पनि लिखित रूपमै मागेकोले एकताको प्रक्रिया अड्किएको बताउँछन्। ‘एमालेले हालसम्म अबलम्बन गर्दै आएका पद्धतीहरू छन्, जसलाई मिच्न मिल्दैन’, एमाले अध्यक्ष ओली निकट स्रोतले भन्यो, ‘महाधिवेशनपछि चुनावबाट अध्यक्ष हुने हो, अहिले नै कसैले लेखेर अध्यक्ष पाउने सम्भावना हुँदैन।’

एकताका लागि माओवादीबाट माग धेरै आएको एमाले निकट स्रोतहरू बताउँछन्। ‘माओवादीले माग्ने मात्र र एमालेले दिने मात्र भइरहेको छ,’ एमाले स्रोतले भन्यो, ‘एकता भइसकेपछि पनि माओवादीबाट सुरक्षित ठाउँ खोजेको जस्तो मात्रै देखिन्छ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes