नाम चलेका निजी स्कूलका विद्यार्थी सामुदायिकमा - Pahilo Online

नाम चलेका निजी स्कूलका विद्यार्थी सामुदायिकमा

डिपिएस र सेन्टजोसेफ छोड्दै विद्यार्थी

writer

पहिलो अनलाइन

विराटनगर । सामुदायिक विद्यालयले गुणस्तरमा सुधार गरेपछि र निजी विद्यालयको पठनपाठन पनि गुणस्तरीय नभएपछि विद्यार्थीहरु निजी स्कूलबाट सामुदायिकमा जाने क्रम बढेको छ ।

अन्य साधारण निजी विद्यालय मात्र नभएर विराटनगरमा नाम चलेका र महंगा स्कूलको रुपमा चिनिएका दिल्ली पब्लिक स्कूल(डिपीएस) र सेन्ट जोसेफ स्कूलका विद्यार्थी पनि धमाधम सामुदायिकमा भर्ना भइरहेका छन् ।

महङ्गो शुल्क लिएपनि पढाईको गुणस्तर राम्रो नपाएको भन्दै अभिभाबकहरुले ती निजी स्कूलबाट छोराछोरी निकालेर अंग्रेजी माध्यमबाट पठनपाठन हुने सामुदायिक स्कूलमा भर्ना गराइका छन् । उद्योग संगठन मोरङको पछाडि रहेको सेन्टजोसेफ र विशालचौकमा रहेको डिपिएसका धेरै विद्यार्थीहरुले यस पटक आदर्श, पोखरिया र सत्यनारायण स्कूलमा भर्ना हुन प्रवेश परीक्षा दिएका छन् ।

राम्रो शिक्षाका लागि महंगो शुल्क तिरेर बोर्डिङमा पढाउने अभिभावकहरु सामूदायिकतर्फ अंग्रेजी माध्यममा सञ्चालित स्कुलमा आकर्षित भएका हुन् । कक्षा ६ देखि १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेकोे पोखरिया उच्च माविमा २११ जनाको लागि मंगलबार लिएको प्रवेश परिक्षामा ४ सय ४५ विद्यार्थी सहभागी भए । उनीहरुमध्ये अधिकांश निजी विद्यालयका विद्यार्थी रहेको प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभयो । स्कूलमा सेन्ट जोफेससहित आसपासमा रहेका निजी विद्यालयका विद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् ।

पोखरिमा कक्षा ६ मा ३५ सिटको लागि ५०, कक्षा ७ मा ४६ सिटको लागि १ सय, कक्षा ८ मा ६० सिटको लागि १ सय ४६ र कक्षा ९ मा ७० सिटको लागि १ सय ४९ जनाले प्रवेश परीक्षा दिएको विद्यालयले जनाएको छ । एसईई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन थालेपछि सो विद्यालयमा निजी विद्यालय छाडेर भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ्न थालेको छ ।

‘नाम चलेका निजी विद्यालय छाडेर विद्यार्थी अंग्रेजी माध्यमबाट पढाइ हुने सरकारी विद्यालयमा भर्ना हुन आउँदा हामी पनि अच्चमा परेका छौं,’ पोखरीया स्कूलका एक शिक्षकले भने, ‘गुणस्तर हेरेरै विद्यार्थीलेै सामुदायिक स्कूलमा रोजेका हुन् ।’ पोखरियामा प्रवेश परीक्षा दिएका सेन्ट जोफेस र दिल्ली पब्लिक स्कूलका केही विद्यार्थीले भने प्रवेश परीक्षा नै अनुत्तीर्ण गरेको पाइएको छ ।

अरुको घरमा काम गरेर छोरीलाई महंगो शुल्क तिरेर पढाउँदै आएकी विराटनगर–३ की निरादेवी उराँवले सस्तो शुल्कमा गुणस्तरीय पढाइका लागि पोखरिया स्कूलमा छोरीलाई भर्ना गराउन आएको बताउनुभयो । पढाई र स्कुलको नतिजा बोर्डिङ भन्दा राम्रो भएकाले आफुले छोरीको भर्ना गराउन आएको उहाँको भनाइ छ ।

पोखरिया उच्च माविमा कक्षा १ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यममा पढाइ हुने गरेको छ । विद्यालयले अतिरिक्त शिक्षा र भौतिक संरचनाको लागि अभिभावकसँग सहयोग स्वरुप अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीसँग कक्षा ६ देखि ८ सम्म बार्षिक १० हजार र ९ देखि १२ सम्म १२ हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

नगरभित्र पोखरियासँगै राधाकृष्ण, सत्यनारायण र आदर्श मावि र सरस्वती मावि र गोग्राहा माविले समेत अंग्रेजी माध्यममा अध्यापन सुरु गरेका छन् । अंग्रेजी भाषा राम्रो जान्नेलाई रोजगारीको अवसर बढी हुने भएकाले त्यसतर्फ आकर्षण बढेको मोरङका जिल्ला शिक्षा अधिकारी दीनानाथ पुरीले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes