तीन वर्षमा प्रदेशबाट विधुत निर्यात हुने - Pahilo Online

तीन वर्षमा प्रदेशबाट विधुत निर्यात हुने

६ सय ५२ मेगावाट विधुत उत्पादन गर्ने आयोजनाको निर्माण जारी

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश १ मा १० हजार मेघावाट विधुत उत्पादनको संभावना भएपनि आगामी ३ वर्षभित्र ६ सय ५२ मेगावाट उत्पादन हुने देखिएको छ ।

सरकारी प्रयास प्रभाबकारी नभइरहेको बेला ३ वर्षमा ६ सय ५२ मेगावाट विधुत उत्पादन गर्ने लक्ष्यसहित निजी क्षेत्रले काम अघि बढाएका हुन् ।

प्रदेश नम्बर १ अन्तर्गत १४ जिल्लामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेका विद्युत आयोजनाबाट हाल १ सय २ मेगावाट मात्र विधुत उत्पादन भइरहेको छ । त्यसमध्ये केन्द्रीय प्रशारण लाइनमा भने पुवाखोलाको ३ मेगावाट र काबेली करिडोर तथा संखुवासभाको तिरतिरेबाट २७ मेगावाट विधुत मात्रै जोडिएको छ । प्रदेशमा अहिले विधुतको माग भने दैनिक २ सय मेगावाट छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यालयले गठन गरेको विज्ञहरुको समितिले हालै तयार परेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८÷७९ भित्र ६ सय ५२ दशमलव ०६ मेगावाट विद्युत उत्पादनको काम भइरहेको छ । साना र ठूला आयोजनाबाट ६ सय ५२ मेगावाट बिजुली उत्पादन भएमा प्रदेश १ ले आफूले विधुत खपत गरेर बाँकी करिब ४ सय मेगावाट बिजुली अन्य प्रदेशलाई बिक्री गर्न पनि सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश १ मा हाल सोलु कोरिडोरअन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरबाट ३ सय २५ मेगावाट विधुत उत्पादनको काम अघि बढेको छ । यसैगरी कोशी कोरिडोरअन्तर्गत भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, सुनसरी र मोरङबाट १ सय ४० दशमलव ०७ मेगावाट तथा काबेली कोरिडोरअन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम र झापाबाट १ सय ८६ मेगावाट बिजुली उत्पादनको काम अघि बढिरहेको छ ।

प्रदेशमा ३ हजार ७ सय २२ दशमलव १७ मेगावाट क्षमताका विभिन्न विद्युत आयोजनाको सर्भेसमेत भइरहेको छ । कोशी कोरिडोरबाट १ हजार ७ सय २७ दशमलव ९ मेगावाट, काबेली कोरिडोरबाट १ हजार १ सय ७३ मेगावाट र सोलु कोरिडोरबाट ८ सय २१ दशमलव २७ मेगावाटका क्षमताका विभिन्न आयोजनाहरुमा सर्भेको काम जारी छ ।

प्रदेशमा हाल पिलुवा, तल्लो पिलुवा, सभाखोला, पुवाखोला, माइखोला, सानिमा क्यास्केट, अपर माई अपर, माई क्यास्केट, जोगमाई, अपर पुवा, हेवाखोला, खोराङ खोला, फावा खोला, चतरा उत्पादन केन्द्रबाट १ सय २ दशमलव ६ मेगावाट विधुत उत्पादन भइरहेको छ । प्रदेशमा रहेका आयोजनामध्ये ३ मेघावाट क्षमताको चतरा भने बन्द छ ।

प्रदेशका १४ जिल्लासहित पूर्वाञ्चलका लागि विधुतको माग धान्न हाल भारतबाट १ सय ३५ मेगावाट विधुत आपूर्ति भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes