विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल भएको विश्लेषण सुरु भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई लिएर कतिपय संचारमाध्याममा चर्चा भएका छन् । नेपालका मूलधारका मिडियाको प्रारम्भीक समिक्षा र विश्लेषणमा पनि ओलीको भ्रमण सफल भएको बताइएको छ । भारत सरकारको उच्च पदस्थ अधिकारीबाट आएका अभिव्यक्ति, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धको विषयमा गरेको टिप्पणीले पनि मुलतः यस पटकको भारत भ्रमण नेपालका लागि फलदायी हुने विश्वास गर्न सकिन्छ ।
विशेषगरी नेपालका प्रधानमन्त्री केपी ओलीले भन्दै आएको सुलुलु कुद्ने रेलको कुरा होस् या हिन्द महासागरमा नेपाली पानी जहाज कुदाउने भाषण हुन् । तीनलाई ओली आफैंले साकार पार्ने गरी भारत सरकारसँग सम्झौता गरेका छन् । त्यति मात्रै होइन ओलीले नेपालको कृषि प्रणालीको विकास, विद्युत् उत्पादनमा ठूलो लगानी भित्र्याउने गरी भएको प्रयास सह्रानीय छन् ।
रेलबारे सम्झौता
सम्झौता अनुसार रक्सौलबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणका लागि तत्कालै प्रारम्भिक सर्वे गरिसक्ने मोडालिटी तय गरिएको छ ।
यो परियोजनाको आर्थिक पक्ष र मोडालिटी भने विस्तृत परियोजना प्रतिवेदन आएपछि मात्रै तय गरिने भएको छ ।
त्यसबाहेक जनकपुर–जयनरग रेल्वे र जोगबनी–बिराटनगर रेल्वे सन् २०१८ भित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने सहमति पनि महत्वपूर्ण छ ।
यी आयोजनाका लिंक रेल्वेलाइनका रुपमा रहेका जयनगर–बिजलपुरा–बर्दिबास रेल्वेलाइनलाई पनि प्राथमिकतामा राखिने भएको छ । यी आयोजनामा देखिएका जग्गा प्राप्तिका समस्यालाई छिट्टै समाधान गर्ने सरकार सहमति भएको छ ।
यस्तै न्यु जल्पाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल्वे लिंकको सर्वे छिटो सकेर निर्माणमा जाने समझदारी पनि भएको छ । यो सम्झौता भूराजनीतिक हिसावले पनि निकै महत्वपूर्ण हुने विश्लेषकहरु बताउँछन् ।
हिन्दमहासागरमा नेपालको पानी जहाज
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएको अर्को महत्वपूर्ण समझदारी भनेको दुई देशबीच अन्तर्देशीय जलमार्ग विकास गर्न रहेको छ ।
जलमार्ग भएर नेपाल र भारतबीच सामान ओसार पसार गर्न सकिने कुरामा दुई देशका प्रधानमन्त्री सहमत भएका छन् ।
अन्तर्देशीय जलमार्गका विषयमा दुई देशका प्रधानमन्त्रीले ऐतिहासिक निर्णय लिएको भन्दै समझदारीपत्रमा व्यापार तथा पारवहन व्यवस्थाको अधीनमा रहेर दुई देशमा सामान ओसार पसार गर्न अन्तर्देशीय जलमार्गको विकास गर्ने उल्लेख गरिएको छ ।
अन्तर्देशीय जलमार्गको व्यवस्थाले नेपाललाई समुद्रसम्मको पहुँच दिने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । यसले सामान ओसारपसारमा सहज हुनुका साथै लागतसमेत घटाउनेछ ।
दुई देशका प्रधानमन्त्रीले अन्तर्देशीय जलमार्गलाई पारवहनको अतिरिक्त साधनको रुपमा नेपाल र भारतबीचको पारवहन सन्धीमा समावेश गर्न पनि सहमत भएका छन् । त्यसका लागि आवश्यक प्रक्रिया र मोडालिटी तयार गर्न दुबै प्रधानमन्त्रीले आफ्ना देशका सम्बन्धित अधिकारीलाई निर्देशन दिने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ ।
पाइपलाइन र एकीकृत भन्सार
लिखित तीन सम्झौताबाहेक ओलीको भारत भ्रमणमा भएको अर्को काम भनेको मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन हो । ओली र मोदी दुबैले गरेको यो पाइपलाइनको शिलान्यासको विषयलाई १२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
त्यसैगरी वीरगञ्जमा भारतले बनाएको एकीकृत भन्सार जाँच चौकी मोदीले औपचारिकरुपमा नेपाललाई हस्तान्तरण गरेका छन्, जुन ओलीको भारत भ्रमणको अर्को उपलब्धि हो ।
महाकाली र अरुण तेस्रोदेखि उच्च कोशीबाँधसम्म
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला महाकालीको पञ्चेश्वर परियोजना, अरुण–३ र उच्च कोशी बाँधका विषयमा कुनै बेग्लै सम्झौता भएन । ओली र मोदीको भेटमा जलपरियोजनाबारे कुनै पनि लिखित सम्झौता भएन । यसबारे संयुक्त वक्तव्यमा पनि केही उल्लेख गरिएन ।
तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मौखिक मन्तव्यमा नेपालका प्रधानमन्त्री ओलीसँग मिलेर जल संशाधन र उर्जा सम्बन्धी प्रोजेक्टहरुको पनि रिभ्यु गरेको बताएका छन् । उनले अरुण–३, पञ्चेश्वर र सप्तकोशी सुनकोशी जस्ता परियोजनाहरुको काममा गति बढाउनेबारे सहमत भएको बताए ।
भारतीय प्रधानमन्त्रीको यो भनाइले अरुण तेस्रोको शिलान्यास नगरिए पनि यसबारे ओलीसँग छलफल भएको देखिन्छ । त्यसैगरी पञ्चेश्वरबारे पनि कुरा भएको भनिएता पनि यसलाई कार्यान्वयन गर्नेबारे भारतीय प्रतिवद्धता संयुक्त वक्तव्यमा आएको देखिँदैन ।
ओलीको भारत भ्रमणका क्रममा भएको १२ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठ)
Joint Statement during the State Visit of Prime Minister of Nepal to India