मोदीको भाषण : ओलीको बोल्ड भिजन जानकारी भयो - Pahilo Online

मोदीको भाषण : ओलीको बोल्ड भिजन जानकारी भयो

सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ । म मान्दछु कि यो एउटा ऐतिहासिक सुरुवात हो । नेपाल ल्याण्ड लक होइन, वाटर लिंक पनि हुनेछ

writer

पहिलो अनलाइन

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्दा सुरु र अन्तिममा नेपाली भाषासमेत प्रयोग गरे । बाँकी समय हिन्दीमा बोलेका मोदीले केपी ओली र आफ्नो विकास अभियानसम्बन्धी भिजन एकै प्रकारको रहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देशलाई सागरसँग जोडिने बताए । त्यसैगरी काठमाडौंलाई रेलले भारतसँग जोड्नेसमेत बताए ।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले गरेको सम्वोधनको नेपाली अनुवाद यस्तो छः

भारतको छिमेकी र मित्रराष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, भ्रमण दलका माननीय

सदस्यहरु, तथा उपस्थित मिडियाका प्रतिनिधिहरु,

तपाईहरु सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुशी लाग्दैछ ।

प्रधानमन्त्री ओलीजीको यो भारत यात्रा नेपालमा हालै सम्पन्न ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको पृष्ठभूमिमा भइरहेको छ । गतवर्ष नेपालका जनताले लोकतन्त्र एवं संघीय व्यवस्थामा विश्वास जनाए ।

स्थानीय निकाय, प्रान्त र संघीय संसदको चुनावको सफल आयोजन नेपालको सरकार र नेपाली जनताका तर्फबाट ठूलो उपलब्धि हो । र, सन् २००६ मा सुरु भएको परिवर्तनको यो उत्कर्ष हो । यसका लागि म नेपालका जनता र सरकार दुबैलाई हृदयदेखि नै अभिनन्दन गर्छु । र, धेरै धेरै बधाइ दिन्छु ।

नेपालले अब राजनीतिक इतिहासको एक नयाँ युगमा प्रवेश गरेको छ । एक छिमेकी मित्र देशको नाताले एवं विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रुपमा नेपालको इतिहासको यो स्वर्णिम अध्यायको शुभारम्भ भारतमा हाम्रा लागि हर्षको विषय हो ।

साथीहरु, हिजो र आजको हाम्रो कुराकानीमा प्रधानमन्त्री ओलीजीले नेपालको तीव्र आर्थिक विकास एवं समावेशी समाजको निर्माणका लागि आफ्नो बोल्ड भिजनका बारेमा मलाई विस्तारमा जानकारी दिनुभयो ।

हामीले यो विषयमाथि पनि चर्चा गर्‍यौं कि यस भिजनलाई साकार पार्नका लागि भारत नेपाल सरकारका साथ कुन प्रकारले भागिदार बन्न सक्छ ? म सम्झन्छु कि भारतको विकासका लागि मेरो सच्चा साथ सच्चा विकासको मुल मन्त्र हो । र, नेपालका लागि प्रधानमन्त्री ओलीजीको समृद्ध नेपाल सुखी नेपालीको अभियान एक दोस्रोका पूरक हुन् । यसका लागि हामी दुबै पूर्णतः सहमत छौं कि हामी जनकेन्द्रित भिजन, विकासको साझा लक्ष र दुबै देशका जनताको सुख शान्ति एवं अपेक्षाहरुलाई साथमा लिएर अघि बढ्नुछ ।

साथीहरु,

नेपालको विकासमा भारतको भागिदारीको धेरै लामो इतिहास छ । मैले प्रधानमन्त्री ओलीजीलाई भरोसा दिलाएको छु कि नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारतले अगाडि पनि उहाँका साथ पूरै तरह सहयोग गरिरहन्छ । हमेसातरह यो सहयोग भविश्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकताहरु र आवश्यकतामा आधारित हुनेछ ।

सहयोगप्रति हाम्रो प्रतिवद्धताको एक महत्वपूर्ण परिणाम ‘इन ल्याण्ड वाटर ब्रिज’मा सहयोगको निर्णय हो । हाम्रो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ । र, सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ । म मान्दछु कि यो एउटा ऐतिहासिक सुरुवात हो । नेपाल ल्याण्ड लक होइन, वाटर लिंक पनि हुनेछ ।

यसैप्रकार रेल्वेमा पनि हामी कनेक्टिभिटी बढाउन चाहन्छौं । र, यसका लागि काठमाडौंदेखि भारतलाई जोड्ने एक नयाँ रेल लाइनलाई संंयुक्तरुपमा विकसित गर्नेबारेमा पनि हाम्रो सहमति बनेको छ ।

कनेक्टिभिटीको एक आयाम व्यापार र मानिसहरुको आवगमनको इन्फास्क्ट्रचरसँग जोडिएको हुन्छ । केही समय पहिले हामीले वीरगञ्ज रक्सोल एकीकृत चेकपोष्टको उदघाटन गर्‍यौं । यो आइसीपी भारत र नेपालको शदियौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्धको नयाँ राजमार्ग बन्नेछ ।

आजको हाम्रो कुराकानीमा हामीले कनेक्टिभिटीका सबै प्रोजेक्टहरुमा प्रगतिको रिभ्यु गर्‍यौं । तेल पाइपलाइन होस् वा एकीकृत चेकपोष्ट होस्, या फेरि तराई रोड (हुलाकी सडक), यसप्रकारका सबै कनेक्टिभिटी प्रोजेक्टहरुलाई हर सम्भव गतिदिनेबारे हामी दुबै सहमत छौं ।

साथीहरु,

भारत र नेपाल दुबै कृषिप्रधान देश हुन् । यसका लागि हामी हामीले कृषिको क्षेत्रमा एक नयाँ भागिदारीको सुरुवात गरेका छौं । यो भागिदारीबाट अग्र्यानिक फार्मिङ, पशुपालन, माटो परीक्षण, कृषि अनुसन्धान एवं कृषि शिक्षाजस्ता विषयहरुमाथि हामीले आफ्नो सहयोग बढाउनेछौं । मलाई खुशी लागेको छ कि आफ्नो बहुमूल्य समय निकालेर प्रधानमन्त्रीजी भोलि पन्तनगरस्थित कृषि विश्वविद्यालय जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीजीको साथमा मिलेर मैले जल संशाधन र उर्जा सम्बन्धी प्रोजेक्टहरुको पनि रिभ्यु गरें ।

हामी दुबै अरुण–३, पञ्चेश्वर र सप्तकोशी सुनकोशी जस्ता परियोजनाहरुको काममा गति बढाउनेबारे सहमत छौं ।

साथीहरु,

भारत र नेपालका वीच रक्षा र सुरक्षाका विषयमा धेरै गहन सम्बन्ध छ । हामी दुबै आफ्ना खुल्ला सीमाको दुरुपयोगलाई रोक्ने र हाम्रा साझा सुरक्षा हितहरुलाई अगाडि बढाउनेबारे सहमत छौं ।

दुबै देशका वीचमा ओपन बोर्डर दुबै देशका सामान्य मानिसहरुका वीच एक लिभिङ ब्रिज रहेको छ । रामायण एवं बुद्ध सर्किटको विकास तथा सीप विकास, शिक्षा, स्वास्थ्य आदि जनकेन्द्रित क्षेत्रमा पनि हामी सहयोग बढाउनेछौं । यसबाट हाम्रो दुबै देशका वीच पारम्परिक सम्बन्ध अरु प्रगाढ हुनेछ ।

मलाई विश्वास छ आज हामीले जुन ऐतिहासिक कहल गरेका छौं, यसबाट दुबै देशको विकासको हाम्रो भिजनलाई साकार गर्नमा महत्वपूर्ण योगदान हुनेछ ।

साथीहरु,

नेपालको संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउनमा दुबै देशको आपसी सहयोग, विचार विमर्श र अनुभवको आदान प्रदानको महत्वपूर्ण भूमिका हुन सक्छ ।

म एकपटक फेरि प्रधानमन्त्री केपी ओलीजी, उहाँकी धर्मपत्नी र पूरै डेलिगेसनलाई भारतमा हार्दिक स्वागत गर्छु र यो पनि चाहन्छु कि फेरि भेट होला । धेरैधेरै धन्यवाद ।

नाकाबन्दीपछि फेरिए मोदी !

ओली र मोदीबीच दुइपटक वान टु वान वार्ता भयो, वार्तामा भएका केही कुरा ओलीले आफ्ना निकट सहयोहीसँग शेयर गरेका आधारमा यति बुझ्न् सकिन्छ कि मोदीले नाकाबन्दीपछिको अवस्था महसुस गरेका छन् ।

अब नेपालमा स्थिर सरकार बनेको भन्दै मोदीले ओलीसग मनैदेखी सहकार्य गर्न इच्छुक रहेको प्रष्ट पारेका छन् । मोदीसँगको वार्तापछि ओली पनि उत्साहित देखिएका छन् । उनी उत्साहित हुनुको अर्को कारण के पनि हो भने यसपटक परम्पराको निरन्तरतामा क्रमभंग गर्न उनी सफल भएका छन् ।

पहिलो पटक नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको आन्तरिक राजनीतिक मामिलामा छलफल र वक्तव्यमा परेन । जनमतको हिसाबले मोदीले आफूजस्तै शक्तिशाली प्रधानमन्त्री बनेका ओलीलाई खुसी पार्न यसपटक कति पनि कन्जुस्याइँ गरेनन् ।

संयुक्त पत्रकार सम्मेलनमा पनि त्यो खुसी र प्रसन्नता प्रकट भयो । मोदीले ओली र आफ्नो नारा अब एउटै भएको भन्नू अर्थपूर्ण छ । कुनै नयाँ र विवादास्पद सम्झौता नगरी ओलीले भ्रमणलाई सद्भाव विस्तार गर्नेमा सीमित पारेका छन् ।

शुरु र अन्तमा नेपाली बोल्नु र ओलीलाई दिल्लीमा स्वागत गर्दा नेपाली भाषामै ट्विट गरेर मोदीले आफुप्रती नकारात्मक रहेको नेपाली मन पुन जित्न खोजेको बुझ्न सकिन्छ ।

अनलाइनखबरबाट साभार

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes