कम उमेरमै गर्भवती हुने अत्यधिक - Pahilo Online

कम उमेरमै गर्भवती हुने अत्यधिक

जनचेतनाको कमी, पारिवारको दबाबपूर्ण इच्छा र ९/१० कक्षा पढ्दापढ्दै हुने प्रेम विवाहले कम उमेरमै गर्भवती हुँदै महिला

writer

पहिलो अनलाइन

विराटनगर । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांकमा २० वर्ष उमेर नपुग्दै धेरै युवतीहरू गर्भवती हुने गरेको देखिएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा २४ दशमलव ५९ प्रतिशत गर्भवती महिला २० वर्ष मुनिका थिए । यो तथ्यांकमा केही कमी आउँदा आर्थिक वर्ष २०७३/०७४ मा पनि २० वर्ष मुनिका गर्भवती महिलाको संख्या २१.३३ प्रतिशत रहेको थियो ।

कम उमेरमा गर्भवती हुनेहरुको दर बढेर चालू आर्थिक वर्षको असोज मसान्तसम्म भएका गर्भवती महिलाको संख्या पुनः २४.३१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ७२÷७३ मा २९ हजार ८६ जना गर्भवती महिलामध्ये २० वर्ष मुनिकाको संख्या ७ हजार १ सय ५४ थियो । गत आर्थिक वर्षमा भने २८ हजार ८ सय ४९ जना गर्भवती महिलामध्ये ६ हजार १ सय ६५ जना महिला २० वर्ष मुनिका थिए भने चालू आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ५ हजार ४ सय १ जना गर्भवती महिला मध्ये १ हजार २ सय १३ जना महिला २० वर्ष मुनिका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक शाखाका कर्मचारी दीपक भट्टराईका अनुसार यो तथ्यांक मोरङका सबै स्वास्थ्य संस्थामा पहिलो पटक चेकजाँचमा आएका गर्भवती महिलाको हो । स्वास्थ्य संस्थाको पहुँचमा नआइ गर्भवती हुने र सुत्केरी गराउनेको तथ्यांक भने यसमा छैन ।

कम उमेरमा गर्भवती हुनुमा जनचेतनाको कमी, पारिवारको इच्छापूर्ण दबाब, सानै उमेरमा प्रेम गरेर भागी विवाह गर्नु र जबर्जस्ती विवाह गराइदिनु नै रहेको जानकार बताउँछन् । सरकारले छोराको उमेर २२ र छोरीको उमेर २० वर्ष कटेपछि गरेको विवाहलाई परिपक्व विवाह मान्दै आएको छ । यद्यपि विगत ३ वर्षको तथ्यांक हेर्दा यो अवस्था घटेको देखिएको छैन ।

कम्तीमा २० वर्ष उमेर पुरा नभई गर्भवती भए उनीहरूमा यौनजन्य समस्या वा जटिलता देखा पर्ने गरेको बरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.बालकृष्ण साहको भनाइ छ । आफू चिकित्सकको रूपमा काम गर्दा २० वर्ष नभई गर्भवती हुँदा आइपरेका जटिल समस्या देखेको बताउँदै उहाँले उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, महिलामा पाठेघरको क्यान्सर र आङ खस्ने समस्या तथा कम तौलका बच्चाको जन्म हुने र आमालाई उच्च रक्तचापको समस्या हुने गरेको जानकारी दिनुभयो ।

‘डेमोग्राफी एन्ड हेल्थ सर्भे–२०११’ ले प्रकाशन गरेको तथ्यांक अनुसार विश्वभर औसत महिलाको विवाह १७ दशमलव ५ वर्षमा हुने गरेको छ । ७१ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १९ वर्ष नपुग्दै हुने गरेको छ । २०१६ को तथ्यांकअनुसार औसत महिलाको विवाह गर्ने उमेर १७ दशमलव ९ वर्ष छ भने ५२ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १८ वर्ष नपुग्दै हुने गरेको छ । ११ प्रतिशत किशोरीले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क गरिसकेका हुन्छन् ।

विश्वका १० लाख किशोरी १५ वर्षमै आमा
कम उमेरमा विवाह गर्दा पढाइ बिग्रने वा क्यारियर छताछुल्ल हुने मात्र हैन, पारिवारिक झमेला सुरु हुन्छ । यसबाट अध्ययन र बौद्धिक विकास रोकिन्छ अनि आर्थिक समस्याले घेरा हाल्न थाल्छन् ।

आर्थिक, समाजिक समस्याले गर्दा किशोरीले आफ्ना प्रगति, सपना अनि रहरलाई निमोठ्नुपर्ने त हुन्छ नै स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्छ । नेपाली समाजमा बिहेसँगै बच्चा जोडिएको हुन्छ । कम उमेरमा विवाह गर्दा बच्चा पनि चाँडै हुन्छ ।

विश्व स्वास्थ्य संघ (डब्लुएचओ) ले प्रकाशन गरेको सन् २०१४ को तथ्यांक अनुसार १ करोड ६० लाख किशोरी (१५ देखि १९ वर्षका) वर्षेनी गर्भवती हुने गरेका छन् । यसैगरी १० लाख किशोरी १५ वर्षमै आमा बन्ने गर्छन् ।

यी गर्भवतीमध्ये ९५ प्रतिशत कम तथा मध्यम आय भएका मुलुकका हुने गरेको छ । सोही तथ्यांकले १५ देखि १९ वर्षका किशोरीमा मृत्युको दोस्रो प्रमुख कारण गर्भको जटिलता र प्रसव नै रहने गरेको देखाएको छ । करिब ३० लाख किशोरीले वर्षेनी असुरक्षित गर्भपतन गराउने गरेको तथ्य पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes