गृहमन्त्री थापा एक्सनमा उत्रिए - Pahilo Online

गृहमन्त्री थापा एक्सनमा उत्रिए

नेताका सवारी चालक र पिएसओ रहेका प्रहरी फिर्ता

writer

पहिलो अनलाइन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विशिष्ट व्यक्तिको सुरक्षाका लागि भन्दै खटिएका अनावश्यक प्रहरी र अर्दली फिर्ता गर्नुभएको छ ।

प्रहरी जनशक्तिको दुरुपयोग भइरहेको पाएपछि गृहमन्त्रीले अनावश्यक रुपमा र कुनै निर्णयविना खटाइएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिनुभएको थियो ।

गृहमन्त्री थापाको निर्देशनपछि मंगलबारसम्म ६३ सुरक्षाकर्मी फिर्ता गरिएको छ। फिर्ता हुनेहरुमा ५६ जना पिएसओ र ७ जना सवारी चालक प्रहरी रहेका छन्। प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार अनावश्यक रूपमा नेताकोमा प्रहरीका गाडी चालक फिर्ता हुने क्रम जारी रहेको छ । पूर्वमन्त्री र नेताहरूले लिएका चालकलाई फिर्ता बोलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्वमन्त्री, सचिवलाई दिँदै आइएको सवारी चालक र सुरक्षाकर्मी फिर्ता बोलाइएको हो। प्रहरी स्रोतका अनुसार कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी लगायत नेता तथा पूर्वसचिवका चालक फिर्ता गरिएको छ।

गृह मन्त्रालयसँग कति सुरक्षाकर्मी र अर्दली भिआइपीको लागि खटाइएको रेकर्ड छैन। लिखित स्वीकृति नलिइ भिआइपीका सुरक्षामा पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) खटिएकोल गृह मन्त्रालयसँग को कहाँ कसका लागि खटिएको यकिन विवरण छैन। यद्यपी यसरी करिब ५ हजार प्रहरी खटिएको अनुमान छ ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री र सरकारी कर्मचारीले आफू अनुकूलका पिएसओ माग गर्ने चलन छ। जसको लिखित रेकर्ड राख्ने गरिएको छैन। मौखिक आधारमा नै पिएसओ राख्ने गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सह–सचिव रामकृष्ण सुवेदीले बताउनुभयो ।
भिआइपीको सुरक्षामा खटिएका पिएसओ र अर्दली केही समयका लागि तोकिए पनि वर्षौँसम्म फर्किँदैनन्। नेतादेखि कर्मचारीका गाडी चालक समेत सुरक्षाकर्मी रहेका छन्। पूर्वराष्ट्रपतिदेखि वर्तमान मन्त्रीसम्मका ड्राइभरमा प्रहरी कर्मचारी छन्। पूर्वसांसददेखि, केन्द्रमा दखल राख्ने स्थानीय नेताले समेत प्रहरीलाई ड्राइभर बनाएका छन्।
गृहमन्त्री थापाले सोमबार सार्वजनिक ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने घोषणा गर्नुभएको छ । पूर्वमन्त्री, प्रहरी र कर्मचारीको घरमा खटिएका अर्दलीलाई फिर्ता बोलाउने तयारीमा गृह मन्त्रालय छ।

सुरक्षाकर्मीलाई अर्दलीको रूपमा खटाएर दुरुपयोग गर्ने क्रम बढेकाले फिर्ता बोलाउने तयारी गरिएको हो । भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। निजामतिबाट चालक व्यवस्था गर्नुपर्ने नियम भएपनि प्रहरी नै चालकको रुपमा खटिएका छन्।

राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्र होइन पूर्वसांसददेखि उच्च ओहोदाका सरकारी कर्मचारीले पनि प्रहरीलाई नै सवारी चालक बनाएका छन्।

प्रहरी चालक कहाँ–कहाँ छन् ?
राष्ट्रपति विद्यादेवी भण्डारी– ४ जना
उपराष्ट्रपति नन्दबहादुर पुन– ५ जना
शेरबहादुर देउवा– ४ जना
केपी ओली– ४ जना
पुष्पकमल दाहाल– ३ जना
बाबुराम भट्टराई– ३ जना
पूर्वमन्त्रीहरु गगन थापा, रमेश लेखक, राम कार्की, शक्तिबहादुर बस्नेत, शंकर भण्डारी, ईश्वर पोखरेल, भीम रावल, खुमबहादुर खड्का, दीपक गिरी, अर्जुननरसिंह केसी– १/१ जना
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, कांग्रेस नेता रामहरि खतिवडा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ– १÷१ जना
गृहमा कार्यरत १२ कर्मचारी– १/१ जना

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes