अब राती पनि सडक निर्माण - Pahilo Online

अब राती पनि सडक निर्माण

विराटनगरको रोडशेषदेखि बरगाछीसम्मको सडक अबको १ महिनाभित्र ९ मिटर चौडा कालोपत्रे भइसक्ने

writer

विराटनगर । रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणको काम तीब्र पार्न प्रदेश सरकारले राती पनि काम गराउने तयारी गरेको छ ।

मन्त्रीपरिषदको बैठकले उक्त सडक निर्माण तिब्र पार्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेको थियो । उक्त समितिले सोमबार सडकको अनुगमन गर्दै सडक निर्माणलाई तीब्रता दिन रातको समयमा पनि काम गर्न सकिने भए तत्काल सुरु गर्न सम्बन्धीत निकायको ध्यान आकर्षण गरेको छ ।

अनुगमन टोलीमा सहभागी १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सडक निर्माणमा भइरहेको समस्याको विषयमा जानकारी लिएर आवश्यक पहलकदमी लिइने जानकारी दिनुभयो । ‘हामीले सडक निर्माणको अवस्था कस्तो छ, अवरोध भएका ठाउँमा के गर्दा समस्या समाधान हुन्छ भन्ने विषयमा जानकारी लिएका छौं,’ मुख्यमन्त्री राईले भने, ‘बजेट निकासालगायतका समस्या समाधान गर्न र केन्द्र सरकारसँग आवश्यक पहल गरेर काम अघि बढाउन हामी तत्काल काम थाल्नेछौं ।’

पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकका क्षेत्रीय निर्देशक दीपककुमार भट्टराईले ठेक्कामा लागेका सडक निर्माणमा समयमै रकम निकासा नहुँदा समस्या भएको बताए । उनले अझै पनि ४० देखि ४५ करोड रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको जानकारी मुख्यमन्त्रीसहितको टोलीलाई जानकारी दिए । ‘बजेट निकासा नहुँदा निर्माण प्रभावित भएको छ,’ भट्टराईले भने, ‘अब पनि बजेट निकासा ढिलो हुने हो भने काम रोकिनसक्ने देखिएको छ ।’

विराटनगरको रानीदेखि अनुगमन सुरु गरेको टोलीले सुनसरीको चतरासम्म भइरहेको कामको जानकारी लिएको छ । अनुगमनपछि निर्माण व्यवसायीसँग कुरा गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समस्या पहिचान गरि छिट्टै काम अघि बढाउने बताउनु भयो । ‘एक दुई दिनमा सबैपक्षसँग हामी थप बसेर कुराकानी गर्छौं,’ मन्त्री कार्कीले भन्नुभयो, ‘त्यसपछि काम द्रुततर गतिमा अगाडि बढाउनु पर्छ ।’

क्षेत्रीय सडक निर्देशनालयका अनुसार रानीदेखि धरानसम्मको ६ लेन सडक निर्माण सम्पन्न गर्नका लागि १० अर्ब ९६ करोड बजेट लाग्ने अनुमान गरिएको छ । उक्त बजेट अनुसार ७ अर्ब बराबरको कामको ठेक्का लागिसकेको छ । भने ठेक्कामा लागेको रकमको ३८ प्रतिशत बजेटसमेत खर्च भइसकेको छ ।

समस्या धेरै छन् सिक्स लेनमा

निर्माणाधीन रानी–विराटनगर–इटहरी–धरान सडक योजना समस्याग्रस्त छ । निर्माण प्रक्रिया सुरु भएको ४ वर्षसम्ममा ४९ किलोमिटर सडकमध्ये ३३ किलोमिटर सडकको ठेक्का लागेको छ । १६ किलोमिटर क्षेत्रमा भने विभिन्न समस्याका कारण ठक्का लाग्नसमेत सकेको छैन । २०७६ सम्ममा निर्माण सक्नुपर्ने ६ लेन (५० मिटर)सडक निर्माणको काम यही पाराले नसकिने देखिएको छ । बरु समस्या समाधान गर्नका लागि मन्त्रीपरिषद्बाटै केही निर्णय गर्नुपर्ने देखिएको छ ।

दुहबीको बजार क्षेत्रमा सडक विस्तार, इटहरीदेखि खनारसम्मको टेंग्रा खोलाको व्यवस्थापन, विराटनगर बजार क्षेत्रमा ५० मिटर चौडा गर्नुपर्ने सडकको जमिन अभावजस्ता जटिल समस्याले निर्माणकार्य प्रभावित भइरहेको छ ।

जटिल समस्या दुहबी बजार

सडकको जग्गा ६ लेनको बनाउन ५० मिटर चौडा हुनुपर्छ । तर, दुहबी बजार क्षेत्रमा ५० मिटरबाट घटाएर यसअघि नै १७ मिटरमा झारिएको पाइएको छ । अन्य क्षेत्रमा सडक हडपेर बनेका घर भत्काउन सजिलै भयो तर दुहबीको घर भत्काउन पनि अधिग्रहण गर्नुपर्ने आयोजनालाई बाध्यता परेको छ । ‘पहिले २५–२५ मिटर चौडा क्षेत्र रहेको सडक दुहबी बजार क्षेत्रमा भने ८.५–८.५ मिटर क्षेत्र कायम गरिएको रहेछ,’ रानी–विराटनगर–इटहरी– धरान सडक परियोजनाका प्रमुख विनोदकुमार मौवारले भने, ‘उक्त क्षेत्र ठेक्का लाग्न पनि सकेको छैन, मन्त्रीपरिषद्ले नै निर्णय गरेर अधिग्रहण गर्नु आवश्यक छ ।’ सडकको जग्गा ५० मिटर नै कायम भए दुहबीका झण्डै २ सय घर टहरा हटाउँदा अर्को समस्या आउन सक्ने आयोजनाको भनाइ छ ।

टेंग्रा खोला अर्को समस्या

सुनसरीको इटहरीदेखि खनारसम्मको ५ किलोमिटर सडकको किनारमा टेंग्रा खोला छ । सडकलाई ६ लेनको बनाउन कि टेंग्रा खोला विस्थापित गर्नुपर्छ, कि त सडकको एकातर्फी मात्रै बढाउनु पर्छ । दुवै काम गर्न आयोजनालाई गाह्रो भएको छ । खोला विस्थापित गर्न वा एकातिर मात्रै बढाउन पनि आसपासको जग्गा अधिग्रहण गर्नैपर्ने आयोजनालाई बाध्यता पर्नेछ । जसका कारण लागत खर्च बढ्छ, भने निर्णय प्रक्रिया टुंग्याउन पनि लामो समय लाग्नसक्ने देखिएको छ ।

‘टेंग्रा खोलाले समस्या पा¥यो,’ आयोजना प्रमुख मौवारले भन्नुभयो, ‘एकातिर ३० मिटर मात्रै जमिन छ, अर्कोतिर खोला छ कसरी गर्ने भन्ने विषय सडक विभागले टुंगो लगाउनु आवश्यक देखिएको छ ।’ रौनियारले खोला सिफ्ट गर्ने, बुढीखोलामा टेंग्रा खोलै लगेर हाल्दिने वा साइमा खोलाको बाटो स्टक्चर बनाइदिएर व्यवस्थित गर्ने भन्ने विकल्प रहेको भएपनि विशेषज्ञ टोलीको परामर्शमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।

विराटनगरमा ५० मिटर चौडा नबन्ने

विराटनगरको बजार क्षेत्रमा पनि ५० मिटर चौडाको सडक नबन्ने भएको छ । ५० मिटर चौडा क्षेत्र रहेको सडकको जग्गा अहिले ३० मिटरमा झरेको रौनियारले बताए । ‘यसअघिकै सरकारले ५० मिटरलाई ३० मिटरमा झारेको रहेछ,’ मौवारले भन्नुभयो, ‘त्यहाँ ५० मिटर कायम हुन सक्ने देखिएन ।’ विराटनगरको बरगाछीदेखि बसपार्कसम्मको २ हजार २ सय मिटर सडक भने ८ मिटर चौडामा छिट्टै कालोपत्रे हुने उनले बताए । विराटनगरको रोडसेष देखि बरगाछीसम्मको सडक भने अबको १ महिनाभित्र ९ मिटर चौडा कालोपत्रे भइसक्ने निर्माण कम्पनीले जनाएको छ ।

सानातिना समस्याले पनि समय खायो

माथिल्लाका ठूला समस्याबाहेक अन्य सानातिना समस्याले पनि आयोजना समयमै सम्पन्न गर्न सकस परिरहेको छ । विद्युत्को पोल हटाउने र राख्ने समस्या, सडकको बीचमा पर्ने रुख कटान गर्दा प्रक्रिया पुरा गर्नुपर्ने झन्झट, नेपाल टेलिकमको तार, खानेपानीको पाइपको समस्या पनि कम छैनन् । ‘आयोजना सम्पन्न गर्नका लागि मात्रै साढे ५ सय जति रुख कटान गर्नुपर्ने देखिन्छ,’ आयोजना प्रमुख मौवारले भन्नुभयो, ‘रुखमा विद्युत् तार राखिएको छ, रुख ढाल्दा विद्युत्का मान्छे पनि हुनुप¥यो, समन्वय गर्न असाध्यै समस्या भइरहेको छ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes