लोकप्रिय मन्त्री पण्डितको प्रदेशसभा बैठकमा निन्दा - Pahilo Online

लोकप्रिय मन्त्री पण्डितको प्रदेशसभा बैठकमा निन्दा

शुन्य समयमा कसले के भने ?

writer

पहिलो अनलाइन

विराटनगर । सर्वसाधारणको मन छुने काम र भाषणको कारण चर्चांमा रहने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको कामको १ नम्बर प्रदेशसभा बैठकमा भने निन्दा भएको छ ।

कर्मचारीको व्यवहार र शैलीको खरो आलोचक रहनुभएका मन्त्री पण्डितको काँग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद विन्दीया कार्कीले निन्दा गर्नुभएको हो ।

सोमबारको प्रदेशसभा बैठकका शुन्य समयमा बोल्दै काँग्रेस सांसद कार्कीले मन्त्री पण्डितले कर्मचारीलाई थर्काउने काम गलत भएको भन्दै निन्दा गर्नुभएको हो । ‘सरकारले कर्मचारीलाई काममा खटाउने हो, काम नगरे कार्वाही गर्ने हो’ उहाँले भन्नुभयो, ‘तर, मन्त्रीले जथाभावी बोल्दै हिँड्नु राम्रो भएन, म यसको निन्दा गर्छु ।

सांसद कार्कीले मन्त्री र नेताहरुले उपचारको नाममा विदेश जाने प्रवृत्तिको पनि बिरोध गर्नुभयो । बाढीपीडित र भुकम्पपीडितले सामान्य राहत नपाएको बेला नेता र मन्त्रीको विदेश मोह निन्दनीय रहेको उहाँको भनाइ थियो । उहाँले प्रदेश संसद भवन र जिल्ला समन्वय समिति एउटै भवनमा हुँदा समस्या भएको भन्दै समन्वय समितिलाई अन्यत्र सार्न पनि माग गर्नुभएको छ ।

सोमबारको शुन्य समयमा ९ जना प्रदेश सांसदहरुले सुकुम्बासी समस्यादेखि, किसानका समस्या, खानेपानी, बाढीपीडित र खाद्य अधिकारसम्मका विषय उठान गरेका थिए । उनीहरुले विभिन्न मुद्दामा प्रदेश सरकारदेखि संघीय सरकारसम्मको ध्यानाकर्षण गरेका थिए ।

कसले के भने ?

साबित्रा रेग्मी, मोरङ
संविधानले व्यवस्था गरेको खाद्य संप्रभुतासम्बन्धि कानुन छिटोभन्दा छिटो बनाउनुपर्छ । किसानले उत्पादन गरेको सबै खाद्य बालीको समर्थन मूल्य सरकारले तोक्नुपर्छ । व्यापारी र बिचौलियाले किसानको उत्पादनको मूल्य तोक्दा किसान समस्यामा परेका छन् । उनीहरुले आफ्नो लगानी र नाफा पाउनेगरी मूल्य तोकिनुपर्छ । कृषि ऋणमा सरकारले व्याज अनुदान दिने व्यवस्था गरियोस् ।

पूर्णप्रसाद राई, संखुवासभा
गएको पुस ३० गते संखुवासभाको मकालु गाउँपालिकामा भएको aसवारी दुर्घटनामा निधन भएका गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालसहित मृतक परिवारलाई उचित राहत दिइयोस् । मकालु १ चिरखाङमा सुख्खा पहिरोको कारण १६ घरपरिवार रहेको बस्तीको सदरमुकाम र अन्यत्र जाने बाटो नै बन्द भएकोले उनीहरुलाई तत्काल छाङ्गेमा बसोबासको व्यवस्था गरियोस् ।

 

बिमल कार्की, उदयपुर
प्रदेश संसद भवनमा चौदण्डीगढी दरबारको भग्नावशेसको फोटो राखेर उदयपुरगढी लेखिएको छ । यसलाई तत्काल सच्याइयोस् । उदयपुरको चौदण्डीगढी र बेलका नगरपालिकामा रहेको अव्यवस्थित बसोबास व्यवस्थित गरियोस् । जिल्लामा रहेको चुनढुंगाको खानी माफियाले कब्जा गरेकोले त्यसलाई माफियाबाट मुक्त गर्दै जिल्लाबासीको लगानीमा सिमेन्ट उद्योग स्थापनाको पहल प्रदेश सरकारले गरोस् ।

कृष्णकुमारी राई
संविधान अनुसार सुकुम्बासी समस्या समाधानको लागि तत्काल कानुन निर्माण गरियोस् । प्रदेशका पदाधिकारिको कानुन निर्माण गर्दा वडा सदस्यहरुलाई पनि सेवा सुविधा दिनेगरी सोचियोस् । मधेसमा बग्ने खोलाहरु बाङ्गो र घुमाउरो हुँदा धेरै जमिन ओगटेकोले सिधा बनाउन पहल गरियोस् ।

झलकबहादुर मगर, झापा
झापामा रहेको नदि कटानको समस्या समाधान गर्न विस्तृत योजना निर्माण गरेर लागू गरियोस् । झापाको शिवसताक्षी नगरपालिकामा दशकौंदेखि बसोबास गर्नेहरुले जग्गाको लालपूर्जा नपाउँदा समस्यामा परेकोले तत्कास समस्या समाधान गर्न सरकारले ध्यान देओस् । चन्द्रडाँगी कृषि फर्म सतासी खोलाको कटानको जोखिममा रहेकोले त्यसलाई सुरक्षित गर्न ध्यान दिइयोस् । तराईका जनताको सुविधानको लागि हुलाकी मार्ग निर्माणलाई तीब्रता प्रदान गरियोस् ।

कुशुम श्रेष्ठ, धनकुटा
कोशी राजमार्गको भेडेटार मुनी भुकम्प र वर्षाले भत्काएको बाटो मर्मतमा तत्काल ध्यान दिनुपर्छ । अन्यथा आगामी वर्षमा सडक अबरुद्ध हुनेछ । पाँचथरको रविबाट राँके हुँदै बुधबारे जोड्ने सडकको स्तरोन्नती गर्न प्रदेश सरकारले ध्यान देओस् । धनकुटाको बेलहारा बिमानस्थल छिटो निर्माण गर्न प्रदेश सरकारले पहल गरोस् । यातायात कार्यालयको शाखा पूर्वी पहाडी जिल्लामा पनि स्थापना गरियोस् ।

यशोदा अधिकारी, मोरङ
प्राकृतिक साधन र स्रोतको दुरुपयोग भएको सुन्नमा आएको छ । मोरङको मावा खोलाबाट अबैध रुपमा ढुंगा र गिटी निकालिरहेको सुनिएको छ । यस्तो हो भने नियन्त्रण गरियोस् । सडक निर्माणको नाममा जभावाभी रुख कटान रोकियोस् । इटहरीमा रहेको रेशम प्रशोधन केन्द्र बन्द भएको सुनिएको छ । के हो, स्पष्ट गरियोस् । अदुवाको मूल्य कम हुँदा किसान मारमा परे, मूल्य बढाउन पहल गरियोस् ।

मोहनकुमार खड्का, ओखलढुंगा
भुकम्पबाट प्रदेशभरीमा सबैभन्दा प्रभावित जिल्ला ओखलढुंगा हो । त्यहाँ पूननिर्माणको कामलाई तीब्रता दिन पहल गरियोस् । धेरै पीडितहरुले लाभग्राहीको सुचीमा नरहेकोले उनीहरुलाई समावेश गरियोस् । भुकम्पपछी जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा पानीका मुहानहरु सुकेकोले खानीपानीको हाहाकार भएको छ । ती क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी लिफ्टीङ्ग प्रणालीबाट पानीको आपूर्ती गर्ने व्यवस्था गरियोस् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes