जापानको पहरामा बुद्धमूर्ति बनाउँदै मन्जुल टिम - Pahilo Online

जापानको पहरामा बुद्धमूर्ति बनाउँदै मन्जुल टिम

जापानको पहरामा विश्वकै अग्लो ६५ फिटको मूर्ति बनाइरहेको मुर्तिकार मन्जुलको टिमलाई अरनिकोको संज्ञा

writer

गणेश लम्साल

मोरङको उत्तरी दुर्गम क्षेत्र मिक्लाजुङ गाउँपालिकाको टाँडीमा जन्मिएर त्यहीको ढुंगामाटो खेलाउँदै हुर्केका मन्जुल मितेरी (बराइली) ले १० वर्ष पहिले आफनै खर्चमा ढुंगाका एक हजार मूर्ती निर्माण गरेर राज्यलाई उपहार दिने घोषणा गरेका थिए । आफ्नो प्रतिज्ञा पुरा गर्न व्यवसायिक मुर्तीकलासँगै दान दिने मुर्ती पनि संग्रह गरिरहेका मन्जुलसहित उनको चार जनाको नेपाली टिम अहिले भने जापानमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न तल्लिन छ । डेढ वर्ष समय पहरामा मुर्ति कुद्न खर्चिसकेका उनीहरुले अझै ६ वर्षमा मात्र सहमति अनुसारको मूर्ती निर्माण गरिसक्नेछन् । जापानबाट फागुन अन्तिम साता १५ दिने विदामा घर आएर चैत ७ मा फर्केका कलाकार मन्जुलले जापानबाट फर्किएपछि राष्ट्रलाई उपहार दिने मुर्ती निर्माणमा केन्द्रित हुने बताएका छन् ।

विद्यार्थीको सहयोगले जापानमा

चितवनका विद्यार्थी दिलिप लामिछाने लगायतका नेपालीहरु जपानमा ईन्जिनियरिङ विषय पढ्दै रहेछन् । उनीहरुबाटै जापनका होटल व्यवसायी तथा समाजसेवी ओसिमा सिजुकीले कलाकार मन्जुलको बारेमा जानकारी पाए । त्यसपछि जापनको पर्यटकिय क्षेत्रमा रहेको पहरामा चर्चित बृद्धको मूर्ति निर्माण गर्ने योजना बनाए । नेपाली विद्यार्थीहरुकै सम्पर्कबाट डेढ वर्ष अघि सन् २०१७ सेप्टेम्बरमा मूर्ति बनाउन मन्जुल जापान पुगेका हुन् । जापानमा पढ्ने नेपाली विद्यार्थीहरुले त्यहाँका पर्यटन व्यवसायी तथा समाजसेवी ओसिमासँग जोडिदिएपछि उनले मुर्ती बनाउने सहमति गरे । त्यसपछि तीन जना साथीहरु पनि झिएकार विश्वकै अग्लो (६५ फिट) लामो बृद्धमुर्तीसँगै स्थानीय देबी देवताका गरि जम्मा सातवटा ७ ठूला मुर्ति बनाउने काम गरिरहेका छन् । ७ वर्षमा निर्माण पुरा गरिसक्ने लक्ष्य छ । डेढ बर्षमा कुल कामको ३० प्रतिशत सकिएको छ । अग्लो बुद्ध र४५ फिट अग्लो सहायक देवताको पनि मुहार तयार भइसकेको छ ।
सानुभाई, रामचन्द्र र गणेश सहयोगी
जापानको कुमामोतो जिल्लाको खामीआमाकुसा नगरपालिकामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा उनीहरुले छिनो र हम्मर बोकेर नेपालमा जन्मिएका विश्व शान्तिदुत बुद्धको स्वरुप कुँदिरहेका छन् । होटल व्यवसायी ओसिमाले नै निर्माण गरेको ट्रस्ट ‘ओसिमा सेकिबुचुयामा’ नामको संस्थाले शहरभन्दा ८० किलोमिटरको दुरीको ग्रामिण तथा अनकन्टार पहाडमा एउटै ढुंगामा गौतम बुद्ध र बुद्धका सहायक देवीदेवताका गरी ७ वटा पूर्णकदको मूर्ति निर्माण गराइरहेको छ । तोकिएको समयमै सबै काम सक्ने आत्मविश्वास सहसी र सृजनशिल कलाकार मन्जुल र उनको टिमलाई छ । मन्जुलको टीममा सिद्धहस्त युवा मूर्तिकारहरु काभ्रेका सानुभाई विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मिक्लाजुङका गणेश राई छन् ।

आधुनिक अरनिको बन्ने अठोट

महत्वाकांक्षी एक व्यवसायी मुर्तिकार मन्जुलको टिमले जापानको पहरामा विश्वकै अग्लो ६५ फिटको मूर्ति बनाइरहेको कुरा मिडियामा सार्बजनिक भएपछि उनलाई सबैले आधुनिक अरनिकोको संज्ञा दिइरहेका छन् । बिदामा घर आएका बेला मन्जुललाई साथीभाई मात्र नभएर नागरिक संघसस्थाहरुको सम्मान थाप्न भ्याई नभ्याई नै भयो । १५ दिने छुट्टीका दिन कसरी बिते उनले पत्तै पाएनन् । जापान जानका लागि काठमाण्डौ फर्कने दिन ५ चैत दिउँसो उनले भने– ‘सबैको सम्मान र सहयोगले हामीलाई झनै उत्साह थपेको छ । यसलाई हामीले प्रेरणाका रुपमा लिएका छौ र निरन्तर आफनो अभियानमा डटिरहने छौं ।’ मञ्जुल र उनका साथीहरुलाई पनि लागेको छ, यो एउटा अवसर हो । एक पल्ट नेपालबाट अरनिकोले चीन गएर बुद्धको मुर्ती निर्माण गरेर नेपालको ख्याती फैलाए । अब बर्षौपछि ख्याती फैलाउने अवसर उनीहरुले पाएका छन् । देशका लागि मरिमेटर लागिपर्ने उनीहरको भनाई छ । ७ वटा ठूला मूर्ति पुरा गर्न जम्मा साढे ७ वर्षको सम्झौता आफैमा कम चुनौतीपुर्ण काम हैन । तर, उनीहरु पछिल्लो २ सय वर्षमा विश्वकै सबैभन्दा ठूलो ढुंगाको मूर्ति बनाउने ऐतिहासिक अवसर प्राप्त गरेकामा हर्षित छन् । यसैले पनि उनिहरु दैनिक आठ घण्टा कडा मेहनत गरिरहेका छन् । सबै मूर्ती तयार भएपछि विश्व सम्पदा सूचिमा राख्ने दाता र जापान सरकारको योजना छ । काम सम्पन्न भइसकेपछि ऐतिहासिक कामको श्रेय आफूहरुले पनि पाउने र नेपालको नाम पनि चरितार्थ हुने भएकोले उनीहरु गौरबान्वित पनि छन् ।

बृद्धबारेको भ्रमले मन कटक्क

जब मञ्जुल जापान पुगे, त्यहाँको सरकारी अधिकारीहरुको आतिथ्यतामा दाताले भव्य कार्यक्रम आयोजना गरे । कार्यक्रम मूर्ति निर्माण अभियानको उद्घाटन थियो । मञ्जुल दौरा सुरुवाल र पाल्पाली टोपीमा ठाँटिएका थिए । आयोजक संस्थाले जापानका सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिहरुसँग उनको चिनजान गरायो । त्यस क्रममा उनलाई थाहा भयो नेपाली पोशाक र नेपालमा बुद्ध जन्मिएका हुन् भन्नेबारे अझै धेरै जापानीहरुलाई थाहै रहेनछ । प्रदर्शनी तथा त्यहाँ लेखिएका सामाग्रीहरुमा त बुद्ध भारतमा जन्मिएका र भारतका हुन् भनेर लेखिएको रहेछ । लुम्विनी भारतमा पर्छ भनेर भारतको प्रचारको प्रभाव परेको रहेछ । त्यो पढेपछि खिन्न भएका मन्जुलले हरेस चाँही खाएनन । बरु आफ्नो बोल्ने पालोमा आफूसँग भएका बुद्ध सम्बन्धिका तथ्यहरु प्रस्तुत गरेर बुद्ध नेपालमा जन्मिएका हुन् भनेर त्यसलाई सच्याउन दबाब दिए । बृद्ध नेपालमै जन्मेका हुन् भनेर भ्रमलाई सच्याउन बाध्य बनाए ।

आजकल मन्जुल र उनका साथीहरु जहाँ जहाँ जान्छन्, बुद्ध नेपालमा जन्मेका हुन् र जन्म स्थान लुम्बिनी हो भनेर जानकारी गराउँछन् । खासमा जापानमा बुद्ध जन्मिएको लुम्बिनी भारतमा पर्छ भन्ने भ्रम रहेछ । यसबारे नेपाल सरकारले बाहिरी रुपमा मात्र हैन बिदेशमा भित्रभित्रसम्म पनि नेपाली सँस्कृति र बृद्धबारे बुझाउन अझै प्रयास गर्नुपर्ने उनीहरुको निष्कर्ष छ । अन्र्तजातीय बिबाह गरेर सफल दामपत्य जीवन गुजारीरहेका मन्जुलले पत्नी कौशिला राईसँगै रहेको बेला भने, ‘हामीले बुद्ध र नेपालीको पहिचनाबारे आफूले सकेको गर्दैछौ, सरकारले पनि अझै गर्न आवश्यक छ । किनभने भ्रमहरु ऋझै कायमै रहेछन् ।’ उनले बृद्ध बर्न इन नेपाल भनेर थालिएको क्याम्पेनलाई पनि सकारात्मक रुपमा लिएका छन् । भन्छन्, सबैले आ–आफ्नो ठाउँबाट सकेको गर्नुपर्छ ।

नेपाली पहराको याद

‘देशभक्ति त मर्दैन चुत्थै देश भएपनि ’ कवि वालकृष्ण समको कबिताको यो उद्गार झै छ अहिले जापनको पहरामा मूर्ति कुँदिरहेका नेपाली शिल्पीहरुको मन पनि । उनीहरुले विश्कै चर्चित बृद्धको मूर्ति बनाएर आफ्नो नाम बिश्वमै चर्चित बनाउने अवसर पाइरहेका छन्, यसैले उनीहरु खुसी छन् । तर, उनीहरु मूर्ती बनाइरहँदा भावुक पनि हुन्छन् । किनभने उनीहरुलाई आफ्नै देशका भीर र पहराहरु याद आउँछ । सोच्छन्, यदि नेपालका पहरामा पनि यस्तै चर्चित बृद्धको मूर्ति निर्माण गर्न पाए ! जापानको भन्दा नेपाली पहराहरु धेरै ठूला र अग्ला रहेको र ढूंगाको गुणस्तर पनि उच्च भएकोले नेपालमै जन्मेका बृद्धलाई अझै चर्चित बनाउन सकिने उनीहरु सपना गमिरहन्छन् । सँगै देशको नाकामी प्रबृत्ति सम्झेर फेरि दिक्क मान्दै उनीहरु आफूलाई सम्झाउछन् र काममा तल्लिन बनाउँछन् । जापान जान काठमाडौ फर्कदै गर्दा मञ्जुलले आफ्नो एउटा स्मरण पनि सुनाए ।

उर्लाबारीमा मूर्ति बनाउदा बनाउँदै मन्जुल चर्चित भइसकेका थिए । झापाको दमकमा एउटा संस्थाले उनलाई सम्मान गर्न बोलायो । प्रमुख अतिथि उद्योग मन्त्री थिए । उनलाई होनाहार कलाकार भनेर दोसल्ला ओढाएर सम्मान गरियो । त्यही क्रार्यक्रममा सम्मान थापेरसँगै बसेका मन्त्रीले भाषण गर्दा भने, ‘दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति बनाउने तयारी छ, यसका लागि चीन सरकार र चीनियाँ कलाकारसँग कुराकानी भइरहेको छ र चाँडै कलाकारहरु आएर मूर्ति निर्माण थाल्नेछन् ।’ त्योबेला मन्जुलले पनि ताली बजाए । तर, मन खिन्न पारेर । आखिर राज्यले त्यो अवसर दिएको भए मन्जुल र उनको टिम आज जापानमा हैन आफनै देशमै विश्वकै अग्लो बृद्धको मुर्ति बनाइरहेका हुन्थे । जे होस्, जापनको प्रोजेक्ट सकाएर नेपाल फर्केपछि आफ्नै बलबुतामा नेपाली पहरामा किर्ती राख्ने योजना मन्जुल र उनको टिमको छ । मञ्जुलका अनुसार एक नम्बर प्रदेशमा मात्रै ढूंगामा मूर्ती बनाउने सिपालु मूर्तीकार सय जना जति छन् । उनीहरुलाई राज्यले संरक्षण गर्ने हो भने नेपाली धेरै नेपाली पहराहरु पयर्टनको केन्द्र बन्न सक्छन् ।

हजार मुर्तिको लागि पत्नी कौशिला सक्रिय

देशको सुगम भनिने जिल्लाको दुर्गम गापमा जन्मिएर हाल उर्लाबारी नगरपालिकामा बसोवास गरिरहेका मञ्जुल मात्र हैन उनकी जीवन साथी कौशिला पनि व्यवसायिक मुर्तिकार हुन् । मञ्जुलसँग प्रेमबिबाह गरेर आएपछि उनलाई सघाउँदा सघाउँदै कौशिला पनि सिद्धहस्त मुर्ति कलाकार बनिसकेकी छन् । १० वर्ष पहिले राज्यलाई एक हजार मूर्ती निःशुल्क उपहार दिने घोषणा गरेपछि देशभर चर्चामा आएका कलाकार मञ्जुलको त्यो मूर्ती सपना अधुरै छ । आर्थिक समस्याले गर्दा उनले आफ्नो सपना चाहे जसरी अगाडि बढाउन सकेका थिएनन् । स्थानीय सहयोगीहरुको प्रयासले उनले उर्लाबारीमा मूर्ती संग्राहलय स्थापना गरेर व्यवसायिक रुप दिने प्रयास पनि गरे । यही क्रममा उनलाई जापानमा मुर्ति बनाउने अफर आयो । रोजगारले आर्थिक अवस्थामा पनि सुधार आउने र देशको नाम पनि फैलाउने पाउनले लोभले देशमा गरिरहेको व्यवसायिक मूर्तीकला भन्दा तत्काल जापान जानु नै उत्तम हो भन्ने उनले ठाने । पत्नी कौशिलाको सल्लाहमा उनी जापान हान्निए । तर, मन्जुल जापान गएपनि उनको हजार मूर्तिको सपनालाई पत्नी कौशिलाले साकार बनाउन सहयोग गरिरहेकी छन् ।

मन्जुल र कौशिालले एक सय ५० जति बिभिन्न प्रसिद्ध व्यक्तिका मूर्ति निर्माण गरिसकेका छन् । पहिले संग्राहलयमा राखेकी ती मुर्ति अहिले उनीहरुले आफ्नो भाडाको घरमै लगेर संग्रह गरेका छन् । कौशिलाले पतिको हजार मूर्ति सपाना पुरा गराउन करिब ३ सय वटा जति ढूंगा संकलन गरेर काटेर जम्मा गरिसकेकी छन् । मञ्जुल बिदेशमा भएकै बेलामा हजार मूर्तिका लागि ढूंगा संकलन गरेर कटिङ्ग गरिसक्ने र फर्केपछि सँगसँगै मूर्ति निमाण गर्ने योजना कौशिलाको छ । चर्चित कलाकार मन्जुलको नाममा आएका मुर्ति बनाउने अर्डरको काम कौशिलाले नै गरिरहेका छन् । व्यवसायिक मूर्ति पनि बनाउनुपर्ने भएकोले हजार मूर्तिका लागि ढुंगा संकलन गर्न ढिलाई भएको कौशिलाको भनाइ छ । श्रीमन मन्जुललाई काठमाडौसम्म छाडन हिँडेकी पत्नी कौशिलाले भनिन्, ‘हाम्रो हजार मूर्तीको सपना हामी जीवतै रहेका बेलामा पुरा गरेरै छाड्छौं, अधुरो राख्दैनांै ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes