नेपाल–सिक्किम जोड्दै पर्यटन - Pahilo Online

नेपाल–सिक्किम जोड्दै पर्यटन

writer

पहिलो अनलाइन

विराटनगर । ग्रामिण पर्यटनको विकासकालागि नेपाल र भारतको पहाडी क्षेत्र सिक्कीम क्षेत्रलाई जोड्नु पर्ने पर्यटन व्यवसायीले बताएका छन् ।

पर्यटनको विकासका लागि नेपाल र भारतले सिमानाको परिधिभन्दा फराकिलो भएर सहकार्य गर्नुपर्नेमा जोड दिए । भारतको सिक्किम राज्यको पश्चिम सिक्किम अन्र्तगत पर्ने डि—गोमिङ जिल्ला देन्ताम मुहाकुमा सव–डिभिजन स्थित ‘साङखुसु–खाण्डो’ ग्राम पञ्चायतमा आयोजित चार दिने नुनथले गुराँस महोत्वमा सहभागी नेपाल र भारतका पर्यटन व्यवसायी र विज्ञले यस्तो कुरामा जोड दिएका हुन् ।

सिक्किम राज्यका कृषि एवं पशुधनमन्त्री सोमनाथ पौडेल, नेपाल भारतका विभिन्न विज्ञ र सरकारी अधिकारीले सहभागीता जनाएको उक्त गुराँस महोत्सवमा सीमाको परिधिभन्दा फराकिलो भएर साझा अवधारणा तयार गर्न सके नेपाल र भारत दुवै देशको ग्रामिण पर्यटन फस्टाउने बताएका हुन् । महोत्सवमा सहभागी नेपाली र स्थानीय आयोजकले आ–आफ्नो देशमा हुने महोत्समा सहभागी हुन आपसमा निम्तो समेत दिए ।

महोत्सवमा सहभागी हुन पश्चिम बंगाल राज्यको सिलिगुडीबाट पुगेका ग्रामिण पर्यटन विज्ञ डा.सुप्रितमराज बसुले पूर्वी नेपाल र पुर्वोत्तर भारतमा धेरै साझा समानता रहेको बताउनु भयो । ‘हाम्रा धेरै कुरामा समानता रहेको छ, यहाँको भाषा, संस्कृति र रहनसहन नेपालसँग मिल्छ,’ बसुले भन्नुभयो, ‘अब सिमानाको परिधिभन्दा फराकिलो भएर पर्यटन विकासमा लाग्नु आवश्यक छ ।’

झापा, मोरङ र सुनसरीका लागि सरकारले गठन गरेको विराट क्षेत्रीय पर्यटन विकास तथा प्रबद्र्धन समितिका अध्यक्ष डिल्ली अधिकारीले नेपाल र भारतको पूर्वोत्तर क्षेत्रमा आउने जाने पर्यटक तेस्रो देशका नभै छिमेकी मुलककै हुने बताउनु भयो । उहाँले दुवै देशले साझा धारणा बनाएर पर्यटनको विकासमा लाग्नुपर्न बताउनु भयो । ‘आपसी ग्रामिण पर्यटनमा आर्कषित गराउन सके साझा भाषा, संस्कृति र परम्परा र प्राकृतिक संरक्षणमा दुवै देशलाई टेवा पुग्छ,’ अधिकारीले भन्नुभयो, ‘यसका लागि चाँडै दुवै देशका सरकारी प्रतिनिधि र विज्ञ र सरोकारवाला भेला भएर आवश्यक छफफल गरि एउटा साझा धारणा निर्माण गर्नुपर्छ ।’

इण्डो नेपालको ग्रामिण पर्यटन विकासका लागि गठित साझा फोरम एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिज्जमका महासचिव तथा नेपाली पर्यटन व्यवसायी अर्जुन कार्कीले दुवै देशको ग्रामिण पर्यटनका लागि साझा धारणा बनाउन सके तेस्रो देशका पर्यटक पर्खनुपर्ने बाध्यता स्वतः अन्त्य हुने दाबी गर्नुभयो । ‘पूर्वी नेपाल, पश्चिम बंगाल, सिक्किम र असाम राज्यका परम्परा र सँस्कृति अनि समस्या हाम्रा लागि साझा छन्,’ उहाँले भन्नुभयो, ‘यसलाई बुझ्न र अध्ययन गर्न पनि अब बोडरको परिधिभन्दा माथि उठ्न आवश्यक छ ।’

मेची पहाडी पर्यटन प्रवद्र्धन समितिका निर्देशक केशव धौरालीले ग्रामीण पर्यटनको विकासका लागि नेपाल र भारतले दायरा फराकिलो बनाउन सके साझा महोत्सव आयोजना गर्न र साझा ट्रेर्किङ रुट संचालन गर्न सकिने धारणा राख्नुभयो ।

महोत्वस आयोजक समिति अध्यक्ष तुलसी बहादुर चौहानले पैसा कमाउने विकासका लागि मात्र नभएर पश्चिम सिक्मिमा बस्ने नेपाली भाषीको पहिचान, संस्कृति र परम्परातको जर्गेना गर्नकालागि पनि आफूहरुले मौलिक परम्परागत महोत्सव गरिएको बताउनु भयो । पश्चिम सिक्किमस्थित मानेबुङ देन्ताङ पर्यटकीय क्षेत्रका उपाध्यक्ष दिनेश गुरुङले नेपालसँग सिमाना जोडिएको सिक्किमको क्षेत्रमा रहेका पर्यटकीयस्थलको पहिचान गराउन र समान संस्कृतिको जानकारी दिलाउन महोत्वस सफल भएको दाबी गर्नुभयो ।

नेपाली भाषीको सांस्कृतिक प्रदर्शन

पश्चिम सिक्किमको उच्च पहाडी भेगमा पर्ने साङखुसु–खाण्डो गाउँको गुराँसे डाँडामा ८ देखी १२ चैत (२२ देखी २६ मार्च) सम्म भव्य गुराँस महोत्वस आयोजना भयो । १२ जातिको गुराँस पाइने ठाउँमा स्थानीयले आफ्नै पहलमा महोत्सव आयोजना गरेको भएपनि निक्कै आर्कषक थियो । महोत्सवमा गाउँका बाहुन–क्षेत्री, शेर्पा, नेवार, लेप्चा, भुटिया, राई, लिम्बूलगायत विभिन्न जातीको अलग अलग परम्परागत छाप्रो बनाइएको थियो । त्यहाँ परम्परागत खानापान र सँस्कृति झल्कने स्टल राखिएको थियो । आ–आफ्ना स्टलमा आफ्नै जातिको पहिरनमा खटिएका स्थानीयले सेवा प्रदान गरेका थिए ।

मेलामा लोपोन्मुख काठको रोटे पिङदेखि, अलैंची प्रशोधन गर्ने आधुनिक मेसिन विभिन्न परम्परात कृषिजन्य सामग्रीको पनि प्रर्दशन गरिएको थियो । पशुगोठमा प्रयोग गरिने काठ र बाँसका सामाग्रीदेखि विभिन्न जातिको देउता र पोशाक र महत्वपूर्ण धातुका सामग्री पनि प्रर्दशनमा राखिएका थिए ।

महोत्सवमा स्वास्थ्य पशुपंक्षी प्रतियोगिता गरेर स्वास्थ्य पशुपंक्षी पुरस्कार वितरण पनि गरिएको थियो । विभिन्न जातजातिका गीत, नृत्य प्रर्दशन गरिएको थियो । स्थानीय कलाकारले मारुनी, संगिनी, च्याब्रुङ, शेर्पा र धान नाच प्रस्तुत गरेर आगन्तुक पाहुनाको मन जितेका थिए ।

महोत्सवमा नेपालका प्रतिनिधि सहभागी

महोत्सवमा भाग लिन नेपालबाट झापा, मोरङ र इलामका पर्यटनव्यवसायी, सरकारी प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधि गरी २० जना देन्ताङ पुगेका थिए । पाहुनालाई आयोजकले आ–आफना घरमा राखेर स्वागत गरेका थिए । महोत्वसमा स्थानीय आर्गेनिक कृषी उत्पादन र पशुपंक्षी पनि प्रर्दशनीमा राखिएका थिए । विदेशी पाहुनालाई याकमा चढेर यात्रा गर्ने र फोटो खिचाउने व्यवस्वस्था थियो भने प्याराग्लाइडिङ पनि प्रदर्शन गरिएको थियो । आयोजकका अनुसार विज्ञको सुझाव अनुसार ग्रामीण पर्यटनको विकासका लागि सिक्किमका पर्यटकीय क्षेत्रमा हरेक वर्ष फरक–फरक स्थानमा पर्यटन महोत्वस आयोजना गर्न थालिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes