विराटनगर । ट्यांकर चालक संघले पूर्व जानकारीबिना नै चक्काजाम गरेपछि नेपाल आयल निगमको विराटनगर क्षेत्रीय डिपोबाट इन्धन आपूर्ती अवरुद्ध भएको छ ।
विराटनगर डिपोको वितरण प्रणालीलाई नै प्रभावित पार्ने गरी चालकहरुले ट्याक्टर नचलाएका कारण बिहीबार निगमबाट इन्धन बाहिर जान पाएन ।
विराटनगर डिपोबाट दैनिक ७ सय ५० किलोलिटर अर्थात ७ लाख ५० हजार लिटर डिजेल र २ सय किलोलिटर अर्थात २ लाख लिटर पेट्रोल विभिन्न पम्पहरुमा जाने गरेको थियो । तर, बिहीबार ढुवानी नभएकोले शुक्रबारदेखि बजारमा इन्धन अभाव हुने खतरा देखिएको छ । पूर्वका अधिकांश सहरमा रहेका पेट्रोल पम्पहरुले दैनिक निगमबाट इन्धन खरिद गर्ने गरेका छन् ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट इन्धन आयात गर्दा बाटोमा चुहावट हुनसक्ने भन्दै बुधवारबाट आधुनिक लकिङ सिस्टम कार्यान्वयनमा ल्याएपछि त्यसको विरोधमा चालकहरु आन्दोलित भएका हुन् । बुधबार झापाको चारआली डिपोबाट त्यसको सुरुवात गरिएको यस्तो सिस्टमको विरोधमा क्षेत्रीय डिपोबाट ढुवानी गर्ने चालकहरु पनि आन्दोलित भएका हुन् ।
निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले निगमले लकिङ सिस्टम लागू गरेपछि चालकहरुले खोँचे थापेर एक वर्ष अघि प्रस्तुत गरेको १४ बुँदे माग सबै पुरा गर्नुपर्ने अडान राखेका छन् । तर, लकिङ्ग सिस्टम कार्यान्वयनमा विगतमा राखेको चालकहरुको मागसँग कुनै सम्वन्ध नरहेको निगमले जनाएको छ ।
इन्धन चुहावट रोक्न गरिएको कडाईको विरुद्ध चालकहरु आन्दोलित हुनु दुर्भाग्यपूण रहेको निगमले जनाएको छ । निगम क्षेत्रीय प्रमुख खनालले बाटोमा इन्धन हराउने गरेको आशंका र आरोपमा निगमका कर्मचारीदेखि ढुवानी व्यवसायी र चालकमाथि प्रश्न खडा भइरहेको बेला लकिङ सिस्टमको सबैले समर्थन गर्नुपर्नेमा बिरोध हुनु अनौठो रहेको प्रतिक्रिया दिनुभयो ।
नेपाल आयल निगमले आइओसीबाट इन्धन आयात गर्दा र निगमबाट अधिकृत विक्रेताको पम्पसम्म पु¥याउँदा पहिलेदेखि नै शिलबन्दी गर्दै आएको छ । तर, अहिलेको शिलबन्दी आधुनिक र त्यसलाई तोडेर चोरी गर्न नसकिने प्रकारको भएकोेले चालकहरु विरोधमा उत्रिएका हुन् ।
निगमले प्रारम्भमा धागोको शिल लगाउने गरेको थियो । त्यसपछि परिवर्तन गरेर तारको सिल प्रयोगमा ल्याएको निगम क्षेत्रीय प्रमुख खनालले जानकारी दिनुभयो । चोरी नियन्त्रण नभएपछि प्लाष्टिकको शिल प्रयोगमा ल्याएको निगमले अहिले त्यसमा परिवर्तन गर्दै स्टेनलेस स्टिलको रडलाई प्रयोगमा ल्याएको छ । यो रड काट्न नसकिने भएकोले बढी सुरक्षित छ ।
रडमा लाग्ने साँचो भारतीय आयल कर्पोरेशन(आइओसी) र नेपाल आयल निगमसँग मात्र रहने हुँदा बीचमा ताल्चा खुल्ने सम्भावना रहँदैन । ट्याङकरबाट इन्धन निस्कनसक्ने सम्भावना भएका सबै विन्दुमा रडको प्रयोग हुन्छ । भारतमा यहि प्रणाली सन् २००२ देखि प्रयोगमा छ र सुरक्षित मानिएको छ ।