चरेश उत्पादनले विगार्दै युवा - Pahilo Online

चरेश उत्पादनले विगार्दै युवा

writer

लोकेश धामी

नेपालको पूर्वी क्षेत्रमा र पश्चिम क्षेत्रमा अबैध रुपमा लागुऔषध चरेस उत्पादन हुने गरेको छ । चरेश उत्पादन बझाङको अधिकांश क्षेत्रमा हुन्छ । सिजनमा यो क्षेत्रमा चरेश उत्पादन गरेर स्थानीयले व्यापारीलाई बिक्री गर्ने गर्दछन् । चरेश साउन र कार्तिक–मंसिरमा उत्पादन हुन्छ । सो क्षेत्रका स्थानीयले सिजनमा चरेश उत्पादन गरेर घर खर्च चलाउने गरेका छन् । अधिकांश स्थानीय सिजनमा उत्पादन गरेको चरेश बिक्री गरेर मनग्य आम्दानी गर्दछन् । धेरैजसो घर परिवारका पूरै सदस्य नै सिजनमा चरेश उत्पादन गर्न व्यस्त हुन्छन् । स–साना बालबालिका देखि वृद्धवद्धा पनि सिजनमा चरेश उत्पादन गरिरहेका दृष्य देखिन्छन् ।
अधिकांश अभिभावकले छोराछोरीलाई स्कूल नपठाएर चरेश उत्पादनमा लगाइ रहेका दृश्य सजिलै देख्न पाइन्छ । सिजनमा एउटा परिवारले कम्तीमा आधा किलो चरेश उत्पादन गर्दछ । बढी सदस्य भएका परिवारले सिजनमा पाँच किलोसम्म पनि चरेश उत्पादन गर्ने गर्दछन् । उत्पादित चरेश खरिदका लागि व्यवसायी गाउँमै पुग्छन् । तोला तथा किलोको हिसावले उनीहरुले स्थानीयसंग चरेश खरिद गर्ने गरेका छन् । चरेश खरिदका लागि विभिन्न जिल्लाबाट व्यवसायी त्यहाँ पुगेका हुन्छन् । सुरक्षा निकायको फितलो परिचालनका कारण सिजनमा व्यवसायीले किराना पसल तथा होटलमा चरेशको मोलमोलाइ गर्दछन् । एउटा गाउँबाट न्यूनतम आधा क्विन्टल चरेश उत्पादन हुन्छ । उत्पादित चरेश सम्बन्धित ठाउँमा लैजान व्यवसायीले त्यहिँकै स्थानीयलाई प्रयोग गर्ने गरेका छन् । गाउँमा उत्पादन भएको चरेश शहरसम्म पुर्याउनका लागि व्यवसायीले विभिन्न सञ्जाल बनाएका हुन्छन् ।
अधिकांश चरेश उत्पादन हुने क्षेत्रका स्थानीयलाई चरेश प्रतिवन्धीत हो भन्नेसम्म जानकारी छैन । जसकारण निर्धक्का साथ स्थानीयले चरेश उत्पादन गरिरहेका हुन्छन् । चरेश उत्पादन गरेर बिक्री गर्नु स्थानीयको बाध्यता पनि छ । खेतीपाती गर्दा वर्ष दिनसम्म खान नपुगेपछि बाध्य भएर चरेश नै उत्पादन गर्नुपर्छ । अधिकांश परिवारको जिवीका सिजनमा उत्पादन गरिएको चरेशका कारण चलिरहेको छ । जिल्लाका विकास पूर्वाधारको पहुँचभन्दा टाढा रहेका क्षेत्रमा सबैभन्दा बढि चरेश उत्पादन हुन्छ । ति क्षेत्रका स्थानीयले स्वास्थ्य, शिक्षा, यातायात तथा विद्युत् पाइरहेका छैनन् । सेवा सुविधाबाट बञ्चित भएपछि स्थानीयसंग चरेशको विकल्पमा आय आर्जनको अन्य माध्यम नै छैन । जिल्लाका अधिकांश वस्तीको जीवन सिजनमा उत्पादन हुने चरेश तथा विभिन्न जडीबुटिले धानेको छ । यदि सरकारले चरेशको विकल्पमा अन्य आय आर्जनको व्यवस्था गरि दिन्थ्यो भने चरेश उत्पादन हुने थिएन होला ।
लागूऔषध चरेशका कारण धेरै युवा यसको लतमा फसेका छन् । स्वास्थ्यका लागि चरेश हानिकारक मानिन्छ । सजिलै पाइने तथा जहितहिँ उत्पादन हुने भएका कारण चरेशका कारण कयौं युवाको भविष्य उज्यालो छैन । चरेसका ग्राहकमा अधिकांश २० वर्षमुनिका युवा र किशोर–किशोरी रहेका छन् । यो तथ्यले पनि युवाहरुमा चरेशले ठूलो प्रभाव पारेको देखाउँछ । जिल्लामा कति क्षेत्रफलमा यसको खेती गरिन्छ भन्ने एकिन तथ्यांक छैन । तर, पनि जिल्लाभर २ हजार ५ सय हेक्टर बढी क्षेत्रफलमा खेती हुने गरेको कृषि विकास कार्यालयको आँकलन छ । जिल्लाका सबैभन्दा बढि साबिकका लेकगाउँ, सैनपसेला, सुर्मा, दौलीचौर, काँडा, मेलबिसौना, दातोला, रिलु, कैलाश, गडराय, बाँझ, भामचौर, दहबगर, चैनपुर, रिठापाटा, सुनिकोट, स्याडी, देउलेक, कफलसेरी, देउलीकोटलगायत गाविसमा व्यावसायिक रूपमै गाँजा खेती गरिन्छ ।
सिजनमा स्थानीयले व्यापारीलाई १५ देखि २० हजार रुपैयाँ प्रतिकिलोका दरले चरेस बेच्ने गरेका छन् । जिल्लास्थित ठूला व्यापारीहरूले कञ्चनपुरको वनवासा, दोधारा चाँदनी तथा कैलालीका गौरीफन्टा, तिकुनिया, चन्दनचौकी र बैतडीको झुलाघाट नाकाबाट चरेस भारत तस्करी गर्छन् । बझाङ जिल्लामा सबैभन्दा ठूलो परिमाणमा २०६८ साल मंसिरमा चरेस बरामद गरिएको थियो । मंसिर ४ र ७ गते गरी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले २ सय ५३ किलो चरेससहित १० जनालाई पक्राउ गरेको थियो । त्यसयता २०६९ सालमा करिब ६५ किलो चरेस बरामद गरेको देखिन्छ । यस्तै २०७० र २०७१ सालमा भने चरेस बरामद हुन सकेन । २०७२ सालमा ८० किलो, २०७३ सालमा ३५ ग्राम र २०७४ को भदौ सम्म करिब ४७ किलो चरेस मात्र बरामद गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रदेश नम्बर ७ मा चरेश काण्डमा पक्राउ परेकामध्ये आधाभन्दा बढि बझाङकै रहेका छन् । कैलालीको कुरा मात्रै कुरा गर्ने हो भने यहाँका विभिन्न स्थानबाट चरेशसहित पक्राउ परेका आधा बझाङका मानिस छन् । उनीहरुबाट ठूलो परिमाणमा चरेश बरामत भएको प्रहरीको तथ्यांक छ । कैलाली–कञ्चनपुरका विभिन्न चोर नाका हुँदै भारत निकासीका लागि चरेशका व्यापारी जिल्लामा धेरै छन् । पहाडबाट बसाइसरी आएर यहाँ स्थापीत भएका अधिकांश व्यक्तिको घरबाट हरेक वर्ष प्रहरीले ठूलो परिमाणमा चरेश बरामद गर्दछ । चरेश ओसारपसार गरेवाफत केही रकम दिन्छु भनेर सर्वसाधारणलाई व्यापारीले प्रयोग गर्ने गरेका छन् । जसले गर्दा धेरै सर्वसाधारण चरेशका कारण फस्ने गरेका छन् । गरिवी तथा अशिक्षाका कारण व्यापारीको कुरा सजिलै मान्दा धेरै स्थानीय जेलको हावा खान बाध्य भएका छन् । त्यसमा प्रमुख व्यक्ति नभएर भरिया मात्रै भेटिन्छन् । प्रमुख व्यापारी अहिलेसम्म कमै प्रहरीको नियन्त्रणमा छन् ।
पहाडबाट तराइमा एक किलो वा त्यो भन्दा कम चरेश बढि आउने गर्दछ । यहाँका अधिकांश किराना पसलमा चुरोटमा हालेर खानलाई सजिलै पाइन्छ । यस क्षेत्रका अधिकांश युवाको सम्पर्क किराना पसलसँग भएको हुन्छ । किराना व्यवसायीबाट यहाँका युवाले सहजै खरिद गरेर प्रयोग गर्ने गरेका छन् । स–सानो कागजको टुक्रामा प्याक गरेर यहाँका बजार क्षेत्रका व्यवसायीले युवालाई बेच्ने गरेका छन् । व्यवसायीले एउटा पिस दश तथा बिस रुपैयाँमा बिक्री गर्ने गर्दछन् । बजार क्षेत्रका विभिन्न झाडीहरुमा युवाको संख्या भेटिने गरेको छ । अधिकांश युवा झाडीमा गएर गफिनुको मुख्य कारण चुरोट पिउनलाई हो । धेरै युवाले खाली चुरोट नभएर गाँजासहितको चुरोट पिउने गरेका छन् । विद्यालयदेखि क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी गाँजाको तलतलमा फसेका छन् ।
गाउँघरमा प्रहरी निगरानी नहुँदा चरेश किनबेच खुलेयाम हुने गर्दछ । प्रहरीको सक्रियता बढ्न सकेमा केही हतसम्म भए पनि चरेश उत्पादन रोकिने देखिन्छ । पहाडी क्षेत्रमा उत्पादन हुने चरेश तराइसम्म सजिलै आइपुग्छ । प्रहरीको फितलो चेकजाँचका कारण व्यवसायीले सहजै चरेश शहरमा पु¥याउने गर्दछन् । सीमानाकामा चेकजाँचमा कडाइ गर्ने भएकाले कहीलेकाही व्यवसायी पक्राउ पर्ने गर्दछन् । नेपालबाट भारतका विभिन्न स्थानमा पुर्याएर यस क्षेत्रका व्यापारीले चरेश त्यहि बिक्री गर्ने गर्दछन् । धेरै पटक भारतका विभिन्न क्षेत्रबाट पनि नेपालबाट गएको चरेश सहित व्यवसायी पक्राउ परेका छन् । गाँजा उत्पादनलाई रोक्नका लागि सरकारले ठोस कानून निर्माण गरेर कार्यान्वयनमा जोड दिनुपर्छ । साथै, गाँजा मात्रै उत्पादन हुने तथा अन्य आर्जन नहुने स्थानमा राज्यले आम्दानीको विकल्प खोजी दिनुपर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes