‘धनाढ्यको अनुहारमा नेपालीको छाला’ - Pahilo Online

‘धनाढ्यको अनुहारमा नेपालीको छाला’

मानव तस्करीको तरिका फेरिँदै

writer

विराटनगर, १३ फागुन । महिला बेचविखन तथा मानव तस्करीको रुप फेरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । माइती नेपाल २५ औं वर्षमा पुगेको अवसरमा सुरु भएको ‘मानव बेचबिखनविरुद्ध हाम्रो यात्रा’ मा सहभागीले यस्तो बताएका हुन् ।

रोयटर्स फाउन्डेसनले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपाली महिलाको अनुहारको छाला धनाढ्यहरूको अनुहार सर्जरीमा प्रयोग गरिँदै आएको सार्वजनिक भएको थियो । नेपाल र भारतको सीमा क्षेत्र रानीमा आयोजित कार्यक्रममा बोल्दै माइती नेपालका निर्देशक विश्वराम खड्काले नेपाली महिलाको अनुहार काटेर छाला विक्री गर्ने धन्दा सुरु भएको बताउनु भयो ।

‘नेपालका महिलाको अनुहारको छाला (स्किन) राम्रो हुन्छ,’ खड्काले भन्नुभयो, ‘त्यही लोभमा परेर दक्षिण अफ्रिका वा अन्य देशका धनाढ्यको अनुहारमा सर्जरी गरेर नेपालीको छाला राख्ने प्रचलन बढेको तथ्यांक सार्वजनिक भएको छ ।’

खड्काका अनुसार नेपालका पढेलेखेका र डिग्री हासिल गरेका मानिस पनि पछिल्लो समय मानव तस्करीको जालमा पर्ने गरेको दाबी गर्नुभयो । महिला तथा बालबालिकाको तस्किर आन्तरिक, सीमा पार र समुद्र पारीसम्म हुने गरेको बताउँदै खड्काले दक्षिण अफ्रिका, वेष्टइण्डिजको ट्रिनिडा एण्ड टोनेगो भन्ने देशसम्म तस्करी हुने गरेको तथ्यांक रहेको खड्काको दाबी छ । ‘विश्वमा २५ लाख मानिसहरू मानवतस्करीको चपेटामा परेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसमध्ये एसियामा मात्रै १४ लाख मानिसको बेचबिखन हुने गरेको छ ।’ नेपालबाट ७ वर्षका बालबालिकालाई पनि बेचबिखन गरिने गरेको उहाँले बताउनु भयो । ‘साना साना बालबालिकालाई बेच्ने र विभिन्न औषधि खुवाएर शारिरीक अंग बढाएर यौन क्रियाकलापमा सहभागी गराउने गरेको पाइएको छ,’ खड्काले भन्नुभयो, ‘बेचबिखन विरुद्धमा सचेतनादेखि महिला सशक्तीकरणमा स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भिर हुनुपर्छ ।’ खड्काले वैदेशिक रोजगारीको अन्त्य गर्दै स्वदेशमा रोजगारीको अवस्था सिर्जना हुने हो भने पनि धेरै खाले मानव तस्करीको अन्त्य हुनसक्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले हरेक बालबालिका तथा महिलाको सामाजिक सुरक्षाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनु भयो । यस्तै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले मानव बेचबिखनको अवस्था भयावह हुँदै गएको बताउनु भयो । ‘यातायात र सूचना प्रविधिको दुरुपयोगले ठूलो समस्या निम्त्याएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको नियन्त्रणका लागि स्थानीय सरकार र प्रदेश तथा केन्द्र सरकार सबैले जिम्मेवारीपूर्वक लाग्नुपर्छ ।’ वैदेशिक रोजगारीका कारण रेमिट्यान्स आएको भएपनि त्यसले सामाजिक मूल्य कमजोर बनाउँदै गएकोप्रति गम्भीर हुनुपर्ने पौडेलले बताउनु भयो । ‘रेमिट्यान्स त आएको छ तर, त्यसले समाजिक मूल्य र नैतिकतालाई कमजोर बनाइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले अब परिवारभित्रै पसेर नैतिकता, इमान्दारीता र कर्तव्यको पाठ पठाउनु पर्नेछ ।’

४० जनाको उद्धार, १२० जनालाई रोकियो
सन् २०१७ मा जोगबनी नाकाबाट भारत लैजाँदै गरेका १ सय २० जनालाई रोकिएको छ भने सीमापारी लगिसकिएका ४० जनालाई उद्धार गर्न सकिएको माइती नेपालले जनाएको छ ।

कार्यक्रमका अवसरमा सार्वजनिक तथ्यांक अनुसार ४२ जना हराएका, २ जना घरेलु हिंसामा परेको, ९ जना हराएका भेटिएको र ७ जना बलात्कारमा परेको उल्लेख छ । यस्तै हिंसामा परेर सुरक्षित बसाइसराई गरेकाको संख्या १ हजार ८ सय ६४ रहेको छ । सबैभन्दा बढी मोरङ जिल्लाबाट ३४ जना, सुनसरीबाट ३० जना, उदयपुरबाट १४ जना र झापाबाट १२ जना बेचविखनको शिकार भएको उल्लेख छ । बेखबिखनमा परेका १ सय २० जनामध्ये १८ वर्षभन्दा मुनीका ५८ जना बालबालिका मात्रै रहेको उल्लेख छ ।

७ दिने अभियान विराटनगरमा
स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा माइती नेपालले सुरु गरेको मेची महाकाली जनचेतना अभियान विराटनगरमा आइपुगेको छ । अभियानमा माइती नेपालका अभियान्ता, सरकारी अधिकारी, विद्यार्थी तथा मानवअधिकारको टोलीले जोगवनी नाकामा कार्यक्रम गरेको छ । माइती नेपालले फागुन १० गतेदेखि १६ गतेसम्म यो अभियान संचालन गरेको हो । अभियानका क्रममा गत १२ गते झापाको काँकडभिट्टामा कार्यक्रम भएको थियो । अभियान मकवानपुरको हेटौडामा पुगेर समापन हुनेछ । माइती नेपालले स्थापनायता १ लाख २५ हजार महिला तथा बालबालिकालाई उद्धार गर्दै आवासीय सेवा उपलब्ध गराएको छ भने ३६ हजार ४५ जना जोखिममा परेका महिना तथा बालबालिकालाई सीमाबाट रोकिएको निर्देशक विश्वराम खड्काले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes