
पथरीशनिश्चरे (मोरङ) । मोरङ जिल्लाको पथरीशनिश्चरेका महिलाहरू केवल परिवार र घरमा सीमित छैनन् । उनीहरूको संघर्ष, सिर्जना र नेतृत्वले समाजमा गहिरो प्रभाव पारेको छ । उनीहरु राजनीतिक, सामाजिक, सांस्कृतिक र कलात्मक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका छन् । यहाँ १० शक्तिशाली महिलाको जीवन र योगदानलाई संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ ।
श्रम, सिद्धान्त र साहसको राजनीतिः कृष्णकुमारी राईको संघर्षपूर्ण यात्रा
‘मान्छेलाई श्रम गर्दा जस्तो सुन्दर केही गर्दा देखिँदैन ।’ यो वाक्य केवल भनाइ होइन, पूर्व प्रदेशसभा सदस्य कृष्णकुमारी राईको जीवन दर्शन हो । शब्द बोलिरहँदा पनि उनी स्वयम् श्रममा लीन देखिन्छिन् — राजनीतिलाई पद, सुविधा र प्रतिष्ठाभन्दा पर राखेर जनसेवाको साधन ठान्ने नेतृका रूपमा उनी चिनिन्छिन् ।
पहिले नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) पार्टी हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेकी कृष्णकुमारीले समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यको जिम्मेवारी सम्हालिसकेकी छन् ।

राजनीतिमा आउनु अघि उनको सपना शिक्षक बन्ने थियो । शिक्षाले नै मान्छेको भाग्य बदल्न सक्छ भन्ने कुरा उनले जन्मैदेखि घर–परिवारमा सुन्दै आइन् । यही विश्वासले करिअरको सुरुआती दिनहरूमा उनले टोल र आफन्तका छोराछोरी भेला गरेर निःशुल्क ट्युसन पढाइ दिइन् ।
विश्व राजनीतिबारे राम्रो ज्ञान राख्ने कृष्णकुमारीको आदर्श नेता नेल्सन मन्डेला हुन् भने प्रिय लेखक पारिजात । यी दुवै व्यक्तित्वमा देखिने साहस, विद्रोह र मानवीय मूल्यले उनको राजनीतिक सोच निर्माण गरेको देखिन्छ ।
समाज, देश र राजनीति नजिकबाट बुझ्दै जाँदा उनी एउटा ठम्याइमा पुगिन्— “खास समस्या प्रणालीभन्दा बढी मानिसको चरित्रमा रहेछ ।” यही बुझाइले उनलाई राजनीतितर्फ डो¥यायो । उनले नेकपा एमालेबाट राजनीतिक यात्रामा अघि बढिन् र पछि नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीसम्म आइपुगिन् । पदभन्दा पनि पार्टीभित्रको संस्कार र कार्यकर्ताको मूल्यांकनप्रति उनी सधैँ आलोचनात्मक रहिन् । “पार्टीले इमान्दार र क्षमतावान कार्यकर्तालाई किनाराकृत गरेको देख्दा चित्त दुख्छ,” उनी स्पष्ट भन्छिन् ।
उनका अनुसार ‘हाम्रो मान्छे’ खोज्ने प्रवृत्तिले हिजो ज्यानको प्रवाह नगरी जनताका लागि लडेका धेरै कार्यकर्ता आज गुमनाम बनेका छन् । यो समस्या एउटै पार्टीको नभई समग्र नेपाली राजनीतिमा व्याप्त रहेको उनको बुझाइ छ — र त्यसमा महिलालाई झनै गाह्रो छ ।
समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यको अनुभव बटुलिसकेकी राईको प्राथमिकता स्पष्ट छ—जनताको सेवा । उनी जनसेवालाई साधारण काम मान्दिनन् । “लोभ र घृणाबाट माथि उठ्न सक्ने नेता मात्र साँचो अर्थमा जनताको प्रतिनिधि हुन सक्छ,” उनको धारणा छ ।
दुई दशकअघिको अवस्था र आजको राजनीतिक परिवेश तुलना गर्दा उनी आशावादी देखिन्छिन् । राजनीतिमा महिलाको सहभागिता उल्लेख्य रूपमा बढेको छ । तर, चुनौती अझै बाँकी छ । “जबसम्म महिलाहरू आर्थिक रूपमा सक्षम हुँदैनन्, तबसम्म उनीहरूको जीवनमा वास्तविक परिवर्तन आउँदैन,” उनी भन्छिन् ।
प्रशंगवस सोधिएको व्यक्तिगत प्रश्नको उत्तर उनले मुस्कुराउँदै दिइन्— “यो जुनीमा बिहे गर्दिन होला ।”
गिता तिम्सिनाः भूमिगत संघर्षदेखि प्रदेशसभासम्मको यात्रा
बाहिरबाट हेर्दा शान्त र व्यस्त देखिने यो भूगोलभित्र परिवर्तनको सपना बोकेर निरन्तर संघर्षरत एक नाम हो—गिता तिम्सिना । उनी केवल राजनीतिमा सीमित नेतृ होइनन्, सामाजिक समानता र महिला सशक्तीकरणको आन्दोलनमा खारिँदै आएकी एक प्रतिबद्ध कार्यकर्ता पनि हुन् ।
उनी केवल राजनीतिमा मात्र होइन, समाजिक समानता र महिला सशक्तिकरणको अभियानमा पनि अग्रणी देखिन्छिन् ।
गिताले २०५६ सालदेखि माओवादी पार्टीको भातृ संगठनमा सक्रिय भइ राजनीतिक जीवनको शुरुवात गरेकी हुन् । उनले प्रारम्भमा अखिल क्रान्तिकारीमा आबद्ध हुँदै संगठनको काम सिकिन् । त्यसपछि अनेम संघ क्रान्तिकारीको जिल्ला सदस्यका रूपमा सक्रिय भइन् । यद्यपि, उनको निरन्तरता र गहिरो लगाव भने महिला संगठनमै रह्यो । “त्यतिबेला मसँग धेरै राजनीतिक चेतना थिएन,” उनी भन्छिन्, “तर मेरो प्रेरणा मेरो काका दाताराम तिम्सिना हुनुहुन्थ्यो ।”

सानै उमेरदेखि गिताले गाउँघरमा देखिने जातीय र वर्गीय विभेद नजिकबाट महसुस गरिन् । “छोरालाई निजी स्कूलमा पढाउने, छोरीलाई सरकारी स्कूलमा । कतिपय परिवारमा त छोरालाई मात्र पढाइन्थ्यो,” उनी सम्झिन्छिन् । यस्ता दृश्यहरूले उनलाई गहिरो प्रभाव पारे । यही विभेदविरुद्ध आवाज उठाउने चाहनाले उनलाई माओवादी आन्दोलनतर्फ आकर्षित ग¥यो—समान अधिकार र न्यायको खोजीमा ।
२०५८ सालदेखि तिम्सिना भूमिगत गतिविधिमा सक्रिय भइन् । पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै उनको राजनीतिक यात्रा थप कठोर र जिम्मेवार बन्दै गयो । अनेम संघ क्रान्तिकारीको जिल्ला सदस्यबाट सुरु भएको यो यात्रा जिल्ला अध्यक्ष, कोचिला राज्य समितिको संयोजक, केन्द्रीय सदस्य हुँदै हाल केन्द्रीय सचिवसम्म आइपुगेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् ।
भूमिगत जीवन, जोखिम, अनिश्चितता र निरन्तर संघर्ष—यी सबै उनका राजनीतिक विद्यालय बने ।
राजनीतिक जीवनमा सफलता मात्रै होइन, पराजय पनि उनका अनुभवका हिस्सा बने । २०७० सालमा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बनेकी गिताले चुनावी हार भोगिन् । त्यो हारले उनलाई कमजोर होइन, अझ दृढ बनायो ।
२०७९ को निर्वाचनमा भने उनले समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यको रूपमा प्रतिनिधित्व गर्ने अवसर पाइन् । “अहिले फिल्डमा विभिन्न अभियान सञ्चालन भइरहेका छन्,” उनी भन्छिन्, “छरिएका जनमत फर्काउने, परिवर्तन भएका नेता–कार्यकर्तालाई सच्याउने प्रयास भइरहेको छ । माओवादी पार्टी फेरि जनताका लागि आशा दिने अवस्थामा पुगेको छ ।”
अखिलको राजनीतिक विद्यार्थी आन्दोलनदेखि प्रदेश नेतृत्वसम्मः यमुना विष्टको प्रतिबद्ध यात्रा
विद्यार्थी राजनीति हुँदै स्थानीय सरकार र प्रदेशस्तरीय नेतृत्वसम्म आइपुग्नु यमुना विष्टको राजनीतिक यात्राको सार हो । अध्ययन, संगठन र नेतृत्वलाई समानान्तर अघि बढाउँदै आएकी विष्ट आज नेकपा एमालेको प्रदेश कमिटी सदस्यका रूपमा क्रियाशील रहँदै महिला नेतृत्वको सशक्त उदाहरण बनेकी छन् ।
वीएल (एलएलवी) सम्मको औपचारिक शिक्षा हासिल गरेकी यमुना विष्टले २०३९ सालदेखि नेकपा एमालेको विद्यार्थी संगठन अखिलमार्फत राजनीतिक यात्रा सुरु गरेकी हुन् । विद्यार्थी आन्दोलनकै क्रममा उनले संगठन, अनुशासन र विचारको महत्व बुझिन्, जसले उनलाई दीर्घकालीन राजनीतिक यात्राका लागि तयार गरायो ।

राजनीतिक जीवनको बीचमा करिब १० वर्ष जर्मनी बसोबास गर्नु उनको जीवनको अर्को महत्वपूर्ण अध्याय हो । प्रवासमा रहँदा पनि उनको राजनीति र समाजप्रतिको सरोकार हराएन । नेपाल फर्किएपछि पुनः पार्टी संगठनमा सक्रिय हुँदै क्षेत्रीय कमिटीबाट जिम्मेवारी सम्हालिन् । उनी तीन कार्यकालसम्म क्षेत्रीय कमिटीमा रहेर संगठन सुदृढीकरणमा लागिन् ।
विष्ट दुई कार्यकाल जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहिन् । हाल उनी नेकपा एमालेको प्रदेश कमिटी सदस्यको रूपमा कार्यरत छन् । साथै, सुनवर्सी नगरपालिकाको पार्टी ईञ्चार्जको जिम्मेवारी पनि उनकै काँधमा छ ।
संगठनात्मक राजनीतिसँगै सामाजिक र धार्मिक क्षेत्रप्रति पनि उनको सक्रियता उल्लेखनीय छ । भुल्के जालपादेवी मन्दिरको अध्यक्षका रूपमा यमुना धार्मिक–सांस्कृतिक पहिचान संरक्षणमा लागिरहेकी छन् । पथरी खानेपानी संस्थामा पहिले उपाध्यक्ष र हाल सल्लाहकारको भूमिकामार्फत स्थानीय विकास र जनजीवनसँग जोडिएको काम गर्दै आएकी छन् । यस्तै, अनेम संघको केन्द्रीय कमिटी सदस्यका रूपमा महिलाको अधिकार, सशक्तीकरण र नेतृत्व विकासमा उनी निरन्तर सक्रिय छन् ।
एमालेका तर्फबाट उम्मेदवार भई पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएपछि उनले पाँच वर्षे कार्यकाल पूरा गरेकी छन् । सो अवधिमा न्यायिक समिति संयोजक र अनुगमन समिति संयोजकको जिम्मेवारी सम्हाल्दै उनले स्थानीय सरकारलाई जनमुखी र उत्तरदायी बनाउने प्रयास गरिन् ।
महिला नेतृत्वबारे यमुना विष्टको दृष्टिकोण स्पष्ट र आत्मविश्वासी छ । “हामी संसार देखाउने महिला हौँ, हाम्रो पहिचान आफैंले बनाउनु पर्छ,” उनी भन्छिन्, “सानातिना, झिना–मसिना समस्याबाट कहिल्यै डगमगाउनु हुँदैन । आफ्नो इमान, जमान र अस्तित्वलाई आफ्नो ठाउँमा राखेर अगाडि बढेपछि कहिल्यै पनि महिलाको नेतृत्व असफल हुँदैन ।”
संघर्ष, संगठन र दलित महिला आवाजको प्रतीकः कृष्णकुमारी वि.क.
ताप्लेजुङमा २०२८ फागुन १६ गते जन्मिएकी कृष्णकुमारी विश्वकर्मा (वि.क.)को जीवनकथा नेपाली कम्युनिष्ट आन्दोलनभित्रको लामो संघर्ष, निरन्तर संगठन र दलित महिलाको आवाज उठाउने यात्रासँग गाँसिएको छ । भौगोलिक रूपमा विकट पहाडबाट राजनीतिक चेतनाले भरिएको मन लिएर अघि बढेकी उनी आज पनि विचार र सिद्धान्तप्रति अडिग देखिन्छिन् ।
२०५० सालमा मोरङ इटहरा निवासी दुर्गाबहादुर विश्वकर्मासँग विवाह भएपछि २०५२ सालदेखि उनी पथरी क्षेत्रमा स्थायी रूपमा बसोबास गर्न थालिन् । तर उनको राजनीतिक यात्रा विवाहपछिमात्र सुरु भएको होइन । २०४५ सालमै उनी नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलको प्रारम्भिक कमिटीमा आबद्ध भइसकेकी थिइन् । २०४८ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेपछि उनको राजनीतिक यात्रा अझ व्यवस्थित बन्यो ।

अध्ययनका क्रममा उर्लाबारीस्थित राधिका माध्यमिक विद्यालयमा अखिलको इकाई कमिटीको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नु उनको प्रारम्भिक नेतृत्व अभ्यास थियो । विवाहपछि भने करिब दुई वर्षसम्म उनी सांगठनिक काममा निष्क्रिय भइन् ।
२०५४ सालदेखि उनी फेरि सक्रिय राजनीतिमा फर्किइन् । वडा तहबाट सुरु भएको उनको संगठनात्मक यात्रा इलाका कमिटी, क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटीसम्म फैलियो । पार्टीभित्र विभिन्न तह र तप्कामा बसेर काम गर्दा उनले संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र आन्दोलनका अनुभव बटुलिन् ।
अखिल नेपाल महिला संगठनको जिल्ला कमिटी सचिवालय सदस्यका रूपमा दुई कार्यकाल काम गरिन् भने त्यसपछि उप–सचिवको जिम्मेवारी पनि सम्हालिन् । यसैबीच, नेकपा एमालेको भातृ संगठन ‘मुक्ति समाज’मा जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै दलित समुदायको राजनीतिक प्रतिनिधित्व बलियो बनाउने प्रयास गरिन् ।
पथरीशनिश्चरेस्थित मायादेवी पार्कको संस्थापक अध्यक्षका रूपमा उनले सामाजिक र सामुदायिक विकासका कामहरू अघि बढाइन् ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनका बेला एमालेले दलित महिलातर्फ समानुपातिक उम्मेदवारको सूचीमा उनको नाम राखेको थियो । तर अन्तिम समयमा पार्टीले उपाध्यक्ष भरतमोहन अधिकारीलाई सिफारिस गरेपछि उनी अवसरबाट वञ्चित भइन् । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी गठन हुँदा उनी केन्द्रीय कमिटी सदस्य भइन् । पछि २०७९ को निर्वाचनमा पार्टीले समानुपातिक सांसदको दलित कोटामा पहिलो नम्बर सूचीमा उनको नाम राखेको थियो ।
पछिल्लो पार्टी एकीकरणपछि हाल उनी नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् । आफ्नो संघर्षबारे उनी आत्मविश्वासका साथ भन्छिन्—“अब पनि पार्टीले एउटा एकल महिला, दलित महिला हो भनेर अवसर दिएमा म जिम्मेवारी पूरा गर्छु, पछि हट्दिनँ ।”
हसन्दहको आवाज बनेकी देवीमाया काफ्लेः सादगी, संघर्ष र सेवाको निरन्तर यात्रा
पथरीशनिश्चरे नगरपालिका–६ की देवीमाया काफ्ले आज केवल नगरको उप–प्रमुख मात्र होइनन्, उनी हसन्दह भूगोलको लामो संघर्ष, उपेक्षा र सम्भावनाको प्रतिनिधि अनुहार पनि हुन् । कम्युनिष्ट आन्दोलन, महिला सशक्तीकरण, वन संरक्षण र किसानको हक–अधिकारका लागि दशकौँदेखि निरन्तर लागिरहेकी काफ्ले निष्ठावान र सादगी जीवनको पर्यायका रूपमा चिनिन्छिन् ।
काफ्लेको राजनीतिक यात्रा २०३५ सालदेखि सुरु हुन्छ । नेकपा एमालेको पार्टी सम्पर्कबाट अघि बढ्दै उनी हसन्दह गाउँ कमिटिको उप–सचिव हुँदै अध्यक्षसम्म पुगिन् । त्यसपछि क्षेत्रीय कमिटि हुँदै दुई कार्यकाल जिल्ला कमिटि सदस्यको भूमिकामा रहिन् । अखिल नेपाल महिला संघको क्षेत्रीय कमिटि उपाध्यक्षका रूपमा पनि उनको योगदान उल्लेखनीय छ ।

राजनीतिक यात्रासँगै उनले किसान आन्दोलन र महिला आन्दोलनलाई सँगसँगै अघि बढाइन् । देवीमाया वन संरक्षणकर्मीका रूपमा पनि उत्तिकै परिचित छिन् । २०५५ सालदेखि विशाल सामुदायिक वनको संस्थापक अध्यक्ष बनेकी उनी २०७९ सालसम्म निरन्तर यही जिम्मेवारीमा रहिन् । वन संरक्षण, दिगो उपयोग र स्थानीय सहभागिताको अभ्यासमा उनले उदाहरणीय काम गरिन् ।
यससँगै उनी पथरी कृषि सहकारी संस्थाको उपाध्यक्ष र हसन्दह साना किसानको उपाध्यक्षको जिम्मेवारीमा रहँदै किसानको आर्थिक सशक्तीकरणमा जुटिन् ।
हाल पथरीशनिश्चरे नगरपालिकाको उप–प्रमुख तथा न्यायिक समिति संयोजकको जिम्मेवारीमा रहेकी काफ्ले स्थानीय सरकारलाई न्याय, समन्वय र समावेशिताको दिशामा लैजान सक्रिय छिन् । जनताका दैनिक विवाददेखि सामाजिक न्यायका विषयमा न्यायिक समितिको भूमिका प्रभावकारी बनाउने प्रयासमा उनी निरन्तर छन् ।
हसन्दह भूगोलप्रति उनको चिन्ता र प्रतिबद्धता स्पष्ट देखिन्छ । “पथरीशनिश्चरे नगरपालिकाको दक्षिणतिरको हसन्दह जहिले पनि पिछडिएको र उपेक्षामा परेको ठाउँ हो,” उनी भन्छिन्, “विकास निर्माणमा खासै प्रगति भएको छैन । तर यहाँ जमिन प्रशस्त छ, धान, गहुँजस्ता खेतीबाट कृषि उत्पादन बढाएर कृषकलाई आत्मनिर्भर बनाउन सकिन्छ ।”
काफ्ले विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित देख्दिनन् । “विकास निर्माण भन्नासाथ बाटो, पैनी, कुलो मात्रै बुझ्ने प्रवृत्ति छ,” उनी भन्छिन्, “तर विकासको सर्वाङ्गीण पक्ष बुझ्नुपर्छ ।” नगरभित्रका तमाम समस्यालाई समग्र रूपमा समाधान गर्दै दीर्घकालीन विकासको आधार तयार गर्ने उनको प्रतिबद्धता स्पष्ट छ ।लामो समय कम्युनिष्ट आन्दोलनमा खर्चिएकी देवीमाया काफ्ले आज पनि सादगी जीवनमै रमाउँछिन् ।
जनमुक्ति सेनाबाट राजनीतिक नेतृत्वसम्मः लीला कटुवाल पौडेल (रञ्जु) को संघर्षपूर्ण यात्रा
ताप्लेजुङको पहाडी भूगोल, सामाजिक असमानता र जातीय विभेदको परिवेशमै हुर्किएकी लीला कटुवाल पौडेल (रञ्जु) को जीवन यात्रा नेपाली राजनीतिक इतिहासको एउटा सशक्त पाटो हो ।
ताप्लेजुङमा जन्मिएकी लीलालाई सानै उमेरदेखि समाजमा व्याप्त अन्याय, विभेद र असमानताले भविष्यमा राजनीतिक संघर्षको बाटोतर्फ डो¥यायो । २०५८ असार ७ गते नेकपा माओवादी पार्टीमा आबद्ध भएसँगै उनको जीवनले नयाँ मोड लियो । उमेरले अझै किशोरावस्थामै रहेकी लीला भूमिगत जीवनमा प्रवेश गरिन् । त्यो समय जनमुक्ति सेनाको औपचारिक संरचना बनिसकेको थिएन, केवल मिलिसियाको अवधारणा थियो । गाउँघरका भरुवा बन्दुक संकलन गरेर संघर्षको तयारी गरिन्थ्यो ।

सैनिक तालिम र संगठन निर्माणको क्रममा लीलाले आफू सेनामा हुनु अपरिहार्य ठानेर ४५ जनाको टोलीसँगै सैन्य मोर्चामा सक्रिय भइन् । इलामको बन्दुके प्रहरी चौकी, सिन्धुलीको भिमान, ओखलढुंगाको रुम्जाटार, भोजपुरको रिपिटर टावर, पाँचथरको गोपेटार प्रहरी चौकी, संखुवासभाको चैनपुर सशस्त्र प्रहरी बेस क्याम्प, खोटाङको ऐसेलु खर्क, मोरङको बेलबारी प्रहरी चौकीदेखि कैलालीको चिसापानीस्थित साही नेपाली सेनाको ब्यारेकसम्मका आक्रमण र प्रतिकारका मोर्चामा उनले प्रत्यक्ष युद्ध अनुभव प्राप्त गरेकी छन् ।
सिन्धुलीको भिमानमा १६ जना सहयोद्धाको सहादत आफ्नै आँखाले देखेकी लीलाले युद्धको कठोर यथार्थ नजिकबाट भोगेकी छन् । यही यात्रामा उनले कम्पनी कमाण्डर, सञ्चार विभागको जिम्मेवारी तथा रत्नसकुन्त स्मृति ब्रिगेड–१ नम्बर बटालियनको सचिव (सह–कमाण्डर) जस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकी छन् ।
जनमुक्ति सेनाबाट अवकासपछि पनि लीलाको संघर्ष अन्त्य भएन । उनले राजनीतिक यात्रालाई निरन्तरता दिँदै कोचिला राज्य समिति सदस्यको जिम्मेवारी सम्हालिन् । हाल उनी नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ३ (क) को ईञ्चार्जका रूपमा सक्रिय छन् । साथै, जनमुक्ति सेना नेपालको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहँदै सामाजिक र संगठनात्मक गतिविधिमा संलग्न छन् ।
गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा लेखा सदस्य, नव प्रतिभा सामाजिक क्लबको सह–सचिव जस्ता भूमिकामार्फत उनी समुदायस्तरको सशक्तिकरणमा लागिरहेकी छन् ।
पुरुषप्रधान समाजमा महिलाको भूमिका र नेतृत्वबारे लीलाको स्पष्ट धारणा छ । “पुरुषप्रधान देशमा महिलाले जिम्मेवारी पूरा गर्न सक्दैनन् भन्ने सोच छ,” उनी भन्छिन्, “तर महिलाले जिम्मेवारी पाएपछि अनेक समस्या पार गर्दै अघि बढिरहेका छन् ।” यही विश्वासका साथ उनी संसदीय व्यवस्थामार्फत एक पटक जनताको प्रतिनिधि भएर राजनीति गर्ने सोचमा छिन् ।
चुलो–चौकोबाट नेतृत्वसम्मः तुलसा याक्खाको आत्मविश्वास र सशक्तीकरणको यात्रा
महिला सशक्तीकरण, सामाजिक सक्रियता र राजनीतिक सहभागिताको कुरा गर्दा यहाँ एउटा नाम स्वाभाविक रूपमा अगाडि आउँछ—तुलसा याक्खा । उमेरले ४५ वर्ष पुगेकी तुलसा आज आत्मविश्वासका साथ नेतृत्वदायी भूमिकामा उभिएकी छन् ।
वि.सं. २०३६ वैशाख १७ गते पाँचथरस्थित हालको कुम्मायाक गाउँपालिकामा बुबा दलमान लावती र आमा दलमाया लावतीको कोखबाट जन्मिएकी तुलसाको विवाह मोरङ पथरीशनिश्चरे–८ का राजेन्द्र याक्खासँग भयो । परिवारबाट काम गर्न कुनै रोकतोक नभएको वातावरणले नै उनलाई समाज र संगठनमा सक्रिय बन्न प्रेरित ग¥यो । “परिवारले मेरो काम देखेर सधैँ साथ दियो,” उनी भन्छिन्, “त्यही विश्वासले मलाई निरन्तर अघि बढ्न हौसला मिल्यो ।”

तुलसा याक्खाको सामाजिक यात्रा स्थानीय परिवर्तनशील महिला बचत तथा ऋण सहकारी संस्थाबाट सुरु हुन्छ । उक्त संस्थामा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेर उनले नेतृत्वको पहिलो अभ्यास गरिन् । हाल उनी परिवर्तनशील महिला बचत तथा ऋण सहकारीकी सल्लाहकार संयोजकको भूमिकामा छिन् ।
यससँगै उनी वडा स्तरीय संयुक्त अन्तर पार्टी महिला सञ्जालको सदस्य, मंगलबारे आमा समूहकी अध्यक्षको जिम्मेवारीमा पनि सक्रिय छिन् । यी संस्थाहरूले उनलाई केवल अनुभव मात्र दिएनन्, सामाजिक रूपमा पनि बलियो बनाएका छन् ।
तुलसाले नेपाली कांग्रेसको भातृ संगठन महिला संघको तत्कालीन शनिश्चरे गाविस सभापतिको जिम्मेवारी सम्हालिसकेकी छन् । त्यसपछि पार्टीको क्षेत्रीय प्रतिनिधि हुँदै हाल उनी नेपाली कांग्रेस महासमिति सदस्यको जिम्मेवारीमा छिन् । राजनीति उनको लागि पद मात्र होइन, महिलाका आवाज उठाउने माध्यम बनेको छ ।
हाल तुलसा पथरीशनिश्चरे नगरपालिका–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष समेत हुन् । यही जिम्मेवारीले उनलाई आफूभित्रको ठूलो परिवर्तन महसुस गराएको छ । “पहिला बोल्नै आउँदैनथ्यो,” उनी खुलेर भन्छिन्, “अहिले नबोली हुँदैन । बोलीको विकास भएको छ ।”
वन समूहको अध्यक्ष बन्नुअघि वनसम्बन्धी कुनै ज्ञान थिएन । “क्युफिट र इन्चको हिसाब कसरी गर्ने भन्ने डर थियो,” उनी सम्झिन्छिन्, “तर काम गर्दै जाँदा अहिले सबै कुरा बुझ्न सक्ने भएकी छु ।”
तुलसाका लागि सुरुका दिनहरू सहज थिएनन् । “महिलाले बाहिर निस्केर काम गर्न खोज्दा ‘पोथी बास्यो’ भनेर गिज्याउँथे,” तुलसा भन्छिन् । चुनौती आए, आलोचना भयो, तर उनी रोकिइनन् ।
तुलसाको विश्वास स्पष्ट छ—महिला चुलो–चौकोमै सीमित हुनु हुँदैन । “लैङ्गिक समानताका लागि काम गर्न सक्ने ठाउँमा महिला नेतृत्व अनिवार्य छ,” उनी भन्छिन् । आर्थिक अवसर, खुला परिवेश र ‘म पनि केही गर्न सक्छु’ भन्ने आत्मविश्वासले महिलाहरू सामाजिक र राजनीतिक क्षेत्रमा अघि बढिरहेको उनको बुझाइ छ ।
सन्यासदेखि शंकराचार्यसम्मः हेमानन्द गिरीको आध्यात्मिक यात्रा
मोरङको पथरी शनिश्चरे क्षेत्रबाट विश्वव्यापी चर्चा कमाएकी धार्मिक साध्वी महिला हुन्— हेमानन्द गिरी । उनको पहिचान आज नेपालमा मात्र सीमित छैन, भारतदेखि मरिसस, हंगेरी लगायत करिब एक दर्जन देशमा प्रवचन गर्दै उनले सनातन धर्मको सन्देश फैलाइसकेकी छन् । हिन्दू धर्मको सर्वोच्च पद मानिने शंकराचार्य बनेर नयाँ इतिहास रचेकी उनी, महिला आध्यात्मिक नेतृत्वको सशक्त प्रतीकका रूपमा स्थापित भएकी छन् ।
पथरी शनिश्चरे–१, स्थित यलम्बर चोक निवासी हेमानन्द गिरीको सन्यासपूर्वको नाम हेमा ढुंगाना हो । सांसारिक जीवन त्यागेर सन्यासमा प्रवेश गरेपछि उनको नाम परिवर्तन भएको हो । धार्मिक जीवनअघि उनी विद्यार्थी राजनीतिमा सक्रिय थिइन् र त्यसपछि नेपाली कांग्रेसमा प्रभावशाली नेत्रीका रूपमा पनि परिचित रहिन् । तर राजनीतिक यात्राभन्दा भित्री आत्मिक खोज बलियो बनेपछि उनले सामाजिक र आध्यात्मिक बाटो रोजिन् ।

आफ्नी आमा तीला ढुंगानाको आध्यात्मिक सन्देशबाट प्रेरित हुँदै उनी छ वर्षको उमेरदेखि नै धर्म र साधनातर्फ आकर्षित भइन् । यही प्रेरणाले उनलाई १३ वर्षकै उमेरमा मेची–महाकाली पदयात्रा गर्नसम्म अग्रसर बनायो ।
एक समय पतञ्जली योगको महिला राष्ट्रिय अध्यक्ष रहेकी गिरी योग साधनाको क्रममा अझ गहिरो आध्यात्मिक बाटोमा तल्लिन भइन् । साधना, अनुशासन र प्रवचनमार्फत उनले आफूलाई अन्तर्राष्ट्रिय धार्मिक व्यक्तित्वका रूपमा स्थापित गरिन् ।
विश्वका साधुसन्तहरूको ठूलो संगठन मानिने भारतको जूना अखडाबाट उनी नेपालको पहिलो महामण्डलेश्वर चयन भइन् । त्यसपछि उनले आफूलाई ‘अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरी महाराज’का रूपमा चिनाउँदै आइन् ।
अखिल भारतीय विद्वत परिषद्, धर्म महामण्डल र विश्व हिन्दु परिषद्बाट उनलाई ‘प्रथम महिला जगतगुरु शंकराचार्य’ पदको घोषणा गरियो । यो पदवीले उनलाई हिन्दू धर्मावलम्बीहरूको सर्वोच्च स्थानमा पु¥यायो । तर यही उपलब्धिपछि पनि हिन्दू समाजभित्रैबाट गलत प्रचार र विरोध सहनुपरेको गुनासो उनी खुलेर व्यक्त गर्छिन् । “नेपालका नारीहरूले अझै ठूलो संघर्ष गर्न बाँकी छ,” गिरी भन्छिन्, “सन्यासी भएर विश्वको पहिलो महिला शंकराचार्यको पदवी पाउँदा पनि त्यसलाई गलत ढंगले प्रचार गरियो, यो दुःखद हो ।”
हेमानन्द गिरीकै अगुवाइमा पथरी शनिश्चरे–१ मा सुर्योदय छठ पोखरी निर्माण हुनु उनको सामाजिक योगदानको उदाहरण हो । धर्मलाई कर्मसँग जोड्ने उनको दृष्टिकोणले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म प्रभाव पारेको छ ।
हिन्दू धर्मावलम्बीहरूको सर्वोच्च पदमा पुग्न सफल गिरी भन्छिन्, “सनातन धर्म र संस्कृतिलाई जोगाउन म आफ्नो श्रम, शक्ति, विवेक र जीवन नै समर्पित गर्नेछु ।”
राजनीतिमा निरन्तर संघर्ष र भरोसाको यात्राः कविता भण्डारी पराजुली
लेटाङ, मोरङमा २०३८ फागुन १ गते जन्मिएकी कविता भण्डारी पराजुलीको जीवनयात्रा सामान्य गृहिणीको चौघेराभित्र सीमित छैन । विद्यार्थी जीवनदेखि नै राजनीतिक चेतनासँग जोडिँदै आएकी कविता आज नेपाली कांग्रेसभित्र निरन्तर संघर्ष, संगठन र महिला नेतृत्वको प्रतीकका रूपमा चिनिन्छिन् ।
एसएलसीसम्मको औपचारिक शिक्षा हासिल गरेकी कविता ५–६ कक्षा पढ्दादेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भइन् । किशोरावस्थामै मनमस्तिष्कमा राजनीतिक चेतनाको बीउ रोपिएकी उनी विवाहपछि पनि राजनीतिबाट टाढिइनन् । २०५४÷५५ तिर उनी नेपाली कांग्रेस पार्टीको क्षेत्रीय सदस्य बनिन् ।

महिला नेतृत्वमा उनको भूमिका स्थानीय तहमा अझ सशक्त देखिन्छ । तत्कालीन महिला संघ पथरी गाविसको कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्दै उनले महिलालाई संगठित गर्ने, अधिकार र चेतनाको सवालमा आवाज उठाउने काम गरिन् । केवल राजनीतिमै सीमित नभई सहकारी आन्दोलनमा समेत उनको सक्रियता उल्लेखनीय रह्यो । स्थानीय दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको लगातार तीन कार्यकाल अध्यक्ष भएर नेतृत्व गरेकी कविता हाल मनकामना सहकारीको दोस्रो कार्यकालमा उपाध्यक्षका रूपमा कार्यरत छन् ।
अन्तर पार्टी महिला सञ्जालमा रहेर लामो समय काम गरेको अनुभवले उनलाई फराकिलो दृष्टिकोण दिएको छ । फरक–फरक राजनीतिक पृष्ठभूमिका महिलाहरूसँग सहकार्य गर्दै साझा मुद्दामा अघि बढ्ने क्षमता उनको अर्को विशेषता हो ।
वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा उनले पथरीशनिश्चरे नगरपालिकाको उप–प्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिइन् । चुनावी प्रतिस्पर्धामा देवीमाया काफ्लेसँग ३६५ मतको सानो अन्तरले पराजित भए पनि उनले यसलाई निराशा होइन, सिकाइको रूपमा लिइन् । “निर्वाचनका बेला यहाँका जनताले एकदम साथ दिनुभएको हो,” उनी भन्छिन्, “केही कमीकमजोरी भए होलान् । वडा नम्बर ५ मा वडाध्यक्षका बागी उम्मेदवार भएकाले पनि मत प्रभावित भयो होला । तर हार–जित चुनावको स्वाभाविक प्रक्रिया हो, यसले मलाई अझ धेरै सिकायो ।”
हाल उनी नेपाली कांग्रेसको महासमिति सदस्यको जिम्मेवारीमा छिन् । “नेपाली कांग्रेसले क्षमता, इच्छा र चाहना हुने महिलालाई अवसर दिन्छ,” कविता भन्छिन्, “इच्छा नै नहुनेलाई जबर्जस्ती अघि बढ भन्न मिल्दैन । हाम्रो पार्टीमा महिलालाई रोक्ने संस्कृति छैन ।”
आगामी दिनमा पार्टीले जुनसुकै जिम्मेवारी दिए पनि इमानदारीपूर्वक पूरा गर्न आफू तयार रहेको उनको भनाइ छ ।
कलामार्फत सामाजिक रूपान्तरणको यात्रामा सरोजा खड्गी
महिला मनोविज्ञानलाई कुशल ढंगले क्यानभासमा पस्कन सिपालु कलाकार हुन् –सरोजा खड्गी । मोरङ जिल्लाको पथरीशनिश्चरेमा बसेर कला साधना गर्दै आएकी सरोजा पूर्वी नेपालकै चम्किलो तारा हुन् । कलामार्फत सामाजिक रूपान्तरणका लागि सक्रिय भएस्वरूप उनी विभिन्न निकायबाट सम्मानित छिन् ।
विगतमा उर्लाबारीको पशुपति बोर्डिङ स्कुलका बालबालिकालाई उनले ११ वर्षसम्म कला सिकाएकी थिइन् । अचेल पथरीशनिश्चरेमै ‘एभरेष्ट आर्ट फ्युजन ग्यालरी’मा सिकाउँछिन् । केही समय पथरीकै पञ्चायत माविमा पनि सिकाइन् । उनको समूह पथरीशनिश्चरेमै ललितकला क्याम्पस खोल्ने अभियानमा जुटेको छ । उनीहरूले तीन वर्षअघि पथरी सेरामिक्स उद्योग समेत खोलेका छन् ।

उनी पथरी शनिश्चरे नगरपालिकाको ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’की कोषाध्यक्ष पनि हुन् । त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा सदस्यका रूपमा क्रियाशील छिन् । एउटा स्थापित कलाकार बन्न उनले निकै महेनत गरेकी छिन् । विद्यालय जीवनदेखि नै कलाकर्ममा अग्रसर सरोजाले पचासको दशकमा १० महिना काठमाडौंको सिर्जना कन्टेम्प्ररी आर्ट ग्यालरीमा औपचारिक रूपमा कला अध्ययन गरेकी थिइन् ।
उनका बुबा विष्णुप्रसाद र आमा मिना जमानाका राम्रा कलाकार थिए । उनमा उनीहरूकै प्रभाव परेको छ । जीवनमा ४ पटकसम्म एकल प्रदर्शनी गरेकी सरोजा सामाजिक विषयवस्तुलाई कलात्मक उठान गर्न निपुण छिन् । ‘कलाबाट आत्मसंतुष्टि पाएकी छु’, ४९ वर्षीया सरोजाले भनिन्, ‘कलामार्फत सामाजिक जागरणको सन्देश बाँड्न पाउँदा मनमा आनन्द मिल्छ । त्यसैले म बाँचुँन्जेल कलाकर्ममा समर्पित रहनेछु ।’
