पथरी । पथरी शनिश्चरेमा स्थापित रेडस्टार अंग्रेजी आवासीय मावि÷ ऋतम्भरा बहुमुखी क्याम्पसले कक्षा ११ र बि.बि.एस. प्रथम वर्षका विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । विद्यालयका निर्देशक÷प्रिन्सिपल टी.एन. तिम्सिनाले विद्यालयले सात वर्षदेखि निरन्तर उत्कृष्ट शैक्षिक नतिजा ल्याउँदै आएको जानकारी गराउनुभयो । तिम्सिनाका अनुसार भर्खरै प्रकाशित राष्ट्रिय परीक्षा बोर्डको नतिजामा कक्षा १२ का चन्दन शाहले ३.९६ जीपीए ल्याउन सफल भएका छन् । शाहलाई प्रदेश प्रमुख खापुङ र नेपाली चलचित्रका महानायक राजेश हमालले सम्मान गर्नुभएको थियो ।
उक्त अवसरमा राजेश हमालले रेडस्टार मावि र ऋतम्भरा कलेज एक अब्बल दर्जाको शैक्षिक केन्द्रका रूपमा स्थापित भएको उल्लेख गर्दै विद्यार्थीलाई थप शैक्षिक उन्नतिका लागि शुभकामना दिनुभयो । हमालले कक्षा ११ र बि.बि.एस. प्रथम वर्षका नयाँ विद्यार्थीलाई उत्प्रेरणात्मक अनुभव पनि सुनाउनुभयो । कार्यक्रममा विद्यालयका छात्र÷छात्राहरुले सांगीतिक प्रस्तुति पस्की उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले गीत र नृत्यमार्फत राजेश हमाललाई स्टेजमै नचाएका थिए । यस्तै अभिमुखीकरण कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवी माया काफ्ले, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, वडाध्यक्षहरू नैना राई, विजय लिम्बु, लोक किरण न्यौपाने, उद्घव बस्नेत, कृष्णबहादुर बस्नेत, उद्ववराज बस्नेत, ईलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल लगायतको उपस्थिति थियो ।

