काठमाडौं । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्दैछन् । भोजपुरे दुई चेलीले बुधबार राष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गरेका छन् ।
वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा सबै नेपालीहरु जानकार छन् । तर, राष्ट्रपतिका लागि एकाएक उम्मदेवार दर्ता गरेपछि चर्चामा आएकी कुमारी लक्ष्मी राई पनि राजनीतिक इतिहास बोकेकी नेतृ हुन् ।
कांग्रेस नेतृ राई दोस्रो संविधानसभामा समानुपातिकतर्फकी सभासद थिइन् । उनको अघिल्लो पुस्ता पनि राजनीतिमा थियो । लक्ष्मीका पिता दिवानसिंह राई २०१६ साल वीपी कोइरालाको मन्त्रीमण्डलमा मन्त्रीसमेत बनेका थिए । दिवानसिंह ०१५ सालमा भोजपुरबाट निर्वाचन सांसद हुन् ।
दिवानसिंह पञ्चायतकालमा मोरङको वयरवनमा भएको झोडाकाण्डमा कम्युनिष्ट कार्यकर्ताको आक्रमणबाट मारिएका थिए । लक्ष्मी राईले ०३० सालदेखि नेपाली कांग्रेसको राजनीति गरेकी हुन् । विद्यादेवी भण्डारीले ०३५ सालदेखि वाम राजनीति थालेकी हुन् ।
औपचारिक शिक्षामा भने विद्याले बिराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह सकेकी छिन् भने लक्ष्मीले सेन्ट मेरिजबाट स्कुल शिक्षा सकेर त्रिविबाट अंग्रेजीमा स्नातकोत्तर गरेकी छिन् । विद्यादेवी भण्डारीले यसअघि पटकपटक सांसद र मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् । उनी एमालेमा बरिष्ठ उपाध्यक्षसम्म बनिसकेकी नेतृ हुन् ।
काँग्रेसले उम्मेदवार खडा गरेपनि मुलुकको तेस्रो राष्ट्रपति भण्डारी निर्वाचित हुने निश्चित छ । किनकी बाम गठबन्धनको संघीय संसद र प्रदेशसभामा करिब दुईतिहाई मत रहेको छ ।
यसअघि एमालेबाट राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । तर, अध्यक्ष केपी ओलीको जोडबलमा मंगलबार मध्यरातसम्म बसेको एमाले स्थायी समिति बैठकले भण्डारीको नाममा सहमति जुटाएको थियो ।
भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बन्नुभएको थियो । दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग लबिङ गर्दै आउनुभएको थियो ।
भण्डारीको कार्यकाल छोटो भएको भन्दै एमालेमा ओलीपक्षीय नेताहरुले उनलाई दोहो¥याउनुपर्ने मत सुरुदेखि नै राख्दै आएका थिए । अन्य नेताहरुले भने सेरोमोनियल पदमा दोहोरिनुको अर्थ नहुने भन्दै अर्कोलाई अवसर दिनृुपर्ने मत राखेपनि अन्तिममा भण्डारीकै पक्षमा सहमति जुटेको हो ।
गणतन्त्र घोषणापछि पहिलो राष्ट्रपति डा.रामवरण यादवले ७ वर्षभन्दा लामो कार्यकाल विताएका थिए भने भण्डारीको कार्यकाल पनि यादवकै जस्तो लामो हुने भएको छ ।