पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल सम्पन्न भएको छ। नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा नगरपालिकाको सभाहलमा आयोजित बैठकले नियमित खोप कार्यक्रम र पूर्णखोप सुनिश्चिततासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो।
छलफलपछि फागुन महिनाको नियमित खोप कार्यक्रमको मितिमा आंशिक हेरफेर गर्ने निर्णय गरिएको छ। यसअघि फागुन २० गतेदेखि २३ गतेसम्म सबै वडामा सञ्चालन गर्ने तय भए पनि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन परेकाले उक्त दिनको खोप कार्यक्रम २२ र २३ गते सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
बैठकले पूर्णखोप वडा तथा पालिका सुनिश्चितता र दिगोपनालाई प्रभावकारी बनाउन विशेष पहल गर्ने निर्णय पनि गरेको छ। नगरका १० वटै वडाका सबै खोप केन्द्रबाट प्रदान गरिएका खोपमध्ये ५ वर्षमुनिका बालबालिकामा ड्रपआउट (खोप छुट) भएका बालबालिका फेला परेमा चालु फागुन महिनाकै नियमित खोप कार्यक्रममार्फत उनीहरूलाई पूर्ण खोप प्रदान गरिनेछ। त्यसपछि वडा तथा पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगो घोषणा गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा नगरका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नगर प्रमुख मोहनप्रसाद तुम्वापोले पूर्णखोप सुनिश्चितता अभियानलाई सफल बनाउन सबै सरोकारवालाको सक्रिय समन्वय आवश्यक रहेको बताए।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वरिष्ठ जनस्वास्थ्य अधिकृत जगतप्रसाद मगर तथा जनस्वास्थ्य अधिकृत एकराज खत्रीले नियमित खोप कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन निर्देशनात्मक धारणा राखेका थिए।
बैठकमा वडाध्यक्षहरू जीवन खतिवडा, उद्धवराज बस्नेत, भीम राई, नविन कार्की तथा कार्यपालिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
नगरपालिकाले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरी बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

