पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु भएको छ । वडा नम्बर १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको हो ।
उद्घाटन समारोहमा नगर प्रमुख तुम्वापोले ब्यानर वाचन गर्दै तथा भलिबल कोर्टमा सर्भिस गरेर प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभयो । उहाँले राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरमै खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खेलकुदलाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर १ का वडाध्यक्ष भीम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूको आकर्षक मार्चपास प्रस्तुत गरिएको थियो भने पञ्चायत माविका कक्षा १२ मा अध्ययनरत छात्राद्वयले ‘भुइँसोरी ढोले है…’ बोलको गीतमा स्वागत नृत्य प्रस्तुत गरेर समारोहलाई रंगीन बनाएका थिए ।
यसअघि पथरी शनिश्चरेमा सञ्चालन हुँदै आएका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले नगरलाई खेलकुदको उर्वर थलोका रूपमा स्थापित गर्न सहयोग गर्दै आएको छ । अघिल्ला वर्षहरूमा सम्पन्न प्रतियोगिताबाट एथलेटिक्स, भलिबल, कबड्डी, दौड लगायतका विधामा यहाँका विद्यार्थीहरूले जिल्ला तथा प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नगरको नाम चिनाएका थिए । केही खेलाडीहरू त प्रदेश टोली हुँदै राष्ट्रिय प्रतियोगितासम्म पुग्न सफल भएका उदाहरणहरू पनि छन् । यही उपलब्धिले नगरपालिकालाई खेलकुद पूर्वाधार विस्तार र विद्यालयस्तरमा नियमित खेल गतिविधि सञ्चालनतर्फ थप प्रेरित गरेको देखिन्छ ।

उद्घाटन कार्यक्रममा प्याव्सन नगर अध्यक्ष सन्तोष बस्नेत तथा भागिरथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जानकी चेम्जोङले प्रतियोगिताको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा सञ्चालन भएको सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि माघ २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।



