पथरी शनिश्चरे । पथरीमा जारी दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप २०८२ को उपाधि उर्लाबारी भेट्रान्स, मोरङले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा उर्लाबारी भेट्रान्सले सतिशाले भेट्रान्स, मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
निर्धारित समयको दोस्रो हाफको सुरुवातमै निरु लिम्बुले पहिलो गोल गर्दै उर्लाबारीलाई अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा जीवन लिम्बुले दोस्रो गोल थपेपछि उर्लाबारी भेट्रान्सको जित सुनिश्चित भएको थियो।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका उर्लाबारी भेट्रान्सका विकास राई ‘भेट्रान्स अफ दि म्याच’ घोषित भए। प्रतियोगिताअन्तर्गत विभिन्न विधामा खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो। उर्लाबारी भेट्रान्सका गोलरक्षक विनोद गौतमले ‘गोल्डेन ग्लोभ’ प्राप्त गरे भने सतिशाले भेट्रान्सका जीवन लिम्बु र निरु लिम्बुले क्रमशः ‘गोल्डेन बुट’ र ‘गोल्डेन बल’ हात पारे।
समापन समारोहका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं. २ का वडाध्यक्ष नैना साम्पाङ राई, आयोजक समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, शैक्षिक अभियन्ता तथा समाजसेवी प्रदीपकुमार राई, वडा सदस्य चन्द्रकुमार राईलगायतले उत्कृष्ट खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरे।
पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा विजेता उर्लाबारी भेट्रान्सले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता सतिशाले भेट्रान्सले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ।
झापा, मोरङ र सुनसरीका ८ वटा भेट्रान्स फुटबल क्लबको सहभागिता रहेको उक्त प्रतियोगिता गत १७ गतेदेखि पथरी शनिश्चरे वडा नं. १ स्थित जाँते रोडको प्रस्तावित रंगशालामा सञ्चालन भएको थियो। प्रतियोगिताको मुख्य सहयोगी पथरी शनिश्चरे नगरपालिका रहेको थियो।


