पथरी शनिश्चरे । नेपाली रंगमञ्चको इतिहास हेर्दा धेरै कलाकार राजधानीमै सीमित देखिन्छन् । तर जीवन बराल र सुमन कुइकेल दम्पती भने यस प्रवृत्तिलाई चुनौती दिँदै रंगमञ्चलाई गाउँ–गाउँसम्म पु¥याउने अभियानमा लागिरहेका छन् । उनीहरूका लागि रंगमञ्च केवल मनोरञ्जन होइन, समाज परिवर्तनको सशक्त माध्यम हो ।
राजधानी काठमाडौंको सुविधा र सम्भावनालाई पछाडि छोडेर जन्मनगरी पथरी शनिश्चरेलाई कर्मथलो बनाउनु आफैंमा साहसिक निर्णय थियो । यही निर्णयले आज मोरङको ग्रामीण भेगमा नाटक हेर्ने दर्शक मात्र बढाएको छैन, नयाँ कलाकारहरूको पुस्ता पनि जन्माइरहेको छ ।
२०५२ सालदेखि निरन्तर रंगमञ्चमा सक्रिय जीवन बराल नेपाली नाट्य क्षेत्रमा स्थापित नाम हुन् । दुई सयभन्दा बढी नाटकमा अभिनय तथा निर्देशन गरिसकेका उनले ‘हेत्चाकुप्पा’, ‘सिबियू चरा’, ‘थारु कल्चर’, ‘छाउपडी प्रथा’ जस्ता सामाजिक विषयवस्तु बोकेका नाटकमार्फत समाजका पीडा र प्रश्नलाई मञ्चमा उतारे । रेडियो नाटकमा समेत प्रभावशाली उपस्थिति जनाएका जीवन निर्देशक र प्रशिक्षकका रूपमा पनि उत्तिकै सक्रिय छन् ।
रंगमञ्चसँगै चलचित्र यात्रामा पनि उनको योगदान उल्लेखनीय छ । ‘जारी–२’, ‘मनसरा’, ‘बलिदान’, ‘बोक्सीको घर’, ‘प्रेमगीत–३’, ‘निरफुल’ र ‘महानगर’ जस्ता चर्चित चलचित्रमा अभिनय गर्दै उनले दर्शकको मन जितिसकेका छन् ।
जीवनको यात्रामा सुमन कुइकेल केवल सहयात्री मात्र होइनन्, रंगमञ्चकै सशक्त स्तम्भ हुन् । सुमनको अभिनयमा नारी संवेदना, दृढता र सामाजिक चेतना गहिरो रूपमा झल्किन्छ । विशेष गरी ‘देउराली रुन्छ’ र ‘चरणदास चोर’ नाटकमा उनको मुख्य भूमिकाले दर्शकलाई गहिरो प्रभाव पा¥यो । यी नाटकहरू कोरोना महामारीपछि पथरी शनिश्चरेमा हप्तौँसम्म मञ्चन हुनु ग्रामीण रंगमञ्चको पुनर्जागरणकै संकेत थियो ।
जीवनको नाट्य यात्राको सुरुवात प्रगतिशील साप्ताहिक मञ्चबाट भएको हो । लालिगुराँस सामुदायिक विकास केन्द्र, बौद्धिक तथा खेलकुद विकास समितिद्वारा आयोजित साहित्यिक कार्यक्रमहरूले उनको बाटो अझ फराकिलो बनायो । मेनुका कुलुङ, लिला राई, मुना खनाल, सरोज तिम्सिना, रुपेश तिम्सिना, भोला तिम्सिना, अर्जुन खतिवडा, लक्ष्मी खतिवडा, प्रकाश दाहाल, मात्रिका अधिकारीजस्ता सहयात्रीहरूसँगै उनले रंगमञ्चमा संघर्षका दिन बिताए ।
६० को दशकमा ‘चोलुङ÷चोत्लुङ’ नाटकको क्रममा जीवन र सुमनबीच जीवनयात्राको सम्बन्ध गाँसियो । गन्तव्य थिएटर दमकमा भएको उनीहरूको विवाह स्वयं रंगमञ्चकै उत्सवजस्तै बनेको थियो ।
२०६५ सालपछि काठमाडौंमा रहेर ‘मेरी बास्सै’, ‘हिजो आजका कुरा’, ‘किलो टांगो’, ‘कथैकथाको यो संसार’, ‘एउटै आँगन’, ‘जीवनचक्र’, ‘थोरै भए पुगिसरी’ र ‘सिंहदरबार–२’ जस्ता टेलिसिरियलमार्फत उनीहरूले लोकप्रियता हासिल गरे । तर सिकाइलाई सीमित नराखी, सिल्पी थिएटरबाट आर्जित अनुभव बोकेर उनीहरू पुनः आफ्नै नगर फर्किए ।
आज पथरी शनिश्चरेका चार विद्यालयमा अनुबन्धित भएर नाटक कक्षा सञ्चालन गर्नु उनीहरूको दीर्घकालीन सोचको प्रमाण हो । कलाकार उत्पादन, दर्शक निर्माण र सामाजिक चेतना फैलाउने अभियानमै उनीहरू केन्द्रित छन् ।
काब्य र सर्जक नामका दुई छोरासहित स्वागत टोलमा बस्दै आएका जीवन र सुमनको जीवन स्वयं रंगमञ्च जस्तै अनुशासन, संघर्ष र सिर्जनाले भरिएको छ । उनीहरूको यात्रा बताउँछ—रंगमञ्चको केन्द्र राजधानी होइन, जहाँ समर्पण छ, त्यही नै रंगमञ्चको राजधानी हो ।

