महिला जागृति सामुदायिक वनद्वारा जेनजी आन्दोलनमा क्षति पुगेका वडा कार्यालयलाई सामग्री सहयोग - Pahilo Online

महिला जागृति सामुदायिक वनद्वारा जेनजी आन्दोलनमा क्षति पुगेका वडा कार्यालयलाई सामग्री सहयोग

writer

मोहन भट्टराई

मोरङ, पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका वडा कार्यालयहरुलाई आवश्यक सामग्री प्रदान गरेको छ । वन समूहले आफ्नो उपभोक्ता क्षेत्रभित्र पर्ने वडा नं. ४, ८ र ९ का वडा कार्यालयहरुलाई सहयोगस्वरूप सामग्री हस्तान्तरण गरेको हो ।
समूहले वडा नं. ४ लाई २२ थान प्लास्टिक कुर्सी, वडा नं. ८ र ९ लाई एक–एक थान स्टिल दराज प्रदान गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले भने, “जेनजी आन्दोलनको समयमा क्षति पुगेका कार्यालय पुनः सञ्चालनमा ल्याउन यस किसिमको सहयोगले ठूलो हौसला मिलेको छ । सामुदायिक वन समूहले देखाएको उत्तरदायित्वप्रति हामी आभारी छौं,” भन्दै धन्यवाद व्यक्त गरे ।
यस्तै, वडा नं. ८ का वडाध्यक्ष नविन कार्कीले वन समूहको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा गर्दै भने, “समुदायबाटै आएको सहयोग नै सबैभन्दा प्रभावकारी हुन्छ । यो सहयोगले हाम्रो कार्यालयको नियमित सेवा प्रवाहमा सहजता ल्याएको छ ।”
त्यसैगरी, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईले भने, “संकटपछि पुनःस्थापना गर्न कठिनाइ भएको अवस्थामा महिला जागृति वनले देखाएको सहयोगको भावना प्रेरणादायी छ,” भन्दै समूहप्रति आभार प्रकट गरे ।
सो अवसरमा महिला जागृति सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष तुलसा याखाले भनिन्, “हामीले धेरै ठूलो सहयोग गर्न नसके पनि, सानो पहलले पनि सामुदायिक वन र स्थानीय निकायबीच सहकार्यको भावना बलियो बनोस् भन्ने उद्देश्यले यो कदम चालिएको हो।”
उनले थपिन्, “वन समूह केवल वन संरक्षणमा सीमित छैन, हामीले शिक्षा, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वमा समेत सक्रिय योगदान गर्दै आएका छौं । भविष्यमा पनि यस्ता सामुदायिक कार्यलाई निरन्तरता दिनेछौं।”
सामग्री हस्तान्तरण कार्यक्रममा समूहका सचिव तुलसीराम श्रेष्ठ, सह–सचिव मुना पाण्डे, कोषाध्यक्ष चन्द्रकला न्यौपाने, लेखा समिति सदस्य होमप्रसाद काफ्लेलगायत कार्यसमिति तथा उपसमितिका सदस्य र स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले यसअघि पनि वन संरक्षण, हरियाली विस्तार, विद्यालय सहयोग र प्राकृतिक विपद्का बेला राहत सहयोगजस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles