मोरङमा पहिलो पटक पञ्जा लडाई प्रतियोगिता - Pahilo Online

मोरङमा पहिलो पटक पञ्जा लडाई प्रतियोगिता

writer

मोहन भट्टराई

शनिश्चरे । मोरङ जिल्लामा पहिलो पटक पञ्जा लडाई प्रतियोगिता भएको छ । नेपालमा पञ्जा लडाई परम्परागत रूपमा मेलापातमा रमाइलोका लागि खेलिने खेल जिल्लामा पहिलो पटक शनिबार पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ९ अवस्थित शनिश्चरे बजारमा आर्म रेस्लिङ टुर्नामेन्ट (पञ्जा लडाई) प्रतियोगिता सम्पन्न भएको हो ।

शनिश्चरे बजारमा अवस्थित द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२’ आर्म रेस्लिङ टुर्नामेन्ट भव्य रुपमा सम्पन्न भएको हो ।

जिम हलका सञ्चालक लोक तामाङको सभापतित्वमा भएको सो प्रतियोगिता कार्यक्रम संयोजक विशाल बर्देवाले स्वागत मन्तव्यद्वारा प्रतियोगिताको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुस्लिङ र पथरीशनिश्चरे वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईबीच पञ्जा लडाएर खेलको उद्घाटन गरिएको थियो ।

प्रतियोगिताको उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङले पञ्जा लडाई परम्परागत रूपमा मेलापातमा रमाइलोका लागि खेलिने खेल जिल्लामा पहिलो पटक प्रतियोगितात्मक रूपमा सुरु भएकोमा खुशी व्यक्त गरे । सुस्लिङले नेपालमा अझै यो खेललाई सरकारी खेल सङ्घ÷संस्थाले औपचारिक मान्यता नदिएको तर युवाबीच धेरै लोकप्रिय रहेको बताए । उनले भने, ‘नेपालमा अझै यो खेललाई सरकारी खेल संघ–संस्थाले औपचारिक मान्यता दिएको छैन तर युवाबीच यसप्रति बढ्दो आकर्षण देखिन्छ ।’


यसैगरी, कार्यक्रमका अतिथि पथरीशनिश्चरे वडा नम्बर ७ का वडाध्यक्ष उद्धब बस्नेतले खेल जुनसुकै भएपनि यसले युवा पुस्तालाई दुव्र्यसनीबाट जोगाउँदै नगर र मुलुकलाई नै विश्वमा चिनाउने बताए । वडाध्यक्ष बस्नेतले आगामी दिनमा यस्ता किसिमका लोप हुनलागेका परम्परागत खेललाई निरन्तरता दिन आफुले वडाको तर्फबाट प्रयाप्त सहयोग गर्ने बचन समेत दिए ।


सुमन कुरुङबाङले सञ्चालन गरेको कार्यक्रममा पथरीशनिश्चरे वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु, ४ नं. वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. ८ का वडाध्यक्ष नविन कार्की, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, भागिरथ मावि व्यवस्थापन समिति अध्यक्ष पर्शुराम कार्की, समाजसेवी गंगा साँवालगायतको उपस्थिति रहेको थियो ।

तीन समूहमा प्रतिष्पर्धा गराईएको सो प्रतियोगितामा ०–५५ केजी तौल समूहबाट नारायण सुन्दास प्रथम, आर्यन श्रेष्ठ दोस्रो र उजन तामाङ तेस्रो भएका थिए । यस्तै, ५५—६५ केजी तौल समूहबाट विश्वास थापा प्रथम, सुजन विश्वकर्मा दोस्रो र प्रवेश लिम्बु तेस्रो भएका थिए । र, ६५–७५ केजी तौल समूहबाट मौशम लिम्बु प्रथम, सुमन लिम्बु दोस्रो र शुक्र विश्वकर्मा तेस्रो भएका थिए । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेहरुले क्रमशः ५, ३ र २ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

अन्य जिल्लामा पञ्जा लडाई प्रतियोगिता
नेपालमा पञ्जा लडाई औपचारिक खेलको रूपमा अझै प्रारम्भिक चरणमै छ । तर पछिल्लो समय विभिन्न जिल्लामा यसप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा विगत केही वर्षयता विभिन्न फिटनेस क्लबले अन्तर–जिल्ला प्रतियोगिता आयोजना गर्दै आएका छन् । पोखरा र चितवन मा पनि आर्म रेस्लिङ प्रतियोगिता गरी स्थानीय स्तरमा खेलाडी उत्पादन भइरहेको छ । केही वर्षअघि धरान र इटहरीमा समेत युवाहरूमाझ लोकप्रिय हुने गरी खुला प्रतियोगिता गरिएको थियो ।
तर अझै यो खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आधिकारिक रूपमा दर्ता भएको छैन ।

अन्तर्राष्ट्रिय स्तरमा पञ्जा लडाई
विश्वमा पञ्जा लडाईलाई Arm Wrestling को रूपमा परिचित छ । World Armwrestling Federation (WAF) ले यस खेललाई व्यवस्थित ढंगले सञ्चालन गर्दै आएको छ । विश्वका ८० भन्दा बढी देश यस सङ्घसँग आबद्ध छन् ।

वार्षिक रूपमा World Armwrestling Championship आयोजना हुन्छ, जसमा हजारौं खेलाडीले सहभागिता जनाउँछन् ।
युरोप, अमेरिका, रुस, कजाकिस्तान र टर्कीलाई यस खेलका ‘पावरहाउस’ राष्ट्र मानिन्छ । Professional Armwrestling League (PAL) मार्फत व्यावसायिक खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमै राम्रो आम्दानी गर्ने अवसर पाएका छन् ।

नेपालमा भविष्यको सम्भावना
नेपालमा औपचारिक मान्यता नपाए पनि आर्म रेस्लिङ क्लब र जिमहरूले आफ्नै पहलमा प्रतियोगिता आयोजना गर्न थालेपछि यो खेलको भविष्य उज्ज्वल देखिएको छ । युवाहरूको बढ्दो रुचि, ग्रामीण मेलापातमै जगेर्ना पाइरहेको परम्परागत स्वरूप र फिटनेस संस्कृति फैलिँदै गएकाले यसलाई भविष्यमा राष्ट्रिय खेलकुद परिषद्ले औपचारिक मान्यता दिने अपेक्षा गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles