त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जित्यो - Pahilo Online

त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जित्यो

writer

काठमाण्डौ । त्रिदेशीय फुटबलको उपाधि नेपालले घरेलु मैदानमा कब्जा गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेको हो । नेपालका लागि लागि खेलको १८ औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो । बङ्गलादेशले खेलको ८३ औँ मिनेटमा गोल फर्काएको हो ।

यो जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो । लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा ठाउँ बनाएको थियो । बङ्गलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक–शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

आजको जीतसँगै नेपालको गोलविहीनताको खडेरी पनि तोडिएको छ । पछिल्ला सात खेलमा गोल गर्न नसकेको नेपालले आज दुई गोल गर्दै गोलको खडेरी तोडेको हो । १० सेप्टेम्बर २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपालले पछिल्लो १८ महिनामा गोल गर्न सकेको थिएन ।

उपाधि जितेको नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बङ्गलादेशले भने तीन हजार डलर प्राप्त गरेको छ । यही महिना आयोजना हुने तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले विश्व कप छनोट तयारीलाई मध्यनजर गर्दै त्रिदेशीय कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

यही खेलबाट राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि घरेलु फुटबल खेल्ने महर्जनले बताएका छन् । उनलाई खेल हेर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर प्रदान गरेका थिए । खेल अवधिभर मैदानमा बिताएका प्रधानमन्त्री ओलीले नेपालले गोल गर्दा उठेर ताली बजाउँदै खेलाडीको हौसला बढाएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes