मेलम्चीको सुरुङमा समस्या नआए तीन महिनापछि पानी बाँड्न सकिने - Pahilo Online

मेलम्चीको सुरुङमा समस्या नआए तीन महिनापछि पानी बाँड्न सकिने

writer

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न पानी हालिएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले पानी खोलेर सुरुङ भर्ने कामको सुरुवात गरे । साढे २६ किलोमिटर लामो सुरुङमा गएको असारमै पानी भनेर परीक्षण गरिएको थियो तर त्यसबेला हेलम्बु गाउँपालिका १ मा रहेको मुख्य गेट फुटेर दुर्घटना भएको थियो । दुर्घटनापछि गेटमा देखिएको त्रुटिलाई सुधार गरेर सोमवार फेरि परीक्षणको काम सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

एक जना इञ्जिनियर र एक जना चालकलाई बगाउने गरी भएको दुर्घटनापछि सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको फेरि जाँच र सुधार गरेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताए । सम्भावित दुर्घटनालाई ध्यान दिएर विशेष सतर्कता अपनाएको र दुर्घटना भइहालेमा उद्धारका लागि हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाण्डौको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्ने आयोजनाले जनाएको छ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी छाडिने छैन । परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेण्ड दुई सय ६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि झण्डै १० दिन यत्तिकै राख्ने र प्रतिसेकेण्ड दुई सय ६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ ।

पानी सबै फालिसकेपछि सुरुङको गुणस्तर फेरि परीक्षण गरिने आयोजनाले जनाएको छ । केही समस्या देखिए समाधान गरेर सुरुङमा नियमित पानी पठाइने प्रवक्ता पन्तले बताए । यो पानी सुन्दरीजलमा तयार रहेका दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने र यी सबै कामका लागि झण्डै तीन महिना लाग्ने प्रवक्ता पन्तले बताए । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ उपत्यकामा आउने आयोजनाले जनाएको छ । (उज्यालो अनलाइन)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes