प्रदेश १ र २ मा संरक्षण अभावमा लोप हुँदै दुर्लभ जलपन्क्षी - Pahilo Online

प्रदेश १ र २ मा संरक्षण अभावमा लोप हुँदै दुर्लभ जलपन्क्षी

writer

मोरङ । जलपक्षी गणकहरूले नयाँ प्रजातिको चराको खोज र वर्तमान अवस्थाबारे बुझन गणना सम्पन्न गरेका छन् । पछिल्लो समय संरक्षण अभावका कारण दुर्लभ मानिएका जलपक्षीहरू विस्तारै लोप हुँदै गएका छन् । पछिल्लो ५ वर्षको पक्षी गणनाको तथ्यांक निराशाजनक छ ।

प्रदेश नम्बर १ र २ का सिमसार क्षेत्रहरूमा भर्खरै सम्पन्न भएको जलपक्षीहरूको गणना निराशाजनक रहेको कोशी पन्क्षी समाजका अध्यक्ष सञ्जीव आचार्य बताउँछन । उनले भने, ‘उचित संरक्षणको अभावमा लोप हुँदै गएको सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराहरूको ग्राफ ओरालो लागेको छ ।’ ६ जना विज्ञ गणकसहित २५ जनाको समूहले पौष १८ देखि जलपक्षीहरूको गणना सुरु गरेका थिए। उनीहरूले १८ गते पहिलो दिन बराहक्षेत्रका पन्क्षीहरूको गणना गरेका थिए ।

यस्तै, १९ गते दोश्रो दिन कोशी टप्पु वन्यजन्तु आरक्षको पूर्वी भाग, २० तथा २१ गते आरक्षको पश्चिम कमलपुरका सिमसार क्षेत्र, २२ गते सुनसरीको बर्जु ताल र २३ गते तरहरा तथा पूर्वको बेतना सिमसार क्षेत्रमा उनीहरूले जलपक्षीको गणना गरेका थिए।

गणक समूहले शुक्रबार जलपक्षी गणनाको नतिजा सार्वजनिक गरेका थिए। उनीहरूले नतिजा सार्वजनिक गर्दै चराहरूको संख्या निराशाजनक अवस्थामा रहेको बताए। कोशी पन्क्षी समाजको तथ्याङ्क अनुसार प्रदेश १ र २ का सिमसार क्षेत्रहरूमा यसपटक ६२ प्रजातिका १९ हजार पाँच सय ४४ चराहरू देखिएका छन्। जसमा सबैभन्दा बढी सिलसिले हाँस पाँच हजार ३ सय ५२ र बिजुलागैरी हाँस पाँच हजार तीन सय ४१ वटा देखिएका छन्।

त्यस्तै,सुनसरीको बर्जु तालमा ३७ प्रजातिका ११ हजार २५ वटा जलपक्षीहरू देखिएका छन् भने, कोशी टप्पु वन्यजन्तु आरक्षमा ५५ प्रजातिका ७ हजार ३ सय ७९ वटा जलपक्षीहरू देखिएको छ। तथ्याङ्क अनुसार गत बर्षको तुलनामा यसबर्ष पन्क्षीहरूको संख्यामा १६ प्रतिशतले वृद्धि भएको छ।

तर, बसाइँसरी आउने पन्क्षीहरूको संख्यामा भने वृद्धि भएको होईन्। तुलनात्मक रुपमा यसबर्ष बसाइँसरी आउने पन्क्षीहरूको संख्या १० प्रतिशत घटेको अध्यक्ष आचार्यले जानकारी दिए। ‘यो पटक गणकहरूले सुनसरीको बर्जुतालमा ८ बर्षपछि ‘वैकाल्टिल हाँस’ देख्ने अवसर पाएका छन्,’उनले भने,‘यो हाँस नेपालमै एकदमै दुलर्भ प्रजातिको मानिन्छ।’

प्रत्येक बर्ष प्रदेश १ स्थित कोशी टप्पु, बर्जु ताल, तरहरा, बेतना, उर्लाबारी र भागलपुर ताल तथा प्रदेश २ स्थित सप्तरीको भारदह र कमलदह लगायतका सिमसार क्षेत्रहरूमा पन्क्षी गणना गर्ने गरेको उनको भनाई छ। हरेक बर्ष पौष महिनामा हुने पञ्च दिवसीय पन्क्षी गणनाको यो ३३ औं पटक हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes