नेकपाभित्रको विवादले प्रदेश १ को सरकार संकटमा - Pahilo Online

नेकपाभित्रको विवादले प्रदेश १ को सरकार संकटमा

एक–अर्कालाई हटाउने प्रतिस्पर्धा

writer

मोरङ । नेकपाभित्रको विवादले प्रदेश १ को सरकार संकटमा परेको छ । प्रचण्ड नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गराएसँगै सुरु भएको प्रदेश १ को विवाद अहिले संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउने निर्णयसम्म पुगेको छ । बिहीबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा राईलाई हटाएर भीमप्रसाद आचार्यलाई दलको नेता चयन गर्यो । प्रदेश १ मा नेकपाका ६७ सांसद रहेकामा ३७ जना सांसदले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । हिजोको बैठकमा भने ३६ जना उपस्थित भएका थिए ।

यस्तै मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन् । मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । स्पष्टीकरण सोधिएकामध्ये १५ जनालाई संसदबाट निलम्बन गरिएको प्रमुख सचेतक राजभण्डारीले बताए ।

एक–अर्कालाई हटाउने प्रतिस्पर्धाको सुरुवात
आइतबार ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर थिए । त्यसपछि ती सांसदहरु गाउँ फर्किए । त्यही दिन १९ गतेलाई संसदीय दलको बैठक बोलाउने सहमति पनि भएको थियो । तर १४ गते मंगलबारको मितिमा सूचना निकालेर १५ गते संसदीय दलको आकस्मिक बैठक बोलाइयो । बिहीबार १६ गते मात्र सूचना सार्वजनिक भयो र संसद सचिवालयमा मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउने ब्यहोराको पत्र पठाएर दर्ता पनि भयो । त्यसपछि नेकपाभित्र असन्तुष्टि र ध्रुवीकरण तीव्र भयो ।

संसदीय दलको बैठक बसेको भनिएको बुधबार बिहान ९ बजेको समयमा धेरै सांसदहरु विराटनगरमा थिएनन् । संसदीय दलको बैठक बसेर मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको खबर बिहीबार दिउँसो मात्र सञ्चारमाध्यमले जानकारी पाएका थिए । संसदीय दलको बैठकको बारेमा थप जानकारी लिन धनकुटाकी सांसद कुशुमकुमारी श्रेष्ठलाई सोध्दा उहाँ धनकुटाको पाख्रीबासमा हुनुहुन्थ्यो । १९ गते मात्र संसदीय दलको बैठक बोलाइएकाले बैठकबारे जानकारी नभएको उनले बताए ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेमध्येका एक प्रचण्ड–नेपाल समूहका सांसद मोहनकुमार खड्का ओखलढुंगाको एउटा कार्यक्रममा थिए । संसदीय दलको बैठक १९ गते बोलाइएकाले बैठकको बारेमा जानकारी नै नभएको उनको पनि प्रतिक्रिया थियो । यसबारे जानकारी लिनको लागि फोन गर्दा धेरै सांसदले उठाएनन् । फोन उठाउनेमध्येका अर्का सांसद राम राईले संसदीय दलको बैठक १९ गते भएको बताए । सांसद सीता थेबे पनि पाँचथरमा १४ गते पार्टीको कार्यक्रम रहेकोले कार्यक्रममा सहभागी हुन आएपछि नफर्किएको बताए ।

तीनै सांसदहरुमध्येका साबित्रा रेग्मी र सरिता थापाले भने संसदीय दलको बैठक तीनपैनीमा बसेको स्वीकार गरे । बैठक कहिले बसेको भन्नेमा उनीहरु पनि अन्योलमा देखिन्थे । केही सांसदले बैठक बिहीबार बिहान बसेको बताए भने केही सांसदले बुधबार बिहान ९ बजे बसेको भनेका छन् ।

यसैबीच प्रचण्ड–नेपाल समूहका नेता तथा नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले प्रदेशसभा सचिवालयमा पेस गरेको पत्रमा १५ गते बिहान ९ बजे नेकपा संसदीय दलको बैठक बसेर संसदीय दलको नेताको रुपमा शेरधन राईमाथि अविश्वासको प्रस्ताव पारित भएको र रिक्त रहेको संसदीय दलको नेताको रुपमा भीमप्रसाद आचार्यलाई दलको नेता कायम गरिएको उल्लेख छ । ( सुमन तिमल्सिना उज्यालो अनलाइन)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes