चलचित्र क्षेत्र सुचारु गर्नका लागि पहल, अहिलेसम्म दशै अघि लक्ष्मी पूजा मात्र प्रदर्शन तयारीमा - Pahilo Online

चलचित्र क्षेत्र सुचारु गर्नका लागि पहल, अहिलेसम्म दशै अघि लक्ष्मी पूजा मात्र प्रदर्शन तयारीमा

writer

मोरङ । सरकारले दशैं अगाडि नै हल खुलाएको खण्डमा कुन चलचित्र रिलिज होला भन्ने प्रश्न उठ्न थालेको छ । अहिलेसम्म दशैंका लागि भन्दै चलचित्र ‘लक्ष्मी पुजा’ बाहेक अरु चलचित्रको प्रचार भएको छैन । यसैले, विना प्रचार दशैंमा चलचित्र रिलिज गर्न निर्माता तयार नहुने पक्का छ ।

नेपाल सरकारले केही दिन अगाडि मात्र हल खुल्ने संकेत दिएको छ । योसँगै प्रदर्शकहरु आन्तरिक तयारीमा पनि लागेका छन् । विगत ६ महिनादेखि बन्द रहेका हलहरु दशैं अगाडि नै खुल्ने अपेक्षा गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि यसमा पहल गरिरहेका छन् । चलचित्र निर्माता संघ, चलचित्र संघले पनि चलचित्र क्षेत्र सुचारु गर्नका लागि पहल गरिरहेका छन् ।

लकडाउन अगाडि नै निर्माण भएका चलचित्रका निर्माता तत्काल आफ्नो चलचित्र रिलिज गर्ने सोचमा छैनन् । उनीहरुले, प्रदर्शक र वितरकबाट लगानी सुरक्षित हुने ग्यारेन्टी नआएसम्म चलचित्र रिलिज गर्न हतार नगर्ने बताइरहेका छन् । यस्तो अवस्थामा हल खुल्ने वित्तिकै के रिलिज गर्ने भन्ने समस्या प्रदर्शकसँग छ । बलिउडमा पनि रिलिजका लागि निकै थोरै चलचित्र मात्र तयार छन् । ती, चलचित्र पनि कहिले रिलिज हुन्छन् टुंगो लागेको छैन ।

चलचित्र संघका अध्यक्ष मधुुसुदन प्रधान सबैले यो अवस्थामा मिलेर अगाडि बढ्नुपर्ने बताउँछन् । उनले भने–‘यसका लागि हामीले पनि आन्तरिक तयारी गरिरहेका छौ । केही चलचित्रका निर्माताहरु चलचित्र रिलिजका लागि तयार पनि हुनुहुन्छ । यसैले, यो बिषयमा हामी बसेर समाधान गर्छौ ।’ उनले, हल खुलेपछि दर्शक आउने अपेक्षा समेत व्यक्त गरे । लामो समयसम्म हल बन्द हुँदा हल व्यवसायी पनि मर्कामा परेको भन्दै उनले यो अवस्थामा निर्माताले पनि चलचित्र क्षेत्रलाई अगाडि बढाउन सहजीकरण गर्नुपर्ने उनको तर्क छ । प्रधानले भने–‘यस्तो समयमा एमजी, लगानी सुरक्षितको माग गर्नु जायज हुँदैन । चलचित्र क्षेत्र हामी सबैको हो भने यसलाई अगाडि बढाउने जिम्मा पनि हामी सबैको नै हो ।’

दशैंमा चलचित्रको व्यापार राम्रो हुने भएकाले पनि यो समयमा हल खुलेको खण्डमा प्रदर्शकलाई पनि केही राहत हुने पक्का छ । तर, रिलिजका लागि तयार भएका चलचित्रका निर्माता अहिले नै चलचित्र रिलिज गरेर आफ्नो खुट्टामा बञ्चरो हान्ने सोचमा नरहेको बताउँछन् । यसैले, चलचित्र प्रदर्शकहरुलाई हल खुलेपनि के चलाउने भन्ने समस्या भने टड्कारो रुपमा उठ्ने देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes