प्रदेश एकमा १५ वर्षभित्र ५४ हजार हेक्टर धान खेतियोग्य जमिन मासियो - Pahilo Online

प्रदेश एकमा १५ वर्षभित्र ५४ हजार हेक्टर धान खेतियोग्य जमिन मासियो

writer

मोरङ । प्रदेश १ मा शहरीकरणसँगै पछिल्लो समय खेतीयोग्य जमिन मासिने क्रम ह्वातै बढेको छ। प्रदेश एक अन्न भण्डार भनेर चिनिन्छ तर पछिल्लो १५ वर्षभित्र यो प्रदेशमा धान खेती हुने ५४ हजार हेक्टर जमिन मासिएको छ। प्रदेशमा बढदो खेतीयोग्य जमिनलाई बाँझो राख्ने, जथाभावी प्लटिङ गर्ने र आवास निर्माण गर्दा प्रदेशमा धान खेती हुने जमिन निरन्तर घटिरहेको छ।

धान खेती हुने जमिनको क्षेत्रफल खुम्चिएसँगै उत्पादनमा पनि प्रत्येक वर्ष ह्रास आएको छ। विगतमा प्रदेश १ मा उत्पादन भएको धान अन्य प्रदेशमा पनि निर्यात हुने गरेकोमा देशको अन्न भण्डार भनिएको क्षेत्रमै भारतबाट धानचामल आयात हुन थालेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश १ को मुख्य खाद्यबाली धान उत्पादन घट्दो क्रममा छ। धान खेती हुँदै आएको जमिन मासिँदै छ र भारतबाट आयात परिमाण बढिरहेको छ। आजभन्दा १७ वर्षअघि प्रदेशमा वार्षिक १६ लाख ४७ हजार मेट्रिकटन धान उत्पादन हुने गर्दथियो। धान खेती हुने जमिन मासिँदै गएपछि प्रदेश १ अन्तर्गतका १४ जिल्लामा गएको १५ वर्षयता धानको उत्पादनमा कमी आएर ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टनमा सीमित भएको छ।

मन्त्रालयका अनुसार यो अवधिमा धान खेती हुने ५४ हजार हेक्टर क्षेत्रफल गुमेको छ। सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो। अहिले ३ लाख १२ हजार हेक्टरमा मात्रै धान खेती हुने गर्छ। प्रदेशमा बर्खे धान ३ लाख ७६ हजार ९ सय ५२ हेक्टरमा तथा चैते धान २ लाख ८० हजार ५ सय ९३ हेक्टरमा लगाउने गरिएको छ। बर्खे र चैते गरी प्रदेशमा ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ। प्रदेशमा अहिले वार्षिक ४ लाख ८६ हजार मेट्रिकटन अन्न बचत हुने गरेको छ। भान्सामा भारतको चामल अन्न बचत हुने कारण भने यहाँ उत्पादन वृद्धि भएर होइन। अधिकांश प्रदेशवासीको भान्सामा भारतबाट आयात गरिएको चामल पाक्ने गरेको छ।

धानचामल खरिदका लागि वर्षेनी करोडौं रुपैया बाहिरिने गरेको छ। प्रदेश १ का १४ वटै जिल्लामा धान खेती हुने गरेको छ। अहिले पनि प्रदेश नं १ बाट वार्षिक ३ हजार मेट्रिकटन धान अन्यत्र निर्यात हुँदै आएको छ। गत आर्थिक वर्षभित्र मात्रै प्रदेशमा भारतबाट २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मुल्य तिरेर धान(चामल भित्रिएको छ। प्रदेशका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट ६ करोड ६३ लाख केजी धान चामल प्रदेश एकमा ल्याइएको हो। विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुनिता पौडेलका अनुसार सो अवधिमा भारतबाट अहिलेसम्मकै धरै धान चामल भित्रिएको हो। भारतबाट मकै, कोदो र फापरपनि भित्रिएको छ। प्रदेश एकको कुल गार्हस्थ उत्पादनमा धानको योगदान १९ प्रतिशत रहेको छ। समग्र कृषिले प्रदेश एकको कुल गार्हस्थ उत्पादनमा ३६ प्रतिशत योगदान दिएको तथ्याङ्क छ। प्रदेशमा प्रतिव्यक्ति वार्षिक १ सय ९१ केजी खाद्यान्न खपत हुने गरेको छ। (थाहखबरबाट)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes