कोरोनाको प्रभाबका कारण गत वर्षकै अलैँची गोदाममा - Pahilo Online

कोरोनाको प्रभाबका कारण गत वर्षकै अलैँची गोदाममा

writer

भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेका बखतबहादुर श्रेष्ठले १४ रोपनी जग्गामा अलैँची लगाएका छन् । श्रेष्ठले बगानबाट वार्षिक ८ मनसम्म अलैँची फलाउँछन् । चार वर्षअघि प्रतिमन एकलाख १० हजारसम्म अलैँची बिके पछि एकाएक उनले खेती बढाए । लगानी र श्रम पनि त्यति नै लगाए । तर एकाएक मूल्यमा भारी गिरावट आएपछि उनी निराश बनेका छन । त्यसमाथि कोरोना महामारीका कारण भएको लकडाउनले अलैँची ढुवानी गर्ने नै नआएपछि राम्रो मूल्यको आशामा बिक्री गर्न राखेको गत वर्षकै अलैँची गोदाम थन्क्याएका छन् ।

अलैची बिक्री हुने छाटकाट नदेखिएपछि कुहिएर खेर जान्छ कि भन्नेमा उनी अझ धेरै पिरोलिएका छन् । ‘पोहोर सालको त्यत्रो अलैँची छ, कोरोनाका कारण त्यत्तिकै थन्क्याउनु परेको छ, कोरोनाको डर भएको बेला को किन्न आउलान् र’ उनले भने, ‘राम्रै मूल्य पाउला भनी लगानी र परिश्रमले फलाइयो, कोरोनाका कारण त्यो पनि बेच्न पाइएन, यसपालि खर्च धान्नै मुस्किल हुने भो’ कोरोनाका कारण अलैँची बिक्री नभए पछि किसान र व्यवसायी मारमा छन् । निरन्तर भाउमा भारी गिरावट भईरहेकाबेला बन्दले अलैँची ढुवानी रोकिएपछि व्यापार चौपट भएको छ । लगानी सम्म उठाउन नसकिए पछि अलैँचीले किसानहरूलाई निराश तुल्याएको छ ।

खस्किँदो अलैँचीको मूल्यको सास्ती खेपिरहेका कतिपय किसानहरूलाई कोरोनाका कारण भएको लकडाउनले यो वर्ष परिवारको खर्च धान्नै मुस्किल भएको छ । भोजपुर नगरपालिका–१० का प्रेमकुमार राईले छिमेकीबाट लिएको ऋणले धान खेत मासेर अलैँचीमा लगानी गरेपछि ऋण तिर्नै गाह्रो भएको सुनाए । उनले भने, ‘यो वर्ष घरपरिवारको खर्च धान्नै मुस्किल छ, ऋण कसरी तिर्नु, अलैँची लिन आउने व्यापारीहरू पनि कोरोनाका कारण गाउ“ पसेका छैनन्, फलाएको अलैँची त्यसै थन्क्याएको छु ।’

बर्सेनि अलैँचीको मूल्यमा आएको भारी गिरावटले हैरानी खेपेका किसान तथा व्यापारीलाई फैलिँदै गएको कोरोनाले झन् चिन्ता थपिदिएको छ । उचित मूल्य कुर्दै सङ्कलन गरेको ३० मन अलैँची कोरोनाका कारण गोदाममै थन्क्याएको भोजपुर नगरपालिका–८ पोखरेका अलैँची व्यवसायी नवीन प्रधानले सुनाए । ‘गाउँ–गाउँबाट ३० हजार प्रतिमनले अलैँची थुपारियो, ढुवानी गर्न नपाएपछि गोदाममै थन्क्याउनु परेको छ’ –उनले भने ।

अन्तर्राष्ट्रिय बजारमै अलैँचीको भाउमा दररेट घटेकाले मार खेपिरहेका किसानलाई अलैँची खेती यतिबेला काउसो बनेको छ । केही वर्षअघि अलैँचीको मूल्य आकाशिएपछि भोजपुर नगरपालिका–१० भैँसीपङ्खा स्थित जिमीगाउँका दुर्ज राईले पनि १९ रोपनी जग्गामा अलैँची लगाए । तर मूल्यमा आएको भारी गिरावटका कारण दुःखले फलाएको अलैँची प्रतिमन २० हजारमा बेच्दा लगानी समेत उठाउन समस्या भएको राईले दुःखेसो पोखे । ‘ज्यालादारी खेताला, इन्धनलगायत अन्य सामग्रीको हिसाब गर्दा प्रतिमन १५ हजार जति खर्च हुँदा आम्दानीले निमेक पनि नउठ्ने उनले जनाए । उनले थपे, ‘एकातिर भाउ छैन, अर्कोतिर कोरोनाका कारण भएको लकडाउनले राखेको अलैँची पनि बिक्री नहुने भो, लगानी पनि नउठ्ने भो ।’

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लाको करिब तीन सय ६० हेक्टर क्षेत्रफलमा रामसई, गोलसई र डम्बरसई जातका अलैँची खेती गरिँदै आएको छ । नेपालभरिकै उत्पादित अलैँची झापामा प्रशोधन गरेर भारत निर्यात हुन्छ । प्रशोधित क्षेत्रमा अलैँचीको ग्रेडिङ, कटिङमा छुट गरिएको छ । कोरोना सङ्क्रमण जोखिम बढेसँगै भारतीय बजारमा अलैँचीको कारोबार र ढुवानी ठप्प भएपछि अर्को निर्णय नआएसम्म अलैँची प्रशोधनका सम्पूर्ण काममा रोक लगाउने निर्णय गरिएको नेपाल अलैँची उत्पादक तथा व्यवसाय महासङ्घका अध्यक्ष राजकुमार कार्कीले बताए । नेपालमा उत्पादित अलैँची भारतका विभिन्न ठूला शहर हुँदै छिमेकी देश पाकिस्तानलगायत अन्य देशहरूमा मसला र औषधिको रूपमा निर्यात हुने गरेको छ । (ब्लाष्ट खबरबाट)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes