भोलिबाट फेरि मनसुन सक्रिय हुने, पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को आग्रह - Pahilo Online

भोलिबाट फेरि मनसुन सक्रिय हुने, पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को आग्रह

writer

काठमाण्डौ । आउँदो हप्ता मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

शुक्रबारदेखि पानी पर्ने क्रम विस्तारै बढ्ने मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर पर्सि आइतबार बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाकी प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्र्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।

विशेषगरी पर्सि बेलुकीदेखि आउँदो बुधबारसम्म मनसुन निकै सक्रिय हुने देखिएको अर्का मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले सोमबारदेखि बुधबारसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी, कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा बाढी आउने सम्भावना छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुनुपर्नेछ । यस्तै सोमबारदेखि बिहीबारसम्म प्रदेश १ र २ तथा वाग्मती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बुढीगण्डकी, मस्र्याङ्दी कालीगण्डकी तथा तिनका सहायक नदीमा बाढीको उच्च जोखिम छ ।

यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद् श्रेष्ठका अनुसार आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्नेछ । मनसुन सक्रिय हुँदै गएकाले हिजोको भन्दा आज दिउँसो, दिउँसोको भन्दा राती पानी पर्ने क्रम बढ्दै जाने उहाँको भनाई छ ।

विशेषगरी प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो । मौसम सम्बन्धी केही जानकारी लिन महाशाखाको फोन नम्बर ०१–४११३१९१ मा र बाढीबारे जानकारी लिन ११५५ मा फोन गर्न सकिनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes