सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल र मनाङ विजयी - Pahilo Online

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल र मनाङ विजयी

writer

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे । सन्तोषले थप गरिएको इन्जुरी समयमा गोल गर्दै च्यासललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । डिबक्सभित्र ब्रिगेडका डिफेन्डरले बल क्लियर गर्न नसकेको बललाई सन्तोषले जाली चुमाएका थिए ।

यस अघि पहिलो हाफमा दुवै टोलीले गोलको अवसर चुकाएका थिए । खेलको ६५ औं मिनेटमा सुनिल खड्काको कडा प्रहार ब्रिगेडका विशाल सुनारले उत्कृष्ट बचाउँ गर्दा च्यासल अग्रता बनाउन चुकेका थिए ।

पहिलो हाफको तुलनामा च्यासलले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो । ब्रिगेडले भने डिफेन्सिभ खेल खेलेको थियो । खेलमा च्यासलका नाकामुरा म्यान अफ दि म्याच चुनिए । जितसँगै च्यासल ८ खेलमा ९ अंक जोडेर लिगको आठौं स्थानमा उक्लिएको छ । ब्रिगेड ८ खेलमा ८ अंकसहित दशौँ स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले साँघुरो जित निकालेको छ । मनाङले पुछारको क्लब सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे ।

खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल मनाङको जितमा निर्णायक बन्यो । सरस्वतीमाथि संघर्षपूर्ण जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । र, मनाङ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै मनाङले शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबसँग र तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । आर्मी ७ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहदा मछिन्द्र ८ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । सरस्वती ८ खेलमा १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes