भत्काउने सडकमा ६० लाख - Pahilo Online

भत्काउने सडकमा ६० लाख

writer

पहिलो अनलाइन

धरान । सुनसरीको धरान उपमहानगरपालिकाले भत्काउने तयारीमा रहेको सडक मर्मतको नाममा ६० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।नगरपालिकाले विराटनगर–धरान ६ लेन सडकमा पर्ने सडक मर्मतका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको हो ।

केन्द्र सरकारले भारतको सिमाना रानीदेखि चीन जोड्न किमाथांकासम्मको सडक निर्माण गरिरहेको छ । उपमहानगर प्रमुख तारा सुब्बाले आफ्नो क्षेत्राधिकारबाहिर गएर भत्काउने सडकलाई रकम विनियोजन गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

विराटनगर–धरान ४९ किलोमिटर ६ लेन सडकअन्तर्गत पर्ने करिब डेढ किलोमिटर सडकमा बजेट विनियोजन गरी निर्माणको काम अघि बढाइको छ । सडक डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सडकलाई बजेट छुट्याइएर खर्च गरेपछि प्रमुख सुब्बामाथि नीतिगत भ्रष्टाचारको आरोप लागेको छ ।

धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्म सडकको दायाँ बायाँ ढल, सडकपेटी निर्माण गरी गार्डेनका लागि रेलिङ बनाउन नगरपालिकाले बजेट छुट्याएको हो । तर, सो सडक विस्तारको लागि केही समयभित्रै भत्काउने तयारीमा सडक डिभिजन कार्यालय छ ।

नगरका भित्री सडकहरू कालोपत्रे गर्न छाडेर केन्द्र सरकारको क्षेत्राधिकारभित्र पर्ने सडकलाई उपमहानगरले बजेट खर्च गर्नु अनुचित भएको स्थानीयको भनाइ छ । नगरभित्रका सडकलाई प्राथमिकता दिइनुपर्नेमा केन्द्र सरकारले हेर्ने सडकलाई बजेट दिनु आश्चार्यजनक रहेको उनीहरुले बताए ।

सडक डिभिजन कार्यालय विराटनगरले ६ लेन सडकको काम सुनसरीको तरहरासम्म गरिरहेको छ । अब त्यो विस्तार भएर छिट्टै धरानसम्म पुग्ने सडक डिभिजन विराटनगरका इन्जिनियर सुमोद पोखरेलले बताउनुभयो । डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको सडकमा धरान उपमहानगरले बिनाअनुमति काम अघि बढाउनु गैरकानुनी भएको पनि उहाँको भनाइ छ ।

धरान उपमहानगरले लक्ष्मी चोकदेखि तल धरान उच्च माविमाथिको मागमा सडकको दायाँबायाँ ड्रेन र बगंैचा बनाउन सडक अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको छ । त्यस्तै छाताचोकदेखि भानुचोकसम्मको पुरानो रेलिङ हटाएर नयाँ रेलिङका लागि बजेट छुट्याएर काम अघि बढाएको छ ।

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुदेव पोखरेलले भने आफू आउनुअगावै निर्णय गरेकाले आफ्नो कार्यकालमा सडक निर्माणको कार्यान्वयन मात्र भएको बताउनुभयो । उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले सडक विभागले काम नगरेपछि उपमहानगरले बजेट विनियोजन गरी सडक निर्माणको काम अघि बढाएको दावी गर्नुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes