यस्तालाई पनि जिताए जनतालेः अब के गर्ने ? - Pahilo Online

यस्तालाई पनि जिताए जनतालेः अब के गर्ने ?

रमिते मेयर भन्छन्– भिडभाड देखेर प्रहरी चौकी गएको थिएँ, तर म बोलिनँ, आफ्ना काम अरू पनि छन्

writer

पहिलो अनलाइन

कैलालीको घोडाघडी नगरपालिकामा महिला दिवसकै दिन एक किशोरीमाथि बोक्सीको आरोपमा बर्बर आक्रमण भएको छ । घोडाघडी नगरपालिकाका मेयर र प्रहरीकै मिलेमतोमा आक्रमण भएको हो ।

आक्रमणपछि मेयरकै मिलेमतोमा कुटपिट गर्ने रामबहादुरलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायालगायतको रोहवरमा तत्कालै छोडिएको थियो ।

शुक्रबार घटना सार्वजनिक भएपछि र किशोरीका बुबाले किटानी जाहेरी दिएपछि पुनः पक्राउ गरिएको छ । प्रहरीले घटनामा संलग्न रामबहादुरलाई पक्राउ गरेपनि मेयर र वडाध्यक्षले उन्मुक्ति पाइरहेका छन् ।

मेयर चौधरीले त यस्तो जघन्य घटनालाई आफ्नो सरोकारको विषय नभएको प्रतिक्रिया दिएका छन् । उनले दिएको प्रतिक्रिया र पीडितको बयान यस्तो छ ।

आफ्ना काम अरू पनि छन्:  मेयर ममताप्रसाद चौधरी

प्रश्न: मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?
जवाफ:  किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

प्रश्न:  जाहेरी कसले दिएको हो ?
जवाफ:  पीडित पक्षले ।

प्रश्न: जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?
जवाफ:  हिजो नै भयो ।

प्रश्न:  कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?
जवाफ:  हो, म एकैछिन पुगेको थिएँ ।

प्रश्न:  कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?
जवाफ:  अहँ, किन लिनु र ?

प्रश्न:  होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?
जवाफ:  मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

प्रश्न:  त्यसो भए किन जानुभएको त चौकीमा ?
जवाफ:  बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

प्रश्न:  ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?
जवाफ:  हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

प्रश्न:  साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?
जवाफ:  हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

प्रश्न:  ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?
जवाफ:  काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

प्रश्न:  त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?
जवाफ:  हो, भर्खर ४० वर्षको भएँ ।

प्रश्न:  युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?
जवाफ:  त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

प्रश्न:  ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?
जवाफ:  जानकारी भएन ।

प्रश्न: आफ्ना नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?
जवाफ:  मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

प्रश्न:  जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?
जवाफ: त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

प्रश्न:  गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँ–टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?
जवाफ:  मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

प्रश्न:  देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?
जवाफ:  तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् ।

प्रश्न: तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू
जवाफ: भन्नोस् ।

प्रश्न:  नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदो रहेछ ?
जवाफ:त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।

प्रश्न: तर, आजसम्म जे भयो भयो, पीडितहरू अस्पतालमा छन्, मिल्यो भने भोलि गएर भेटिदिनुहोला, उनका गुनासा सुनिदिनुहोला । कारबाही के भयो भनेर हामी भोलि पनि फोन गर्छौँ ।  

जवाफ: ठीकै छ, बिहानै नगर्नुहोला, बेलुका गर्नुहोला ।

पीडित राधा चौधरीको बयान

घाइते राधा चौधरी अस्पतालमा

बिहीबार नारी दिवस, स्कुल छुट्टी थियो । त्यसैले बिहान गोठमा गएकी थिएँ । दुईवटा बल्ल (गोरु) छन्, गोबर फालेर ७ बजेतिर घर फर्कन थालेकी थिएँ, तीन–चारजना केटी हुत्तिदै आएँ ।

ती केटीहरू पनि हाम्रै स्कुलमा पढ्छन् । चिच्याउँदै आएको देखेर अनौठो लाग्यो । यिनीहरूलाई के भएछ भन्ने लाग्यो । तर, नजिक आउनासाथ मलाई झम्टिहाले । तँ बोक्सी भनेर भकुर्न थाले, लछारपछार गर्न थाले । मैले केही बुझ्नै सकिनँ । उनीहरूले घिसार्न थाले ।

कतिले कपालमा समातेर ताने, अरूले लात्ताले हान्दै मलाई रामबहादुर चौधरीको घरमा लगे । रामबहादुर हाम्रो गाउँको झाँक्री हो । उसले आफूलाई शिवभक्त भन्छ । शिवरात्रिको दिनदेखि उसको घरमा पूजा लागेको छ । उसले हिजोसम्म ५४ हजार रुपैयाँ जम्मा गरेको रहेछ ।

मान्छे जो आउँछन्, भेटी दिन्छन् । तर, भेटी दिने मान्छे कम आउन थालेपछि उसले फेरि मान्छे जम्मा गर्ने जुक्ति निकालेको होला । गाउँमा बोक्सी छन्, ठीक पार्छु भनेको रहेछ । त्यसैले मलाई समातेर त्यहाँ लगे ।

रामबहादुरको आँगनमा पुग्दा मान्छे वरिपरि थिए, पछि झन् धेरै थपिए । ती सबैको अगाडि रामबहादुर झाँक्रीले मलाई कुटपिट गर्न थाले । रामबहादुरबाट धामी विद्या सिकिरहेको भन्ने पार्वती भन्ने महिला ममाथि जाइलागिन् ।

उनीहरूले नागजस्तै हाउभाउ बनाएर वरिपरि घुम्दै मलाई मुक्का हानिरहेका थिए, लात्ती बर्साइरहेका थिए । त्यसमाथि ‘तँ बोक्सी होस्, तैँले दुनियाँका बच्चा खाइस्, कसैका बाआमा खाइस्’ भन्दै मेरो हुर्मत लिइरहेका थिए ।

म बोक्सी होइन, मैले केही पाप गरेको छैन, म स्कुलकी विद्यार्थी हुँ, गरिबकी छोरी हुँ, मलाई बचाउनुहोस् भनेर समाजसामु गुहार मागिरहेकी थिएँ, तर उनीहरू कोही पनि बोलेनन् । बरु ममाथि हरेक झापड बर्संदा उनीहरूले ताली पिटेर खुसीले हुटिङ गरिरहेका थिए ।

केहीबेर पिट्न छाडेर घाममा पल्टाउँथे, अब बोक्सी बक्ने वेला भयो भन्थे । मैले पानी माग्दा फेरि भकुर्न थाल्थे । मेरो पेटमा, छातीमा लात्तैलात्ताले हान्दा रमिते भने ताली पिटिरहेका थिए ।

यसरी बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मलाई यसैगरी कुटियो । ७ घन्टासम्म म कहिले मुर्छा परेँ, कहिले ब्युतिएँ । मुर्छा परेका वेला थाहा भएन, ब्युँतिएको वेला उनीहरूले कुटिरहेका हुन्थे ।

१ बजेतिर गाउँका दुई–तीनजना दाइहरू आउनुभयो । उहाँहरूले यसरी बालिकालाई कुटपिट नगर भनेर बोल्नुभयो । झाँक्रीले तिमीहरूलाई पनि यही त्रिशूलले मारिदिन्छु भनेर थर्काउन थाल्यो । त्यहाँ वादविवाद भयो । त्यही मौकामा मेरो भाइले मलाई घर लिएर आयो ।

घरमा आएपछि म फेरि मुर्छा परेछु, मलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याइएछ, फेरि होस आयो । त्यही वेला जाहेरी दिन भनेर प्रहरी चौकीमा लगियो । एकैछिनमा झाँक्री रामबहादुरलाई पनि त्यहीँ ल्याइयो । तर, ऊ डराएको थिएन ।

म शिवभक्त हुँ, मैले जे पनि गर्न सक्छु भनेपछि उसलाई प्रहरीले खुट्टामा ढोग्न थाले । तर, जाहेरी लिन मानेनन् । बरु, त्यही झाँक्रीले त्यहीँ यसलाई केही पनि भएको छैन, झारफुक गरेर भर्खरै जस्ताको तस्तै हुन्छे भन्दै मन्त्र पढ्न थाल्यो । प्रहरीकै अगाडि मलाई चामल खान लगाइयो । तर, मलाई असह्य भइरहेको थियो ।

त्यही वेला सेतो स्कारपियो गाडीमा मेयरसा’प (मतताप्रसाद) चौधरी आउनुभयो । उहाँ पहिले हाम्रो स्कुलमा पढाउनुहुन्थ्यो, अस्ति भर्खर चुनाव पनि जित्नुभएको हो ।

त्यसैले उहाँ आएपछि मेरो पक्षमा बोल्नुहुन्छ, प्रहरीले जाहेरी पनि लिन्छ र ममाथि कुटपिट गर्नेलाई कारबाही पनि हुन्छ भन्ने आशा पलाएको थियो । तर, तिमीलाई के भयो भनेर एक शब्द पनि बोल्नुभएन । एकछिन रमिता हेरेर फेरि गाडी चढ्नुभयो, धुलो उडाउँदै उहाँको गाडी गयो ।

मलाई निकै पीडा भएपछि आफन्तहरूले सुखड अस्पताल लग्नुभयो । पछि प्रहरीले झाँक्रीलाई छाडेछ । बिहान उनीहरू आएर मिलापत्र गर्न कुरो गरे । औषधिमा लागेको ३७ सय रुपैयाँ दिएर चुप लाग भनेर हामीलाई धम्की दिँदै थिए ।

तर, मेरा आफन्तले मान्नुभएन । ऋण गरेर पैसा तिर्न खोज्दा पनि होहल्ला गर्दै थिए । तर, मेरा आफन्तले मलाई क्षेत्रीय अस्पताल धनगढी लिएर आउनुभएको छ । यहाँ उपचार भइरहेको छ, मैले केही खान सकेकी छैन, पानी पिउन, थुक निल्न पनि भएको छैन ।

शरीर पूरै थिलथिलो भएको छ । खासगरी संवेदनशील अंगहरूमा लात्तीले हानेकाले पीडा धेरै छ, भित्र के–के भएको छ थाहा छैन । तर, दोषीमाथि कारबाही होस्, जाहेरी नलिने प्रहरीलाई पनि कारबाही होस् र यस्तो अत्याचार कुनै पनि दिदीबहिनीमाथि नहोस्, मेरो कामना यही छ ।                                                                                                                                                        नयाँ पत्रिकाबाट

भिडियो अनलाईनखबरबाट

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • सह–सम्पादकः विजयकुमार पाठक (काठमाडौं)
  • प्रबन्ध निर्देशकः मोहनप्रसाद भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes