प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति - Pahilo Online

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

writer

पहिलो अनलाइन

काठमाडौं, ८ फागुन । जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ ।

प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएपछि उत्पन्न विवाद अझै निरुपण हुन सकेको छैन ।

सर्वोच्च अदालत उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको ट्रान्सफर सर्टिफिकेटमा प्रधानन्यायाधीश पराजुलीको त्यतिबेलाको उमेर १८ वर्ष २ महिना १० दिन उल्लेख छ। प्रमाणपत्रमा भनिएको छ, ‘भर्ना हुने रजिस्ट्ररअनुसार उनको जन्ममिति यही हो।’ उक्त प्रमाणपत्र २०२८ साल जेठ २५ गते जारी गरिएको त्यसमै उल्लेख छ। न्यायपरिषदबाट सर्वोच्च अदालतमा भएको पत्राचारमा समेत यो प्रमाणपत्रको फोटोकपी पठाइएको छ।
प्रमाणपत्र जारी भएको मितिबाट त्यसैमा उल्लेख गरिएको उमेर घटाउँदा पराजुलीको जन्ममिति २००९ साल चैत १५ गते हुन आउँछ। प्रमाणपत्रमा उनको चरित्र राम्रो रहेको उल्लेख गर्दै सामान्य कारणले उनले विद्यालय छाडेको उल्लेख छ। प्रमाणपत्रमा उनले १० कक्षा पढिरहेको र एसएलसी उत्तीर्ण नगरेको समेत उल्लेख छ। ४४९ नम्बरको प्रमाणपत्रमा उल्लेख गरिएको उनको बाबुको नामसमेत नागरिकता प्रमाणपत्र र अन्य कागजातसँग मिल्छ।
प्रधानन्यायाधीश पराजुलीको जन्ममिति उल्लेख भएको यो सबैभन्दा पुरानो प्रमाणपत्र हो। यही प्रमाणपत्रका आधारमा उनी आफैंले दावी गरेको ‘नेपाल राष्ट्रिय विद्यापीठ’ वीरगन्जमा भर्ना भएको हुनुपर्छ, किनभने स्थानान्तरण प्रमाणपत्रबिना अर्को विद्यालयमा भर्ना हुन पाइँदैन। त्यस क्रममा समेत उनको जन्ममिति २००९ साल चैत १५ गते उल्लेख हुनुपर्थ्यो।
नेपाल राष्ट्रिय विद्यापीठमा अध्ययन गरेको आधारमा प्रधानन्यायाधीश पराजुलीले २०२९ सालमा प्रवेशिका पास गरेको शैक्षिक प्रमाणपत्रहरुबाट देखिन्छ। सोही विद्यापीठबाट जारी भएको प्रवेशिकाको लब्धांकपत्रका आधारमा शिक्षा मन्त्रालयले बनाइदिएको ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्रमा भने पराजुलीको जन्ममिति २०११ साल वैशाख १३ गते उल्लेख छ। यो प्रमाणपत्रमा ‘गोपाल पराजुलीले नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका पास गरेको प्रमाणित गरिन्छ’ भन्ने व्यहोरा छ। शाखा अधिकृत सिद्धि सिंहले सिम्बोल नम्बर ११७ का नाममा जारी गरेको पत्रमा भनिएको छ, ‘रजिष्ट्ररअनुसार उनको जन्ममिति २०११ साल बैशाख १३ गते हो।’
यी दुईथरी जन्ममिति विवादको कारण भने खुल्न सकेको छैन। यसबारे प्रधानन्यायाधीश पराजुली र उनको निजी सचिवालयले समेत कुनै स्पष्टीकरण दिएको छैन। ‘उच्च नैतिक चरित्र’ को हुनुपर्ने प्रधानन्यायाधीशका प्रमाणपत्र, जन्ममितिजस्ता व्यक्तिगत विवरण विवादमा आउनु शोभनीय हुँदैन भनी तत्कालीन प्रधानन्यायाधीश एवं न्यायपरिषदकी अध्यक्ष सुशीला कार्कीले नै टिप्पणी लेखेकी छन्। २०७३ साल असोज १२ गतेको न्यायपरिषदको बैठकको प्रसंग केलाउँदै कार्कीले न्यायपरिषदको सचिवलाई अभिलेख व्यवस्थित गर्न आदेश दिएकी थिइन्।
‘एउटै मानिसको जन्ममिति फरक(फरक सन्दर्भमा फरकफरक कायम हुन सक्दैन। माननीय न्यायाधीश गोपाल पराजुलीले पेश गर्नुभएको विभिन्न प्रमाणपत्रमा फरकफरक तीनवटा जन्ममिति उल्लेख हुन पुगेको देखियो,’ आदेशमा भनिएको छ, ‘कुनै पनि न्यायाधीशको उमेरसम्बन्धी विषय विवादमा आउनु वा शंकाको विषय बन्नु हुँदैन। न्यायपालिकाप्रतिको जनआस्था र विश्वास कायम राख्न तथा न्यायिक स्वच्छताका लागि लागि पनि यस प्रकारका विषयहरुको निरुपण तर्कपूर्ण रुपमा समयमा नै गरिनु आवश्यक देखिन्छ।’
कार्कीले परिषदका तत्कालीन सचिवलाई अभिलेख मगाउन आदेश दिँदै नागरिकता लिएको मितिका आधारमा पराजुलीको जन्ममिति २००९ साल साउन २१ गते कायम गरिदिएकी थिइन् जुन पछि उल्टियो।
स्रोतका अनुसार हालसम्म पनि प्रधानन्यायाधीश पराजुलीको प्रवेशिका उत्तीर्ण चारीत्रिक प्रमाणपत्र न्यायपरिषदमा भेटिएको छैन। न्यायपरिषदले सर्वोच्चमा पठाएको प्रमाणपत्रहरुको सूचीमा प्रवेशिका परीक्षा उत्तीर्ण हुँदाको चारीत्रिक प्रमाणपत्र छैन।
शिक्षा मन्त्रालयले ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा पत्र लेखेर पराजुलीले एसएलसी परीक्षा उत्तीर्ण गरेको बेहोरा प्रमाणित गरिदिएको पत्रमा उनको जन्ममिति २०११ साल वैशाख १३ उल्लेख छ। उनले आईएल र बीएल उत्तीर्ण गरेका शैक्षिक प्रमाणपत्रहरुमा भने यो मिति उल्लेख छैन। पछिल्लो जन्ममितिअनुसार भर्ना भएको भए प्रधानन्यायाधीश पराजुली थप करिब एक वर्ष पदमा रहन पाउँथे। तर, क्याम्पस भर्ना हुँदा उनले कुन आधारमा आफ्नो जन्ममिति २०१० साल वैशाख १६ कायम गरे, खुल्न सकेको छैन।
कान्तिपुरबाट

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes